काठमाडौँ । जनमुक्ति सेनाका पूर्व कमाण्डरहरुसँग प्रचण्ड, माधव नेपाललगायतका शीर्ष नेताहरुले छलफल गरेका छन् । नेकपा दाहाल-नेपाल समुहको पार्टी कार्यालय पेरिसडाँडामा भएको छलफलमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तन र उपलव्धि जोगाउन जनमुक्ति सेना एकपटक पुनः अग्रसर हुनुपर्ने बेला आएको बताए ।
उनले देशमा आएको परिवर्तन हामीले नै लडेर ल्याएको र यसलाई जोगाउन फेरी एकपटक एक भएर लाग्नु पर्ने बताए । उनले भने,’हामी तपाईंहरुका अभिभावक हौँ । किनभने परिवर्तनका लागि तपाईं हामी सवैले लडेका हौँ । त्यसकारण परिवर्तनको संरक्षण गर्ने दायित्व पनि तपाई हाम्रै हो’, उनले भने, ‘प्रतिगमनकारी कदमका पक्षमा लाग्नेलाई जनमुक्ति सेनाले साथ दिँदैन भन्ने विश्वास छ ।’ उनले केही साथीहरु भुलचुकमा परेपनि उनीहरुलाई सम्झाउनु पर्ने बताए ।
प्रचण्डले परिवर्तनलाई जोगाउन र संस्थागत गर्न पूर्व जनमुक्ति सेनालाई पुनः लड्न आह्वान पनि गरे । ‘हिजो हतियार बोकेर लड्नुपरेको थियो । आज वैचारिक र शान्तिपूर्ण ढंगले लड्नुपर्छ । सडक संघर्षको नेतृत्व पनि तपाईंहरु जनमुक्ति सेनाले नै गर्न जरुरी छ’, प्रचण्डको भनाई उदृत गर्दै दाहाल-नेपाल समुहका युवा नेता रामप्रसाद सापकोटाले बताए







