पूर्वाधार क्षेत्रमा लगानीका लागि १० अर्ब रुपैयाँको कोष सञ्चालनमा ल्याउने तयारी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पूर्वाधार क्षेत्रमा लगानीका लागि १० अर्ब रुपैयाँको कोष सञ्चालनमा ल्याउने तयारी


२९ माघ २०७७, बिहिबार


राजश्व समूह

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ(एनआरएनए)को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ। त्यसका लागि गैर आवासीय नेपाली सङ्घले नेपालमा छुट्टै कम्पनी दर्ताको कार्य अघि बढाएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, अर्थ सचिव शिशिरकुमार ढुङ्गाना, राजस्व सचिव रामशरण पुडासैनी, नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी, अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा। प्रकाशकुमार श्रेष्ठ, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टसमेतको उपस्थितिमा अर्थ मन्त्रालयमा बसेको बैठकमा यसरी स्थापना हुने कम्पनीमार्फत उक्त कोषमा नेपाल सरकारको तर्फबाट पूर्व सहमति बमोजिम पाँच प्रतिशत लगानी गर्ने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ ।

सो अवसरमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयको तर्फबाट उक्त कोष सञ्चालन गर्ने सन्दर्भमा आवश्यक रकमका साथै अन्य सहयोग उपलब्ध गराउने प्रतिबद्धता प्रकट गर्दै एक हप्ताभित्र कम्पनीको दर्ता प्रक्रिया टुङ्गो लगाई तत्काल काम सुरु गर्न गैर आवासीय नेपाली सङ्घलाई आग्रह गरेका छन् ।

गैर आवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तले अहिले कम्पनी दर्ताको प्रक्रिया छिट्टै टुङ्ग्याई दर्ता काम सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे । उक्त कम्पनीमा गैर आवासीय नेपाली सङ्घको १० प्रतिशत रहनेछ भने ८५ प्रतिशत शेयर विदेशमा रहेका नेपालीहरूको हुनेछ।

गैर आवासीय नेपालीहरूको लगानीका लागि आइपिओ जारी गरिने जनाइएको छ। गैर आवासीय नेपाली सङ्घका अनुसार लगानीका क्षेत्रहरूबारे पनि प्रस्तावहरू आइसकेको र विदेशमा रहेका नेपालीहरू नेपालमा पूर्वाधार विकासको क्षेत्रमा लगानी गर्न उत्सुक रहेको बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस