टनकपुरबाट नेपालले थप १५ मेगावाट विद्युत् आयत गर्न सकिने « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

टनकपुरबाट नेपालले थप १५ मेगावाट विद्युत् आयत गर्न सकिने


२५ पुस २०७७, शनिबार


कालीगण्डकी करीडोर

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले भारतको टनकपुर बिन्दुबाट थप १५ मेगावाट विद्युत् आयातका लागि अनुमति पाएको छ । भारतको केन्द्रीय विद्युत प्राधिकरण (सीईए)ले शुक्रबार टनकपुरबाट थप विद्युत् ल्याउन नेपाल विद्युत प्राधिकरणलाई अनुमति दिएको हो । विद्युत प्राधिकरणले टकपुरबाट ७० मेगावाटसम्म विद्युत् आयात गरिरहेको थियो ।

सीईएले अनुमति दिएसँगै अब आवश्यक परेको बेला टनकपुरबार ८५ मेगावाटसम्म विद्युत् ल्याउन सकिने नेपाल विद्युत प्राधिकरणका कायम मुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए । प्राधिकरणले टनकपुरबाट खरिद गर्ने विद्युत्को प्रतियुनिट मूल्य ४.१४ भारतीय रुपैयाँ (६.६२ नेपाली रुपैयाँ)  छ । नेपालले महाकाली सन्धिअनुसार टनकपुरबाट वार्षिक ७ करोड युनिट विद्युत निःशुल्क पाउँदै आएको छ भने बाँकी व्यापारिक मूल्यमा खरिद गर्दै आएको छ ।

‘टनकपुरमा अहिले १०० एमभीएको ट्रन्सफर्मर भए पनि उताबाट अनुमति नपाउँदा ७० मेगावाटभन्दा बढी ल्याउन पाइरहेका थिएनौँ, भारतीय अधिकारीहरुसँगको निरन्तरको छलफलपछि जनवरी-मार्च र जुलाई-डिसेम्बरमा आयात क्षमता बढाएर ८५ मेगावाटसम्म ल्याउन पाउने अनुमति पाएका छौँ,’ शाक्यले भने । उनका अनुसार प्रसारण लाइनको क्षमताले नधान्दा पूर्वबाट पश्चिमतर्फ विद्युत् पठाउन सकिरहेको थिएन । टनकपुरबाट थप विद्युत् ल्याउन पाएपछि अब पश्चिम क्षेत्रको विद्युत आपूर्तिमा सुधार हुने छ भने बिहारबाट महंगोमा आयात भइरहेको विद्युत्लाई कम गर्न सकिन्छ ।

प्राधिकरणले ढल्केबर-मुजफ्फपुर प्रसारणलाइनमार्फत् आयात गरेको विद्युत्लाई प्रसारण लाइनको क्षमता अभावका कारण रौतहटको चपुरबाट पश्चिम पठाउन समस्या भोगिरहेको थियो । टनकपुरबाट थप आयात गर्न सकिने भएपछि पश्चिम पठाएको विद्युत्लाई काठमाडौँ उपत्यका र पूर्वतर्फ आपूर्तिका लागि पठाउन सकिने शाक्यको भनाइ छ ।

केही दिनअघि ढल्केबर सबस्टेसनमा ट्रान्सफर्मरको क्षमता विस्तार गरेसँगै त्यहाँबाट थप १०० मेगावाटसम्म विद्युत आयात गर्न सकिने छ । यसबाट यस वर्षको जाडोमा हुने विद्युत्को माग धान्न पर्याप्त विद्युत् हुने छ । प्राधिकरण र भारतीय कम्पनी एनटीपीसी विद्युत् निगम लिमिटेड (एनभीभीएन) बीच ढल्केबर-मुजफ्फपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत् जुलाई-नोभेम्बरमा २५० मेगावाटसम्म, डिसेम्बर–अप्रिलमा ३५० मेगावाटसम्म र मे-जुनमा २०० मेगावाटसम्म विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भएको छ । पीपीएको म्याद ३० जुन २०२१ सम्म रहेको छ । खरिद गरिने विद्युत्को प्रतियुनिट मूल्य ४.१८ भारु (६.६९ नेरु) छ ।

Tags :
प्रतिक्रिया दिनुहोस