पार्टी एकता गराएरै छाड्छु : उपाध्यक्ष गौतम « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पार्टी एकता गराएरै छाड्छु : उपाध्यक्ष गौतम


१५ माघ २०७७, बिहिबार


ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता गराएरै छाड्ने बताएका छन् । पार्टी एकता राष्ट्रिय अभियान घोषणामा आज नेता गौतमले पार्टी विभाजन हुँदा थुप्रै समस्या उत्पन्न हुने उल्लेख गरे । उनले भने, ‘पार्टी व्यावहारिक र राजनीतिकरुपमा फुटे पनि कानूनीरुपमा अझै फुटेको छैन, त्यसैले एकीकृत अभियानमा लाग्नुपर्छ ।’

तीन वर्ष पहिले कम्युनिष्ट पार्टी एकीकृत हुँदा संसारलाई तरङ्गीत बनाएको तर आज फुटको अवस्था सिर्जना हुँदा ज्यादै पीडा महसुस भइरहेको उनको भनाइ थियो । झण्डै दुई तिहाइ बहुमत प्राप्त पार्टीको सरकार आज विभाजनको अवस्थामा पीडा भोग्नु परेको बताउँदै उनले अब पुनः पार्टीलाई जोडेर अगाडि बढ्नुपर्नेमा जोड दिए । विगतमा आफूहरुले पार्टी बनाउन १३ वर्ष सङ्घर्ष गरेको बताउँदै उपाध्यक्ष गौतमले अब जति वर्ष समय खर्च भए पनि मिलाएरै छाड्ने उनले जिकिर गरे ।

नेकपाका शीर्ष नेता तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका नेता दाहालले पार्टीलाई चिराचिरा पार्न खोजेका उनले आरोप लगाए । अहिले नेकपामा भइरहेको विवादका कारण एकथरीका नेता ‘हामी निर्वाचन हुन दिन्नौँ’ र अर्को थरीका नेता ‘हामी निर्वाचनमा बहुमत ल्याएरै छाड्छौँ’, भनेर हिँड्नु उचित नभएको गौतमले तर्क गरे ।

दुई पार्टी मिलेर नेकपा एकृकीत भएपछि गरिएको निर्वाचनमा आफूहरुले रु ४२ लाख मत प्राप्त गरेको र नेपाली कांग्रेले एकलरुपमा ३० लाख मत प्राप्त गरेको बताउँदै नेता गौतमले अब निर्वाचनमा जाँदा आफूहरुले पराजय हासिल गर्ने विचार राखे । जनताको साथ लिएर समाजवादको बाटो निर्माण गर्न आफू लागिपर्ने तर्क गर्दै उनले प्रधानमन्त्री ओली र नेता दाहालका केही नजिकका व्यक्तिबाहेक अरु जनता एकताका पक्षमा रहेका आफूले बुझेको उपाध्यक्ष गौतमले अवधारणा व्यक्त गरे। अब नेकपा जुटाउन नयाँ व्यक्ति नेतृत्वमा आउने र आफू पनि यस काम पूर्ण गराउन नथाक्ने उनले बताए।

आज भोलि नेकपा पार्टीभित्र भएको आरोपप्रत्यारोपका कारण जताततै गालीगलौज र आलोचना मात्रै सुनिने गरेको उनले गुनासो गरे । नेकपा पार्टीभित्र सबै शीर्ष नेतासँगै बसेर एक कप चिया खाने र नमस्कार गर्ने वातावरणसमेत हराइरहेको भनी उपाध्यक्ष गौतमले यस नगर्न अनुरोध गरे।

एकताको अभियान सफल बनाउन जनताको साथ अति नै आवश्यक रहने बताउँदै उनले सबै जनताले साथ दिने विश्वास लिएको भनाइ राखे । हाल पहिलो पुस्ताका नेता पार्टीमा फुटे पनि दोस्रो र तेस्रो पुस्ताका नेतालाई एकजुट भएर अघि बढ्न उनले सुझाव दिए । उनले भने, ‘यदि आउँदो वैशाख १७ र २७ गते निर्वाचन भयो भने नेकपाको भोट नेकपाभित्रै हाल्न सबै कार्यकर्तालाई अनुरोध गर्दछु ।’ आफ्नो भित्री धारणा संसद् पुनःस्थापना होस भन्ने रहेको नेता गौतमले कार्यक्रममा सबैमाझ जानकारी गराए ।

यसैगरी कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य हरि पराजुलीले पार्टी विभाजन भएर चुनावमा गए जनतालाई मतदान बहिष्कार गर्न आग्रह गरे । उनले भने, ‘पार्टी विभाजनको यस चरणमा हामीले एकताबद्ध भएर अघि बढ्न सबै नेता तथा कार्यकर्तालाई मित्रतापूर्ण सुझाव र अभिव्यक्ति दिनुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस