आहा ! सिंहदरबारको भित्तामा सुन्दर ‘मिनी नेपाल’को परिकल्पना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आहा ! सिंहदरबारको भित्तामा सुन्दर ‘मिनी नेपाल’को परिकल्पना


१५ माघ २०७७, बिहिबार


काठमाडौँ । भित्ताले बोल्दैनन् हामीलाई थाहा छ । तर भित्तामा कुँदिएका कलात्मक डिजाइनले धेरै कुराको सन्देश दिन सक्छ । भित्तामा सुन्दर डिजाइनमा कोरिएका भावपूर्ण चित्रले मान्छेको मनोविज्ञानमा प्रत्यक्ष असर पर्न सक्छ ।

भनिन्छ नि ‘भित्ताका पनि कान हुन्छन्’ भनेर । यो हरफ याद आउँदा मलाई भन्न मन लाग्छ ‘भित्ताका बोल्ने ओठ पनि हुन्छन् ।’ कलात्मक चित्रको माध्यमबाट दिइने ज्ञान साक्षर निरक्षर सबैले सजिलै बुझ्न सक्छन् । हामीले भित्ताको आवाज सुनौँला नसुनौँला तर भित्ताका ओठले बोलेका अभिव्यक्ति हामी हेर्न र पढ्न सक्छौँ, सारभूत कुराहरू बुझ्न सक्छौँ, भित्तामा कुँदिएको एउटा चित्रको सहाराले हामी कुनै चीजको बारेमा हजारौँ सकारात्मक धारणा बनाउन सक्छौँ, आफ्नो ज्ञानको दायरा बढाउन सक्छौँ ।

प्रसङ्ग सिंहदरवारको भित्तामा बुटिक डिजाइन गर्ने बारेको हो । सामान्यतः मान्छेले आफ्नो घरको वरिपरि होस् या अफिस को वरिपरि होस् या कुनै गार्डेनको वरिपरि पर्खाल लगाउँछन् सुरक्षाको लागि । यस मानेमा पर्खाल लगाउनु निकै राम्रो कुरा हो । तर कस्तो किसिमको पर्खाल लगाउने वा कस्तो किसिमको भित्ता ठड्याउने भन्ने कुराले मान्छेको सोचाई र हेर्ने दृष्टिकोणमा पनि निकै फरक पारिरहेको हुन्छ । सन् १९१४ मा विश्वविख्यात कवि रबर्ट फ्रष्टले आफ्नो कविता ‘मेन्डिंग अ वाल’ मा उल्लेख गरेका छन्, ‘असल पर्खालले असल छिमेकी बनाउँछ’ भनेर । कविले भनेजस्तै साँच्चिकै वास्तवमा कतिपय अवस्थामा कतिपय स्थान विशेषमा लगाइएका पर्खालहरूले पनि यही भनाइलाई आत्मसात् गर्छ । सुन्दर र कलात्मक पर्खालले पनि मान्छेको मनोविज्ञानमा ठुलो असर पारिरहेको हुन्छ ।

सिङ्गो देशकै प्रतिनिधित्व गर्ने मुख्य प्रशासनिक निकाय सिंहदरवारबारे जान्न बुझ्न चाहने अधिकार हरेक नागरिकलाई छ । देशभरिका समस्या तथा समृद्धि आएर ठोक्किने ठाउँ अनि समाधानका उपाय पनि पहिल्याउने ठाउँ सिंहदरवार हो । सबै नेपालीको आशाको दियो सिंहदरवार सुन्दर हुनुपर्छ भित्रबाट अनि बाहिरबाट पनि । नेपालका प्रधानमन्त्रीको कार्यालय तथा महत्त्वपूर्ण सरकारी मन्त्रालयहरू रहेको परिसर भव्य र सभ्य हुन जरुरी छ । यसको परिसरको सुन्दरताले देशको राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा पनि निकै राम्रो छवि बनाउन भूमिका खेल्दछ ।

कोही विशिष्ट विदेशी पाहुना नेपाल भ्रमणमा आउँदा सिंहदरबार बाहिरका बेसूरा ठडिएका रुखा भित्ताहरूले नगिज्याओस् । कतिपय व्यस्त आगन्तुकहरूसँग सम्बन्धित स्थानमा गएर पर्यटकीय ठाउँहरू घुम्ने र बुझ्ने फुर्सद नहोला तर यहीँबाट पनि हाम्रा कतिपय सम्पदाका बारेमा सुन्दर भित्तामा कुँदिएका चित्रमार्फत जानकारी लिन सक्ने अवसर दिनुपर्छ । यसले हाम्रा पर्यटकीय महत्त्वका सम्पदाहरूको प्रचारप्रसार र प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुर्‍याउनेछ ।

विशाल सिंहदरबारका अहिलेका भित्ताहरूले सर्वसाधारणका लागि कुनै आवाज बोल्दैनन् । सिंहदरबार रहस्यमय ठानिन्छ सर्वसाधारणका लागि । यिनका ठुला ठुला लिठरिंग उभिएका भित्ताले केवल बार लगाएको छ सुरक्षाको लागि भनेर । सर्वसाधारणका लागि यी भित्ताहरू हर्ष न विष्मात जस्तै छन् । यी निर्जीव भित्तामा पनि ज्ञानको माध्यमबाट कलात्मक डिजाइन दिएर जीवन्त बनाउन सकियो भने सिंहदरवारका भित्ताले पनि सिंहदरवार बाहिरबाटै गुज्रने आगन्तुकलाई आफूतिर आकर्षण गर्नेछ र चित्रमार्फत केही बोल्नेछ र हर कोही आउने जाने आगन्तुकलाई सकारात्मक सन्देश दिन सक्नेछ ।

प्रशासनिक भवनको वरिपरि ज्ञानमूलक, संस्कृति झल्कने किसिमका, हाम्रा रीतिरिवाजहरू झल्कने किसिमका बुटिक भित्ताहरू बनाउन सकियोेभने त्यसले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान त गर्छ नै यसले ज्ञानको प्रवर्द्धन गर्न र हाम्रो सांस्कृतिक सम्पदाहरूको संरक्षण र जगेर्ना गर्नमा अतुलनीय योगदान गर्न सक्छ ।

सिंहदरवारका भित्ताहरूलाई कसरी बुटिक डिजाइन दिन सकिन्छ भनेर वि.सं. २०७५ सालमा प्रधानमन्त्री कार्यालयको अग्रसरतामा तत्कालीन प्रशासन महाशाखा प्रमुख तथा प्रवक्ता विनोद बहादुर कुँवरको संयोजकत्वमा गठित समितिले सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले प्रस्ताव अगाडी बढाएको थियो । जसअन्तर्गत सो कार्यालयका सिडिई, सहरी विकास मन्त्रालयका उपसचिव९प्रशासन०, सहरी विकास तथा भवन निर्माण विभागका सिडिई सदस्य र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन शाखाका उपसचिव सदस्य–सचिव रहेको ‘सिंहदरवार परिसर अनुगमन समिति’ गठन गर्ने निर्णय गरेको थियो । जसअनुसार देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारको सौन्दर्यीकरणसँगै अघि बढाइएको दुई महत्त्वपूर्ण योजना हुन् बुटिक वाल(शहरी विकास मन्त्रालय) र लोटस पार्क(राष्ट्रिय पुनर्निर्माण प्राधिकरण) । बुटिक वालको अवधारणाअनुसार सिंहदरवारको चारैतिरका भित्तामा कलाकृति ‘मिनी नेपाल’को परिकल्पना गरिएको छ ।

सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले सबै अन्य प्रक्रिया अगाडी बढाइसकेको भए पनि प्रधानमन्त्रीसमक्ष डिजाइनबारे प्रस्तुति गर्न मात्रै बाँकी रहेकाले योजना ओझेलमै परेको छ । यस योजनालाई तीव्रताका साथ अगाडी बढाउनुपर्ने प्रशासकहरूले आवश्यकता महसुस गरेका छन् ।

सरकारको आह्वानमा स्वदेशी कम्पनी इक्याच इन्जिनियरिङ कन्सल्टेन्सी प्रा.लि. ले सरकारसमक्ष डिजाइन प्रस्ताव गरेको छ । जसअनुसार नेपालको सांस्कृतिक सम्पदा र नेपालको हिमाल, पहाड र तराईमा बसोबास गर्ने सामाजिक जीवनको कलात्मक चित्रण र इतिहास झल्कने गरी सिंहदरवारका भित्ताहरूमा बुटिक डिजाइन गरिनेछ ।

नेपाली भेषभूषा, परम्परा एवं संस्कृति संसारमै उत्कृष्ट छन् । हिमाली भेगमा बसोबास गर्ने शेर्पा, लेप्चा, डोल्पो, लोवा, थकाली समुदायको संस्कृति भेषभूषा छन् । पहाडी भेगका आदिवासी समुदाय गुरुङ, मगर, तामाङ , राई, लिम्बु, बाहुन, क्षेत्रीको संस्कृति छन् । त्यस्तै तराई भेगका थारु समुदाय र मिथिला संस्कृति, रीतिरिवाजहरू छन् । यिनको प्रचारप्रसार गर्नका लागि र सिंहदरबारको सुन्दरता बढाउनका लागि नेपालको अन्तर्राष्ट्रिय स्तरमा गरिमा बढाउनका लागि सिंहदरबारको बुटिक डिजाइनले सघाउनेछन् ।

प्रस्तावमा उल्लेख भएअनुसार सिंहदरवारको दक्षिणी भेगतिरको भित्ता र पश्चिमी गेट तर्फका भित्तामा कुँदिने चित्रमा राखिने रङ्ग पनि मान्छेको मनोविज्ञानलाई ध्यान राख्दै छनौट गरिनेछ । दक्षिणी मुख्य प्रवेश गेटका अगाडी मल्ल कालिन इतिहास झल्किने प्यागोडा शैलीका मन्दिर एवं घण्टको डिजाइन गरिनेछ । सिंहदरबार प्रवेश पासका लागि लाइन लाग्नुपर्ने ठाउँलाई जनमैत्री ढङ्गले निर्माण गरिनेछ । भित्ताहरूमा सुरक्षाका अत्याधुनिक प्रविधिसहित सेक्युरिटी अलार्म जडान गरिनेछ ।

यी बाहेक समय समयमा पेन्टमा ध्यान दिनुपर्ने, कुनै आवश्यक ठाउँमा केही सुन्दर भनाइहरू लेख्न पर्ने, अनावश्यक पोस्टर पम्पलेट टाँस्न नपाइने भनी केही सावधानी नोटिस राख्न पर्ने, छेउछाउतिर लगाइएका फूलहरूको बेलाबेलामा मलजल र संरक्षण गर्नुपर्नेमा पनि ध्यान दिन सकेमा सुन्दरता टिकाइराख्न मद्दत पुग्नेछ । प्रवेश पासका लागि स्मार्ट पास सिस्टम कार्यान्वयनमा ल्याउन पर्ने, सरसफाइमा विशेष ध्यान दिनपर्ने, सिंहदरबारभित्र रहेका सबै मन्त्रालयका बारेमा प्रवेश पास लिने ठाउँ नजिक बाहिरै नागरिक बडापत्र राख्नु पर्ने व्यवस्था गर्न सकिए यो योजनालाई दीर्घकालीन रूपमा सफल बनाउन सकिनेछ । हामीले परिकल्पना गरेको सिंहदरबार भित्ताको सुन्दर बुटिक डिजाइन पनि यही हो यस योजनालाई सरकारले अगाडी बढाओस् ।

Tags :
प्रतिक्रिया दिनुहोस