‘प्रचण्डको अन्तरविरोध र नेपालको पदबाहेक बस्नै नसक्ने कुण्ठाका कारण नेकपामा विवाद सिर्जना भयो’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘प्रचण्डको अन्तरविरोध र नेपालको पदबाहेक बस्नै नसक्ने कुण्ठाका कारण नेकपामा विवाद सिर्जना भयो’


२५ पुस २०७७, शनिबार


वाग्मती । उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताको भावना कुण्ठित भएकोमा चिन्तित रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिका सदस्यसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले आज नेकपा मकवानपुरको जिल्ला भेलालाई सम्बोधन गर्दै नेकपाभित्रको प्रचण्ड-माधव समूहले जनभावनालाई बेवास्ता गरेको आरोप लगाए।

उनले जनताको पाँच वर्षका लागि केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने चाहनालाई अर्को पक्षबाट सम्मान नगरिएको दाबी गरे । ‘नेकपा अध्यक्ष प्रचण्डको अन्तरविरोध सिर्जना गर्दै जाने र अर्का नेता माधव नेपालको पदबाहेक बस्नै नसक्ने कुण्ठाको कारण नेकपाभित्र विवाद सिर्जना भएको हो’, उनले भने, ‘कुर्सीको आकार हेर्ने, घनचक्कर पैदा गर्ने, इष्र्या र डाह बोक्नेले महाधिवेशनबाट अध्यक्ष र निर्वाचनबाट प्रधानमन्त्री बन्नुभएका केपी शर्मा ओलीको हाइहाइ र लोकप्रियताबाट कुण्ठित भएर आफ्नै दलका प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने, राष्ट्रपतिलाई महाअभियोग लगाउने खेल खेलेका कारण प्रधानमन्त्रीले संसद् विघटन गर्नुपरेको हो”, पोखरेलको भनाइ थियो ।

कार्यक्रममा नेकपा वाग्मती प्रदेश सहईन्चार्ज तथा केन्द्रीय सदस्य काशीनाथ अधिकारीले केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टी नै आधिकारिक नेकपा भएको र यसै नेकपाले चुनाव चिह्न सूर्य प्राप्त गर्ने बताए । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रजातन्त्रको सुन्दरता भनेको निर्वाचन भएको उल्लेख गर्दै निर्वाचनबाट जनताले गर्ने फैसलालाई सबैले स्वीकार गर्न तयार हुनुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस