चालकसँग घूस लिने तीन प्रहरी निलम्बन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चालकसँग घूस लिने तीन प्रहरी निलम्बन


८ माघ २०७७, बिहिबार


हेटौँडा । सवारी चालकसँग घूस रकम लिने तीन प्रहरीलाई वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले निलम्बन गरेको छ । आर्थिक प्रलोभनमा परी आफूलाई दिइएको जिम्मेवारी इमान्दारिताका साथ निर्वाह नगरेको भन्दै उनीहरूलाई निलम्बन गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी हवल्दार लोकबहादुर घर्ती, प्रहरी जवान जमुना खड्का र वडा प्रहरी कार्यालय नारायणगढ चितवनमा कार्यरत प्रहरी जवान पूर्णसिंह रश्मी मगरलाई थप छानबिन गर्न निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालय हेटौँडाका वरिष्ठ प्रहरी उपरीक्षक मिरा चौधरीले जानकारी दिइन् ।

प्रहरीको आन्तरिक शुद्धीकरण अभियानअन्तर्गत प्रहरीलाई निलम्बन गरिएको उनले बताइन् । निलम्बित उनीहरूको सम्बन्धमा थप छानबिन गर्न प्रदेश प्रहरी कार्यालय हेटौँडाले प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लेको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरेको छ ।

वाग्मती प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रकम लिँदै गरेको अवस्थामा उनीहरूलाई गत माघ ६ गते नियन्त्रणमा लिएको थियो । प्रदेश प्रहरीले सम्बन्धित स्थानमा स्थलगत रूपमा खटिइ गएका प्रहरी अधिकृतको टोलीले डिउटीमा खटिएको अवस्थामा यातायात व्यवसायीका दलालमार्फत भरतपुर महानगरपालिका-१ पुल्चोकस्थित कालीगण्डकी कोल्ड स्टोर(पान पसल) बाट अवैध रकम लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस