एपिएफलाई ३३ रनले पछि पार्दै प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मीलाई « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एपिएफलाई ३३ रनले पछि पार्दै प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मीलाई


प्रशासन संवाददाता

१७ माघ २०७७, शनिबार


काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल एपिएफ क्लबलाई पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको फाइनल भिडन्तमा आर्मीले एपिएफलाई ३३ रनले पराजित गर्दै उपाधि जितेको हो।

आर्मीले दिएको २१२ रनको लक्ष्य पछ्याएको एपिएफ ४१.३ ओभरमा १७८ रनमा अलआउट भयो। आर्मीले अन्तिम चार बलमा एपिएफको तीन विकेट लिँदै खेल आफ्नो पक्षमा पर्‍यो।

४१.२ ओभरमा सहाब अलामबाट कमलसिंह ऐरी २ रनमा बोल्ड भए। लगत्तै अर्को बलमा अभिनास बोहरा एलबिडब्लूको धरापमा परे। अघिल्लो ओभरको अन्तिम बलमा अमरसिंह रउटेला १ रनमा आउट भएका थिए।

आर्मीका लागि आसिफ शेखले अर्धशतक प्रहार गरे। ओपनिङ ब्याट्सम्यान आसिफले ७१ बलमा ८ चौका र १ छक्काको मदतमा ६१ रन जोडे। अर्का ओपनर सुवास खकुरेल १४ रनमा आउट हुँदा कप्तान शरद भेषवाकर डकआउट भएका थिए।

शंकर रानाले २१ रन जोड्दा सुमित महर्जनले १९ रन बटुले भने भुवन कार्की ९ रनमा आउट भए। सन्दीप जोरा २९ रनमा आउट भएपछि खेल आर्मीको पक्षमा गएको थियो।

बलिङमा आर्मीका विक्रम शोव, जितेन्द्र मुखिया र सहाब अलामले ३-३ विकेट लिए। १ विकेट सुशन भारीको नाममा रह्यो। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ९ विकेटको क्षतिमा २११ रन जोड्यो।

आर्मीका लागि हरिबहादुर चौहानले अर्धशतक प्रहार गरे। लामो इनिङ्ग्स खेलेका उनले ५८ रनको योगदान गरे। उनले १०२ बलमा ६ चौका प्रहार गरे। आर्मीका लागि ओपनिङ गरेका सुशन भारीले ३४ बल खेलेर १३ रन जोडे भने अनिल मण्डलले २१ बलमा ११ रन बटुले।

भीम सार्की ७ रनमा आउट भएका थिए भने रोहित पौडेलले ३० बलमा १३ रन मात्र जोड्न सके। कप्तान विनोद भण्डारीले एपिएफका कमलसिंह ऐरीबाट एलबिडब्लूको धरापमा पर्नुअघि १६ बलमा ७ रन मात्र जोड्न सके। राजेश पुलामी मगरले जोडेको २८ रन पनि आर्मीको लागि महत्वपूर्ण सावित भयो। किशोर महतोको बलमा आउट हुनुअघि उनले २९ बलमा २ चौका र १ छक्का प्रहार गरे।

लोकेश बमले ९ बलमा २ छक्कासहित १५ रन प्रहार गरे। विक्रम शोव ११ रनमा आउट भए। सहाव अलामले अन्तिममा आक्रमक ब्याटिङ गर्दै नटआउट २१ रन जोडे। उनले १४ बलमा २ चौका र १ छक्कासहित नटआउट २५ रन जोडे।

बलिङमा एपिएफका अभिनास बोहराले सबैभन्दा बढि ४ विकेट लिए। उनले १० ओभरमा २ मेडन राख्दा २५ रन मात्र खर्चिए। किशोर महतोले २ विकेट हात पारे। उनले १० ओभरमा ५३ रन खर्चिए।

Tags :
प्रतिक्रिया दिनुहोस