उद्यमशीलता, विकास र युवा « प्रशासन
Logo २ जेष्ठ २०७९, सोमबार
   

उद्यमशीलता, विकास र युवा


२१ मंसिर २०७७, आइतबार


अर्थशास्त्री जोसेज सुम्पिटरले आफ्नो पुस्तक मार्फत अन्ट्रप्रनरशीपको अवधारणालाई सन् १९३४ मा नै सैद्धान्तिक स्वरूप दिएका छन् । त्यही परिभाषा एक प्रकारले अन्ट्रप्रनरशीपको सनातनी र सर्वस्वीकार्य परिभाषा रहेको छ भन्दा अत्युक्ति हुँदैन । उनले सारमा पाँच प्रकारका गतिविधिलाई अन्ट्रप्रनरशीप भनेका छन् । १. उपभोक्ताहरू अहिलेसम्म जानकार नभएका नयाँ वस्तुहरूलाई बजारमा प्रवेश गराउनु । २. उत्पादनको नयाँ तरिका सुरुवात गराउनु वा वस्तुको व्यापार गर्न नयाँ तरिका अपनाउनु । ३. वस्तुको कारोबारमा लागि कुनै नयाँ क्षेत्रमा बजार खोल्नु वा बजार अस्तित्वमै नरहेका ठाउँमा बजार निर्माण गर्नु । ४. कच्चा पदार्थ अथवा अर्ध प्रशोधित वस्तुको आपूर्ति श्रोत व्यावसायिक ढङ्गले नियन्त्रण गर्नु । ५. कुनै उद्योगलाई नयाँ ढङ्गले व्यवस्थित गर्नु । भनेर अर्थशास्त्री डा.अच्युत वाग्लेले नेपालमा उद्यमशीलता विकासमा चुनौती भन्ने विचारमा अर्थशास्त्री जोसेज सुम्पिटरले पुस्तकमा लेखेका कुराहरू उल्लेख गरेको पाइन्छ ।

त्यसै गरी अर्थशास्त्री डा. मोहम्मद मुनुसले दि वर्ल्ड अफ थ्री जरोज पुस्तकमा लेखेका छन् ‘‘ प्रत्येक मानिस जन्मजात उद्यमी हुन्छन् कसैले आफ्नो क्षमता देखाउने अवसर पाउँछन् भने कसैले पाउँदैनन्, उनले त्यस पुस्तकमा लेखका छन्‘कतिपय त आफूभित्र त्यो क्षमता छ भन्ने समेत बुझ्न पाउँदैनन्’ । यसरी दुवै जना अर्थशास्त्रीको पुस्तक अध्ययन गर्दा के हामीले नेपाली माटो सुहाउँदो उद्यमशीलता गर्नु सकेका छौँ । के हामीले मौलिकता सहितको उद्यमशीलता गरेका छौँ ।

नेपालको विकास नहुनुको कारण उद्यम गर्ने उद्यमीको कमीको कारणले पछाडि परिरहेका छौँ । उद्यमी भनेको नेपाली वृहत् शब्दकोशमा उद्यममा लाग्ने वा लागेको, उद्योग गर्ने, उद्योगी, मिहिनेती, परिश्रमी अथवा आय आर्जनका लागि गरिने काम पेसा व्यवसाय गर्ने मानिस भनेर उल्लेख गरिएको छ ।

उद्यम भनेको तुरुन्त इनपुट दिएर आउटपुट आउने होइन । विभिन्न माध्यमबाट अनुसन्धान गरेर लगानी लगाएर, फाइदा हुन धेरै पर्खनुपर्छ । राम्रोसँग गर्ने हो भने लगानी गरेको छोटो समयमा नै प्रतिफल पाउन सकिन्छ । उद्यम र व्यापार भन्ने कुरा धेरै फरक छ । कुनै पनि वस्तु खरिद गर्नु, र खरिद गरेको वस्तुलाई केही नाफा राखेर बेच्नुलाई व्यापार भनिन्छ । यस्तै विभिन्न किसिमका कच्चापदार्थ किनेर प्रशोधन गर्ने र त्यसबाट नयाँ ‘प्रडक्ट’ बनाएर बजारमा अथवा ग्राहकसँग बेच्ने अवस्थामा पु¥याउनु उद्योग हो ।

उद्यम गर्ने भनेको ठुला–ठुला उद्योग र कलकारखाना मात्र होइन र हामीले जीवीको आर्जनका लागि गरिने व्यापार, सेवा, उद्योग, व्यवसाय सबै उद्यम हुन । उद्यम गर्ने व्यक्तिसँग कुशलता, सृजनशीलता, नवप्रवर्तन र जोखिम वहन गर्ने क्षमता हुनुपर्छ ।

सन् २०१९ को अन्त्यबाट सुरु भएको कोभिड १९ ले विश्वमा बृहआयमिक प्रभाव परेको छ । विश्व अर्थतन्त्र सङ्कुचनमा गएको छ भने जनजीवन अन्त्यतै कष्टकर बनेको छ । कोभिडबाट सङ्क्रमित हुने जीवन गुमाउनेहरूको सङ्ख्या निरन्तर बढिरहेको छ ।

विश्वमा कोरोना पछि अर्थतन्त्र असर पु¥याइरहेको अवस्थामा नेपालमा धेरैभन्दा धेरै उद्यम गर्ने मानिसहरूको आवश्यकता छ । देशमा उद्यमको विकास हुने हो भने रोजगारी सृजना हुन्छ । प्रत्येक व्यक्तिको आय स्तर बढाउँछ । विभिन्न किसिमका उद्योगहरू सञ्चालन हुँदा उद्यमबाट कर उठाउने हुँदा राज्यको आम्दानीमा पनि वृद्धि हुन्छ ।

नेपालमा उत्पादन हुने कुराहरूको अन्य देशमा नियति बढाउने सम्भावना बढ्छ । आयात घट्छ, राज्यको व्यापार बढ्छ । व्यक्ति–व्यक्तिमा सीप र दक्षताको विकास हुन्छ । मौलिक रैथाने वस्तुहरूको प्रवर्धन हुनुसक्छ । नयाँ–नयाँ खोज अनुसन्धान गरेर विज्ञान र प्रविधिसँग जोडेर पनि देशमा उद्यमको विकास गर्न सकिन्छ ।

उद्यमशीलता नयाँ व्यवसाय सिर्जना गर्ने पक्रिया हो । नयाँ किसिमको नयाँ–नयाँ व्यवसायको सिर्जना, मेहनत, व्यवसायलाई आवश्यक समय, जोखिम बहन, उच्च उपलब्धिको चाहना, सृजनशीलता तथा नवप्रवर्तन र पुरस्कारकारुपमा नाफाको अपेक्षा आदि कुरा उद्यमीका महत्त्वपूर्ण विशेषता हुन् ।

राष्ट्रको विकास आर्थिक विकासमा निर्भर हुन्छ र आर्थिक विकास उद्यमशीलतामा निर्भर रहन्छ । उद्यमशीलताले देशमा बेरोजगारी युवाहरूको सहयोग भएर रोजगारी सिर्जना गर्छ । जलस्रोत खनिज, प्राकृतिक तथा कृषि उपजको अधिकारमा सहयोग गर्छ ।

नेपालमा रहेका रैथाने कला, परम्परा, रीतिरिवाज, विद्या, शिल्प सीप आयुर्वेद, योग, कृषि, उद्योग आदिको संरक्षण, संवर्द्धन,अन्वेषण, अनुसन्धान, विकास र प्रवर्धन गरेर पनि देशको विकास गर्नु सकिन्छ । अनुसन्धान –शोध) आविष्कार, नवाचार र नैतिकतालाई नेपाली मानव संसाधनको प्रमुख विशेषताकारुपमा विकास गर्नको लागि सबै एकजुट हुनु आवश्यक छ ।

ज्ञान परम्परा, खेलकुद, सङिगत, गायन, नाट्य, चित्रकला, मूर्तिकला कथानक चलचित्र, वृत्तचित्र, विज्ञान र प्रविधि, अन्य तह, स्वास्थ्य, जलस्रोत, वातावरण, उद्योग, पूर्वाधार तथा मानव विकास आदि क्षेत्रहरूको सर्वाङ्गीण एवं समष्टिकृत विकासमा लागी मौलिक पद्धति, विधि एवं योजनासहित कार्य गर्नु सक्नुपर्छ । जल, जमिन र जङ्गलको मौलिक सभ्यतागत एवं स्थिति गत्यात्मक विधिबाट सदुपयोग पनि गर्न सक्नुपर्छ ।

विश्वका विकसित देशहरूले उद्यमशीलतालाई महत्त्वपूर्ण स्थान दिएका कारण आजको स्थितिमा पुगेका हुन् । उद्यमीहरूको उद्यमशीलता र लगनशीलताले गर्दा नै आज विश्वका धनी राष्ट्रहरूको अर्थतन्त्रमा बृहत्तर विकास सम्भव भएको छ ।

युवाहरू उद्यम गर्न किन मन पराउँदैनन् ? नेपालमा उद्यममीहरुको अभाव भएको नै हो ? यो प्रश्न ज्यादै जटिल र अर्थपूर्ण छ । सरकारले उद्यमीहरू उत्पादन गर्ने किसिमको शिक्षा नीति ल्याउन सकेको छैन र पर्याप्त गृह कार्य पनि गर्न सकेको छैन । हाम्रो शिक्षा नीतिले विषयवस्तुको ज्ञान दिन्छ । तर त्यो ज्ञानलाई व्यावहारिक किसिमले प्रयोग गरेर स्वरोजगारता सिर्जना गर्ने किसिमको सोच, आँट र सीप दिन सकेको छैन । यस्ता समस्याका बाबजुद हामी युवाहरूले अब सकारात्मक रूपमा अगाडि बढ्नु सक्नुपर्छ । केही पाउन केही गुमाउनु पर्छ भनेजस्तै अब युवा जाग्नु पर्छ, उठ्नु पर्छ । थोपा–थोपा मिलेर समुन्द्र बने जस्तै आफूले सिकेको जानेको कुराहरू सानो क्षेत्र भए पनि काम गर्नुसक्नु पर्छ ।

अमेरिकी एवं युरोपेली समाजले युवाहरूलाई सानै उमेरदेखि उद्यमी हुन उत्प्रेरित गरेको पाइन्छ । सानै उमेरमा उद्यम र उद्यमी बनेका थुप्रै उदाहरण पढेका छाँै । स्विडेनमा रहेर संसारभरि नै फैलिएको संसारकै सर्वाधिक ठूलो खुद्रा फर्निचर भण्डारमा संस्थापक इन्गाभार काम्प्राडले सन् १९४३ मा खुद्रा भण्डारको स्थापना गर्दा उनको उमेर १७ वर्ष थियो । माइक्रोसफ्टका संस्थापक बिल गेट्स केवल १५ वर्षको हुँदा उनले सानोतिनो किसिमको व्यापार गर्न आरम्भ गरिसकेका थिए । बिल गेट्सले २३ वर्षको उमेरमा नै माइक्रोसफ्टको प्रमुख भएर पनि लखपति भइसकेका थिए । फरबरी ४, २००४ मा स्थापना भएको फेसबुकका आविष्कारकर्ता मार्क जुकरवर्गको (जन्म १९८४)उमेर अहिले ३६ वर्ष छ । यो अवस्थामा नै उनले नाम र दाम दुवै कमाइसकेका छन् । साथै संसारलाई एउटा नितान्त नौलो प्रविधि दिन सफल पनि भएका छन् ।

त्यसैगरि लैरी पेजको, जसले सर्जी ब्रिनसँग मिलेर गुगलको स्थापना गरेका थिए । उमेर (जन्म १९७३) अहिले ४७ वर्ष छ । जसले प्रविधिको क्षेत्रमा नयाँ–नयाँ स्वाद दिइरहेका छन् । संसारको नै सर्वाधिक ठूलो अनलाइन खुद्रा बिक्री भण्डारण अमेजनका संस्थापक जेफ बेजोसको उमेर (जन्म १९६४) अहिले ५६ वर्षको छ । यस्ता धेरै उदाहरण दिन सकिन्छ ।

नेपालका पनि सरकारको तर्फबाट नभए पनि निजी क्षेत्रबाट धेरै युवाहरू काम सुरु गरेको पाइन्छ । विज्ञान र प्रविधि क्षेत्रमा होस् या कृषि क्षेत्र लगायतमा अहिले काम सुरु गरिरहेका छन् । ती युवाहरूलाई काम गर्ने वातावरण सहज बनाउनुमा नेपाल सरकारले पहल गर्नु आवश्यक छ । सरकारले पनि स्टार्टअप गर्नेहरूको लागि पुँजीगत लाभकार नलिने, उद्यमीहरूलाई निश्चित अवधिसम्म कर छुट दिने कार्यक्रमहरू गर्नुपर्छ । साथै इन्क्युबेशन सेन्टर सञ्चालन गरेर पनि उद्यमशीलतालाई अगाडि बढाउनु आवश्यक देखिन्छ ।

उद्यमीहरूसँग उद्यमशील, ज्ञान, सीप र सकारात्मक सोच, धैर्यता र लगनशीलताको पनि आवश्यक छ । साना तिना कमी कमजोरीबाट पाठ सिक्दै, निराश नभएर मेहनत र निरन्तरता दिन सक्नुपर्छ ।

काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक डा. निर्मलमणि अधिकारी भन्नुहुन्छ,‘विकास भनेको प्रकृतिसँग तादात्म्य राख्ने, पर्यावरण मैत्री, पारिस्थितिक प्रणाली सापेक्ष विकासको पक्षमा विकास हुनुपर्छ । डा. अधिकारी थप लेख्नुहुन्छ, ‘विकास के हो ?, कस्तो हो ?, कसरी गर्ने हो ? र कसका लागि हो ? भन्ने कुरा देश, काल, परिस्थिति, सिद्धान्त, वाद, मताग्रह आदिसँग सम्बद्ध जटिल अवधारणामा आधारित छ ।’ तसर्थ नेपालको वा कुनै अन्य देशको परिप्रेक्ष्यमा विकास गर्न, विकास गर्ने भनेर मात्र पुग्दैन । विकास स्थितिगत्यात्मक परिघटना हो । हामीले नेपालको परिप्रेक्ष्यमा विकासको चिन्तन पर्याप्त गर्नु पर्छ, तब मात्र विकास गर्ने हाम्रा आकांक्षाहरुले स्पष्ट मार्गचित्र पाउनेछन् । के कस्ता योजना, परियोजना, भौतिक संरचना, लगानी नेपालको परिप्रेक्ष्यमा उपयुक्त, सान्दर्भिक, व्यवहार्य हुन भन्ने राम्ररी सोच विचारै नगरी पराइ प्रतिमानमा आधारित विकासे संकथनका होहोरिमा मच्चिने प्रवृत्ति अहिले हाबी देखिएको छ । नेपाल–केन्द्रित अनुसन्धान नगरी पराई प्रतिमानका मात्र आधारमा लागू गरिने विकासे परियोजनाका घातक असरहरू के के हुन सक्छन् ? भन्ने सोची, विचारी, परीक्षण गरी तब मात्र निष्कर्षमा पुग्नुपर्छ ।’

‘नेपालको धरातलीय यथार्थसँग मिल्दा योजना, परियोजना, भौतिक संरचना, लगानी मात्र हाम्रो लागि वाञ्छनीय हो’ उहाँ भन्नुहुन्छ ‘निकै ठूला आकारका (दैत्यकार राक्षसाकार) अति धेरै लगानी चाहिने, ठुलो परिमाणमा विस्थापन र डुबान समस्या हुने, नदीको हजारौँ हजारौँ वर्षदेखिको प्राकृतिक प्रस्वण प्रणालीलाई ध्वस्त पार्ने, अमानवीय (दानवीय,प्रकृति–भञ्छक, सृष्टि–द्धेषी) परियोजना नेपालको धरातलीय यथार्थ, नेपालीजनक हित, हाम्रो वास्तविक सुखको प्रतिकूल(विरुद्ध)हो । मानव संसाधनको विकासलाई नेपालको विकास प्राथमिकतामा राख्नु पर्छ । आधारभूत संरचनात्मक विकास पनि साथसाथै अधि बढाउनु पर्छ । मानव संसाधनको विकासमा शिक्षा, शीप, अनुसन्धान, आविष्कार, नवाचार र नैतिकता हाम्रा प्राथमिकता हुन् । प्रकृतिसँग तादात्म्य राख्ने, पर्यावरण एवं पारिस्थितिक प्रणाली सापेक्ष विकासको पक्षमा छौँ हामी ।’

व्यक्तिगत, साझेदारी, सहकारी तथा सामूहिक प्रयासबाट उद्यमशीलता वा व्यवसायको विकास गर्न सकिन्छ । स्थानीय स्तरमा उपलब्ध, स्रोत, साधन, पुँजी तथा प्रविधिको उपयोगको साथै सीपमूलक तालिम र वित्तीय पहुँच विकास गरी उद्यमशीलता विकास गर्न सकिन्छ । पर्यावरणीय सहित उद्यमशीलता पनि अबको आवश्यकता हो । मस्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी, हृदयमा इमानदारी भएर अबको युवाहरूले उद्यमशीलतामा लाग्नु पर्छ । अघि बढौँ यो युग हाम्रो हो ।

सोडारी प्रगतिवादी युवा समाज नेपालका अध्यक्ष हुन्

Tags :
प्रतिक्रिया दिनुहोस