प्रधानमन्त्री कपमा बागमती प्रदेशको लगातार दोस्रो जित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री कपमा बागमती प्रदेशको लगातार दोस्रो जित


५ माघ २०७७, सोमबार


काठमाडौँ । प्रधामन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार दोसो जित हात पारेको छ । सोमबार भएको खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई १८० रनले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सुदूरपश्चिम प्रदेशले टस जिते फिल्डिङ रोजेपछि वाग्मतीले पहिला ब्याटिङ गरेको थियो । वाग्मतीले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २९९ रन बनायो । तीन सय रनको विजय लक्ष्य पाएको सुदूरपश्चिमले २१ ओभरमा सबै विकेट गुमाएर ११९ रन मात्र बनाउन सक्यो । वाग्मतीका लागि पृथु बाँस्कोटा र आदिल खानले अर्धशतकीय पारी खेले । बाँस्कोटाले ९४ बलमा ८४ रनको योगदान दिए । यसक्रममा उनले दुई छक्का र १० चौका प्रहार गरे ।

यस्तै खानले ८६ बलमा १० चौकाको मद्दतमा ६३ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले ३२, विपीन आचार्यले ३२, पारस खड्काले २०, इशान पाण्डेले १७, आकाश थापाले १३ तथा रामनरेश गिरीले अविजित १० रन बनाए ।

बलिङतर्फ सुदूरपश्चिमका नारायण जोशीले तीन, भोजराज भट्ट र सन्तोष भट्टले दुई दुई तथा विनोेद लामाले एक विकेट लिए । तीन सय रनको विजय लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले २१ ओभरमा ११९ रन मात्र बनाउन सक्यो । सुदूरपश्चिमले ६ ओभर खेल्दा पाँच विकेट गुमाएको थियो । त्यो बेला उसको स्कोर१८ मात्र थियो । सुदूरपश्चिमका लागि नारायण जोशीले अविजित ४४, अर्जुन साउदले ३१ तथा किरण ठगुन्नाले २४ रन बनाए। बलिङतर्फ वाग्मती प्रदेशका रामनरेश गिरी एक्लैले चार विकेट लिए ।

उनले पाँच ओभर बलिङ गर्दै ३२ रन मात्र खर्चिए । यस्तै नन्दन यादवले दुई तथा दीपेश श्रेष्ठ, तिलक भण्डारी र विपीन आचार्यले एक एक विकेट लिए ।

Tags :
प्रतिक्रिया दिनुहोस