अनुचित व्यापारिक कारोवार गर्ने कारवाहीमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अनुचित व्यापारिक कारोवार गर्ने कारवाहीमा


११ माघ २०७७, आइतबार


काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले एक महिनामा १०० भन्दा बढी फर्मलाई कारवाही गरेको छ । विभागले अनुचित व्यापारिक कारोवार गरेको जनाउँदै गत पुसमा १०९ फर्मलाई कारवाहीस्वरुप जरिवाना गरेको हो ।

काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा गरिएको बजार अनुगमनका क्रममा रु १३ लाख ७४ हजार राजश्व सङ्कलन गरिएको विभागका सूचना अधिकारी शिवराज सेढाईंले जानकारी दिए । उनका अनुसार एक महिनाको अवधिमा विभिन्न २८ विषयगत क्षेत्रका ३५१ फर्मको अनुगमन गरिएको थियो । तिनमा १६८ फर्मलाई तत्काल सुधार गर्न सामान्य निर्देशन दिइएको र रु एक लाख ३३ हजार बढीको म्याद सकिएका सामग्री नष्ट गरिएको, ६६ फर्मलाई स्पष्टीकरण सोधिएको तथा छ फर्मबाट नमूना सङ्कलन गरिएको जनाइएको छ ।

एक महिनाको अवधिमा सबैभन्दा धेरै खाद्यान्न पसललाई कारवाही गरिएको सूचना अधिकारी सेढाईले जानकारी दिए । उनका अनुसार १०६ खाद्यान्न पसलको अनुगमन गर्दा २७ फर्म अनुचित व्यापारिक कारोवारमा संग्लन भएको पाइएपछि कारवाही गर्दा रु ४४ लाख पाँच हजार राजश्व सङ्कलन भएको छ । यसैगरी अनुगमन गरिएका खाद्यान्न फर्ममध्ये ६२ फर्मलाई सामान्य निर्देशन दिइएको, रु ५४ हजार बराबरको म्याद सकिएका खाद्यान्न नष्ट गरिएको र १६ फर्मलाई स्पष्टीकरण सोधिएको थियो ।

अनुगमनका क्रममा अण्डा तथा दाना, अस्पताल, आयातकर्ता, उद्योग, कपडा पसल, कस्मेटिक तथा किराना पसल, खाद्यान्न, दाना उत्पादन, डिपार्टमेन्ट स्टोर, निर्माण सामग्री, मदिरा पसल, मार्ट र मासु पसल तथा फार्मेसी पसलको अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना तथा कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरीद बिक्री बिल नराख्ने फर्मलाई पाँच हजारदेखि तीन लाखसम्म जरिवाना गरिएको विभागले जनाएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोवार गर्ने पसललाई जरिवाना गरिएको विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस