दाहाल-नेपाल समूहको प्रदर्शनको प्रभाव : उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दाहाल-नेपाल समूहको प्रदर्शनको प्रभाव : उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त


प्रशासन संवाददाता

९ माघ २०७७, शुक्रबार


काठमाडौँ । प्रतिनिधिसभा विघटन विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल-नेपाल समूहको आज काठमाडौँमा विरोध प्रदर्शन भइरहेको छ । विरोध प्रदर्शनका लागि दाहाल-नेपाल समूहका नेता कार्यकर्ता आन्दोलन कार्यक्रमका लागि भेला भएका छन् । यसैकारण काठमाडौँ उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बन्न पुगेको छ । विभिन्न स्थानका सवारी रुट डाईभर्सन गरिएको छ ।

काठमाडौको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका र बाल्मिकी क्याम्पसबाट जुलुस शुरु हुदैछ । ति स्थानबाट निस्कने जुलुस भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृह अगाडिको सडकमा पुगेर सभामा परिणत हुनेछ । अहिले विभिन्न स्थानबाट र्‍यालि निकाल्ने क्रम सुरु भएको छ ।

विरोध कार्यक्रमलाई लक्षित गर्दै अहिले चक्रपथभित्र भाडाका गाडी चलाउन दिइएको छैन । काठमाडौँका विभिन्न ठाउँबाट जुलुस निकालेर भृकुटीमण्डपमा शक्ति प्रदर्शन हुने भएकाले ट्राफिक व्यवस्थापन र सुरक्षा व्यवस्थापनमा त्यसैअनुसार तयारी गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बाहिरी जिल्लाबाट समेत प्रदर्शनमा सहभागी हुनेहरु आउने भएकाले गाडी आवतजावतमा विशेष ध्यान दिइएको महाशाखाले जनाएको छ । नेकपाको दाहाल-नेपाल समूहले अहिले काठमाडौंको भृकुटीमण्डप ‘वान वे’ सडकमा कार्यक्रम गर्ने ठाउँ बनाइरहेको छ ।

नेकपाको दाहाल-नेपाल समूहले आज बिहान ११ बजे काठमाडौँका विभिन्न १० स्थानबाट जुलुस निकालेर प्रतिनिधिसभा विघटनको विरोध गर्न लागेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस