केन्द्रीय तथ्यांक विभागलाई पर्याप्त सूचना दिन आयोगको आदेश « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

केन्द्रीय तथ्यांक विभागलाई पर्याप्त सूचना दिन आयोगको आदेश


१३ माघ २०७७, मंगलबार


काठमाडौँ । राष्ट्रिय सूचना आयोगले केन्द्रीय तथ्यांक विभागलाई जनगणना २०७८ सम्बन्धमा आदेश जारी गरेको छ ।

विभागले आगामी २०७८ सालमा १२ औँ जनगणना कार्यक्रम सञ्चालन गर्न लागेकाले यसका बारेमा जनतालाई विभिन्न माध्यमबाट पर्याप्त सूचना जानकारी दिन सोमबार आदेश जारी गरेको हो ।

राष्ट्रिय जनगणना के हो ?, यसमा सबैले सहभागी हुन किन आवश्यक छ ? सही जानकारी दिन किन महत्वपूर्ण छ ? साथै दिइएको जानकारी गोप्य रहन्छ भन्ने विषयमा नागरिकलाई विश्वास दिलाउने विषयहरुमा व्यापक प्रचार प्रसार गर्नु भनी आदेशमा भनिएको छ ।

स्थानीय स्तरमा रहेका आमसञ्चारका माध्यमहरुमार्फत राष्ट्रिय जनगणनाका सन्दर्भमा गरिने प्रचारप्रसार सामग्री नेपाली भाषा लगायत स्थानीय रुपमा प्रचलनमा रहेका राष्ट्रिय भाषाहरुमा पनि प्रकासन तथा प्रसारण गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

सञ्चारका आधुनिक माध्यमजस्तै मोबाइल, एसएमएस, कलर ट्युन,टोलफ्रि नम्बरमार्फत आमनागरिकलाई जनगणनाको महत्वबारे सूचना दिई सूचना को हक कार्यान्वयन गर्न आदेश जारी गरेको हो ।

नेपालको संविधानको धारा २७ मा हरेक नेपाली नागरिककोे कुनै पनि सार्वजनिक सूचनामा पहुँच हुने व्यवस्था रहेको छ । जनगणनाका बारेमा नागरिकले पर्याप्त सूचना वा जानकारी पाउनुपर्ने आयोगको ठहर छ ।

नेपालको वर्तमान संविधान आइसकेपछि पहिलोपटक र १२ औँ जनगणनाका रुपमा अहिले तयारी भइरहेको जनगणना २०७८ को यसपालीको नारा ‘मेरो जनगणना मेरो सहभागिता’ रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस