अख्तियार प्रमुख आयुक्त राई र दुई सदस्यद्वारा शपथग्रहण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अख्तियार प्रमुख आयुक्त राई र दुई सदस्यद्वारा शपथग्रहण


२१ माघ २०७७, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेम कुमार राईले शपथ लिएका छन् ।

राष्ट्रपति भण्डारीको समुपस्थितमा संवैधानिक निकायको रिक्त पदमा नवनियुक्त प्रमुख आयुक्त, आयुक्त, अध्यक्ष तथा सदस्यलाई राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहबिच प्रमुख आयुक्त राई तथा अन्य दुई सदस्य जयबहादुर चन्द र किशोरकुमार सिलवाललाई पद तथा गोपनीयताको शपथग्रहण गराइएको हो । नवनियुक्त प्रमुख आयुक्त राई निजामतीका हक्की, निडर र इमान्दार छविका प्रशासकको रुपमा चिनिन्छन् ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलको पनि सहभागिता थियो ।

संवैधानिक निकायका प्रमुख आयुक्त र अध्यक्षलाई प्रधानन्यायाधीश राणा र सदस्य तथा आयुक्तलाई सम्बन्धित निकायका प्रमुख आयुक्त तथा अध्यक्षले शपथ गराएका थिए ।

प्रधानन्यायाधीश राणाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगर र राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुली, राष्ट्रिय दलित आयोगका नवनियुक्त अध्यक्ष देवराज विश्वकर्मा र आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरलाई पद तथा गोपनीयताको शपथ गराए ।

उक्त समारोहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई नवनियुक्त प्रमुख आयुक्त राईले पद तथा गोपनीयताको शपथ गराए ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नवनियुक्त निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र डा। जानकीकुमारी तुलाधरलाई शपथ गराए । राष्ट्रिय मानवअधिकार आयोगका नवनियुक्त अध्यक्ष मगरले नवनियुक्त सदस्य सूर्यप्रसाद शर्मा ढुङ्गेल, मिहिर ठाकुर, मनोज दुवाडी र लिलीहजुर बस्न्यातलाई शपथ गराए ।

समारोहमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुद्धबहादुर गुरुङ र अमरराज मिश्र, राष्ट्रिय महिला आयोगका सदस्यद्वय कृष्णकुमारी पौडेल र विद्याकुमारी सिन्हा, राष्ट्रिय दलित आयोगका सदस्यत्रय मीनादेवी सोब, टुञ्जे कामी र मेहले पार्की तथा राष्ट्रिय समावेशी आयोगका सदस्यद्वय रामचन्द्र जोशी र हरिदत्त जोशीलाई समेत सम्बन्धित निकायका प्रमुखले पद तथा गोपनीयताको शपथ गराएका थिए ।

यस्तै आदिवासी जनजाति आयोगका सदस्यत्रय डा मीनबहादुर श्रीस, रीना राना र शरण राईलाई अध्यक्ष मगरले शपथ गराउनुभएको थियो । मधेसी आयोगका सदस्यत्रय जीवछ शाह, रेणुदेवी शाह र विजयकुमार गुप्ता तथा मुस्लिम आयोगका सदस्यद्वय महमद्दिन अलि र मिर्जा अर्सद वेगलाई सम्बन्धित आयोगका अध्यक्षले शपथ गराए । समारोहमा अध्यक्ष सहभागी हुन नसक्नुभएकाले थारू आयोगका नवनियुक्त सदस्य सुबोधसिंह थारू र भोलाराम चौधरीको पद तथा गोपनीयताको शपथ भने पछि गरिने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस