आहाराको खोजीमा भारततर्फ जान थाले चितवन राष्ट्रिय निकुञ्जका गैंडा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आहाराको खोजीमा भारततर्फ जान थाले चितवन राष्ट्रिय निकुञ्जका गैंडा


२३ माघ २०७७, शुक्रबार


चितवन। चितवन राष्ट्रिय निकुञ्जबाट आहारा र बासस्थानको खोजीमा दुर्लभ एक सिङ्गे गैंडा भारतर्फ जान थालेका छन् ।

निकुञ्जको पश्चिमी क्षेत्रमा केन्द्रीत भएका गैँडा बिस्तारै भारततर्फ जान थालेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालकाअनुसार यस वर्षको वर्षातमा दुई वटा गैंडा सुस्ता हुँदै भारततर्फ गएका छन् । ती गैंडा भारतको वाल्मीकि टाइगर रिजर्भमा पुगेका छन् ।

बरालले निकुञ्जको टेम्पल, बगवन, भेलौजी हुँदै त्रिवेणीबाट भारतर्फ जाने खतरा बढेको बताए । उनकाअनुसार निकुञ्जको पश्चिमी क्षेत्रमा झण्डै ७० प्रतिशत गैंडा रहेका छन् । उनले भने, ‘पश्चिमी क्षेत्रका गैंडालाई निकुञ्जको पूर्वी भागमा स्थानान्तरण गरिएन भने भारततर्फ जाने खतरा बढेर गयो ।’

नेपालमा हुर्काएर राप्ती र नारायणी नदीमा छाडिएका अधिकांश घडियाल गोही भारत जाने गर्दछन् । यसैगरी यहाँका गैंडा भारततर्फ जाने खतरा बढेको उनको भनाइ छ । विसं २०७४ मा आएको बाढीले निकुञ्जमा ठूलो संख्यामा बगाएर गैंडा भारत पुर्‍याएको छ । त्यस समयमा भारतीय पक्षसँग समन्वय गरेर ११ वटा गैंडा उद्धार गरी ल्याइएको भए पनि पछिल्लो समय भारतले ल्याउन नदिएपछि अझै त्यहाँ गैंडा रहेका छन् ।

निकुञ्जको पूर्वी क्षेत्रमा गैँडाको बासस्थान राम्रो हुन नसक्दा गैंडा पश्चिम क्षेत्रमा केन्द्रीत हुँदै गएका हुन् । निकुञ्जले विगतका वर्षदेखि नै गैंडा पश्चिमबाट पूर्वमा ल्याउने जनाउँदै आएको भए पनि ठोस काम हुन सकेको छैन । बराल अब गैंडा पूर्व ल्याउनै पर्ने बताउँछन् ।

निकुञ्जभित्रको बासस्थान थप व्यवस्थित गरेर गैंडा स्थानान्तरण नगरे क्रमशः भारततर्फ जाने उनको भनाइ छ । उनले थपे, ‘आन्तरिक रुपमा निकुञ्जभित्र बासस्थानको व्यवस्थापनमा अरु बढी जुट्नुपर्ने देखिएको छ ।’

निकुञ्जको पश्चिमी क्षेत्रमा एकै ठाउँमा धेरै गैंडा हुँदा खानाको अभाव हुने, एकआपसमा जुधेर मर्ने समस्या पनि देखिएको छ । पोथीसँगको प्रजननको समयमा भाले गैंडा एकआपसमा जुध्ने गर्दछन् । निकुञ्ज भारतीय सीमा क्षेत्रमा पर्दछ । भारततर्फ वाल्मीकि टाइगर रिजर्भ छ । यहाँका पाटेबाघलगायतका अन्य वन्यजन्तु पनि भारत जाने आउने गर्दछन् ।

दुर्लभ एक सिङ्गे गैंडा संरक्षणमा राज्य र दातृ निकायले ठूलो लगानी गरेको भए पनि भारततर्फ जाने समस्याबारे अहिलेसम्म कुनै ठोस काम हुन सकेको छैन । नेपालका निकुञ्जमा गएको वर्ष गैँडा गणना गर्ने भनिए पनि कोरोना प्रभाव देखिएसँगै रोकिएको छ । यस वर्ष गैंडा गर्ने तयारी भइरहेको छ । सन् २०१५ को गणनामा नेपालमा ६४५ गैंडा रहेकोमा यहाँ ६०५ गैंडा रहेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस