ललितपुर महानगरमा पोष्टर, पम्पलेट टास्न नपाइने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ललितपुर महानगरमा पोष्टर, पम्पलेट टास्न नपाइने


२८ मंसिर २०७७, आइतबार


ललितपुर । ललितपुर महानगरपालिकाले महानगरलाई स्वच्छ र हराभर बनाउने उद्देश्यले सचेतना अभियान शुरुआत गरेको छ । महानगरप्रमुख चिरीबाबु महर्जनले आज यहाँ आयोजित कार्यक्रममा अभियानको शुभारम्भ गर्दै महानगरपालिकालाई स्वच्छ शहर बनाउन उच्च प्राथमिकताका साथ काम भइरहेको जानकारी दिए ।

उनले भने, ‘सुन्दर र सभ्य समाज निर्माण गर्न सचेतना अभियानले सहयोग गर्नेछ । महानगरपालिकाका सम्पदा तथा सार्वजनिक क्षेत्रमा फोहर गर्नु भनेको असभ्यताको पराकाष्ठा हो । यस्ता स्थानमा फोहर नगर्न पटक–पटक आग्रह गरिएको छ ।’

पोष्टर, पम्पलेट र ब्यानरलगायतका वस्तु अब महानगरभित्र देखिने छैनन् । महानगरका शोभा न्यूनीकरण गर्ने वस्तु हटाउन नगर प्रहरीलाई जिम्मेवारी प्रदान गरिएको छ ।
कार्यक्रममा नगरप्रहरी प्रमुख सीताराम हाछेथुले महानगरपालिकाभित्र फुटपाथ अतिक्रमण र अव्यवस्थिततार सुधारका काम आफूहरुले गरिरहेको जानकारी दिए । उनले भने, ‘दुई महिना लगाएर हरिसिद्धिदेखि सानेपासम्मका होडिङ् बोर्ड झिक्यौँ । थापाथली पुलदेखि कुमारीपाटीसम्मको अव्यवस्थित तार व्यवस्थापन गर्ने काम सकियो । अबको दुई महिनाभित्रमा लगनखेल हुँदै कुपण्डोल क्षेत्रमा काम हुनेछ । मङ्गलबजार भनिमण्डल, सानेपा क्षेत्र र अन्त्यमा भैँसेपाटी हुँदै बुङ्मतीतिर काम गर्नेछौँ ।’

नगर प्रहरीले ११ सार्वजनिक स्थानमा बनाइएका घरटहरासमेत भत्काइसकेको कार्यक्रममा जानकारी दिइएको थियो । महनगरपालिकाले यहाँका कुमारीपाटी, बटुकभैैरव, कनिबहाल, महालक्ष्मीस्थान, लगनखेल, पाटन अस्पताल क्षेत्र,यातायात व्यवस्था कार्यालय परिसर, भनिमण्डल, जावलाखेल आदिमा दुईदेखि चार पाङ्ग्रे सवारीसाधन पार्किङ् गर्ने व्यसस्थासमेत गरेको छ ।

सचेतना अभियान छ महिनासम्म चल्नेछ । अभियानमा महानगरपालिका नगर प्रहरी बिहान ११ देखि दिउँसो ४ बजेसम्म खट्नेछन् । अभियानलाई सफल बनाउन हप्ताको एक पटक महानगरपालिका भित्र र्‍यालीसमेत गरिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस