प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम लिने पहिलो महिला सैनिक बनिन् राधिका « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम लिने पहिलो महिला सैनिक बनिन् राधिका


८ माघ २०७७, बिहिबार


काठमाडौँ। नेपाली सेनाकी जवान राधिका थापा प्रतिविद्रोह तथा जंगल वारफेयर (युद्धकला) तालिम लिने पहिलो नेपाली महिला सैनिक बनेकी छन् ।

थापाले प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा २०७७ पुस १८ गतेबाट माघ ६ गतेसम्म भएको तालिम सफलतापूर्वक सम्पन्न गरेकी हुन् । सैनिक जवान ब्याच नं २६३८०७ की थापा सोही शिक्षालयमा कार्यरत् छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-२ थापाटोलकी राधिका २०६९ असार १५ गते नेपाली सेनाको सैन्य दर्जामा भर्ना भएकी हुन् ।

सैन्य आधार तालिमपछि २०७० जेष्ठ २४ गतेबाट प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा कार्यरत छन् । उच्चस्तरको शारिरिक एवं मानसिक क्षमता आवश्यक पर्ने प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम सफलतापूर्वक सम्पन्न गरी उनले शाहस र जिम्मेवारीको एउटा उल्लेखनीय उदाहरण प्रस्तुत गरेको सेनाले जनाएको छ ।

तीन महिनाको अवधिसम्म चल्ने यो तालिमलाई अत्यन्तै कठिन प्रक्रियाको रुपमा लिइन्छ । तालिममा जंगल नेभिगेसन, धराप निर्माण गर्ने, जंगलमा कसरी बाँच्ने तथा सर्पदंश जस्ता समस्याको सामनालगायत बिभिन्न सैनिक ज्ञान, सीपहरु सिकाइन्छ । उनले बिल्लादार ग्रेड-३ तथा लाईट मोटर ड्राइभिङ्ग एण्ड मेन्टिनेन्स तालिम समेत लिएकी छन् ।

यसअघि अन्य बिभिन्न विधामा भने महिला सैनिकहरुले तालिम लिइसकेका छन् । नेपाली सेनाकी प्राविधिक सहायक सेनानी अन्नपूर्ण कुँवर प्याराजम्प गर्ने पहिलो महिला अधिकृत हुन् ।

उपसेनानी डा। सरिता केसी, अन्य महिला सैनिक परिचारीकाहरुसहित युनिफिलमा सहभागी हुने पहिलो महिला अधिकृत हुन् । यूएनमिसनमा सहभागी हुने पहिलो महिला सहसेनानी कृति राजभण्डारी हुन् भने पहिलो गुल्मपति सेनानी श्रृष्टि खड्का हुन् । उनले २०७४ सालमा महिलाहरुको युनिट गोरखकाली गुल्मको कमाण्ड गरेकी थिइन् ।

संयुक्त राष्ट्रसंघको डिसइङ्गेजमेन्ट अब्जर्भ युनिटको पहिलो युनिट कमाण्डर सेनानी गीता गुरुङ, सैनिक कमाण्ड तथा स्टाफ तालिम सम्पन्न गर्ने पहिलो महिला अधिकृत सेनानी सुलोचना पौडेल हुन् । उनले सि।सं २५ मा उक्त तालिम गरेकी हुन् । हाल सञ्चालनरत सि। सं २७ मा भने चार महिला अधिकृत छनौट भई तालिम गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस