हिउँमा चिप्लिएर सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

हिउँमा चिप्लिएर सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते


२५ माघ २०७७, आइतबार


टिस्टुङ । मकवानपुरको भीमफेदी गाउँपालिकाको गोलमोडमा हिउँमा चिप्लिएर गए राति टाटासुमो दुर्घटना हुँदा एक जनाको मृत्यु हुनाका साथै नौ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट पालुङ हुँदै वीरगञ्जतर्फ गइरहेको ना १ ज ४१३८ नम्बरकोे टाटासुमो गोलमोडबाट हिउँमा चिप्लिएर खसेको हो । दुर्घटनामा घाइते भएका सप्तरी जिल्ला, बनौली गाउँपालिका-२ का ३३ वर्षीय प्रमाण्डु चौधरीको गए राति हेटौँडामा उपचारका क्रममा मृत्यु भएको हो ।

गम्भीर घाइते हुनेमा वीरगञ्ज-१३ का ३० वर्षीय मनोज साह, उहाँकी पत्नी २६ वर्षीया पुनमकुमारी गुप्ता, बारा गढीमाई-१० का ३२ वर्षीय प्रदीपकुमार साह र सर्लाही अभिलाशी-७ का ३२ वर्षीय मधुकर यादव छन् । उनीहरूको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको तथा सामान्य घाइते भएका घर गइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

यही माघ १० गतेदेखि हेटौँडा-काठमाडौँ चल्ने छोटो मार्ग भीमफेदी-कुलेखानी स्तरोन्नति भइरहेकाले बन्द रहेका कारण सवारी साधन त्रिभुवन राजपथ भएर सञ्चालन भइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस