युवा रोजगारीको अवस्था र सम्भावनाका क्षेत्रहरू « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

युवा रोजगारीको अवस्था र सम्भावनाका क्षेत्रहरू


४ मंसिर २०७७, बिहिबार


पृष्ठभूमि
युवा भन्नाले १६ देखि ४० वर्ष उमेर समूहको व्यक्तिलाई जनाउँछ । युवा विकासका अग्रदूत, परिवर्तनको संवाहक, देश निर्माणको प्रमुख स्रोत तथा राष्ट्रको धरोहर एवं अमूल्य सम्पत्ति हो । युवा आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनको कारक पनि हो । युवाको परिचालन, सहभागिता र नेतृत्व विकास विना कुनै पनि देशले विकासको अपेक्षित लक्ष्य हासिल गर्न सक्दैन । नेपालको कुल जनसङ्ख्याको ४०.३५ प्रतिशत युवाशक्ति रहेको छ । विश्व युवा विकास सूचकाङ्क, २०१६ अनुसार नेपाल ७७ औँ स्थानमा र रोजगारी तथा अवसरमा ६० औँ स्थान रहेको छ । रोजगार भनेको पेशालाई दर्साउँछ । रोजगारी भनेको आर्थिक गतिविधि हो, जस अन्तर्गत मानिसहरूले अरूका लागि काम गर्छन् र यसको सट्टामा पारिश्रमिक पाउँछन् । पारिश्रमिक तलब वा ज्यालाको रूपमा हुने गर्छ । रोजगारदाता सरकार, सरकारी उद्यम, गैर सरकारी सङ्घसंस्था वा कुनै पनि निजी सङ्गठन हुन सक्छ । रोजगारी स्थायी, अस्थायी, आंशिक वा आकस्मिक हुन सक्छ ।

रोजगारी सम्बन्धी कानुनी व्यवस्था
नेपालको संविधान, २०७२ को धारा ३३ मा रोजगारीको हक र धारा ३४ मा श्रम सम्बन्धी हकलाई मौलिक हकको रूपमा समेटिएको छ । त्यस्तै धारा ५१ (राज्यका नीतिहरू) को (झ) मा सबैले काम गर्न पाउने अवस्था सुनिश्चित गर्दै देशको मुख्य सामाजिक आर्थिक शक्तिको रूपमा रहेको श्रम शक्तिलाई दक्ष र व्यावसायिक बनाउने र स्वदेशमा नै रोजगारी अभिवृद्धि गर्ने, श्रमिकको आधारभूत अधिकार सुनिश्चित गर्दै सामाजिक सुरक्षा प्रत्याभूत गर्ने, श्रमिक र उद्यमी व्यवसायी बीच सुसम्बन्ध कायम गर्ने, वैदेशिक रोजगारीबाट आर्जन भएको पुँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने नीति अङ्गीकार गर्न सक्ने व्यवस्था रहेको छ । रोजगारीको हक सम्बन्धी ऐन, २०७५ मा बेरोजगार व्यक्तिलाई न्यूनतम एक सय दिनको रोजगारीको व्यवस्था गरिएको छ ।

रोजगारीको वर्तमान अवस्था
नेपालको बेरोजगारी दर ११.४ प्रतिशत रहेको छ भने पुरुषको र महिलाको बेरोजगारी दर क्रमशः १०.३ र १३.१ प्रतिशत रहेको छ । यसै गरी शहरमा ११.६ प्रतिशत र ग्रामीण क्षेत्रमा १०.९ प्रतिशत बेरोजगारी रहेको छ । नेपालको श्रमशक्तिमा सहभागिता दर ३८.५ प्रतिशत रहेको छ । यो दर शहरमा ४१.७ प्रतिशत र ग्रामीण क्षेत्रमा ३२.९ प्रतिशत रहेको छ । यसै गरी पुरुष र महिलाको श्रमशक्तिमा सहभागिता दर क्रमशः ५३.८ प्रतिशत र २६.३ प्रतिशत रहेको छ । रोजगारमा रहेको जनसङ्ख्यालाई प्रदेश अनुसार हेर्दा सबैभन्दा बढी ४३.८ प्रतिशत बाग्मती प्रदेशमा र सबैभन्दा कम २४.१ प्रतिशत सुदूरपश्चिम प्रदेशमा रहेको छ । बेरोजगारी दरलाई प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी प्रदेश नं. २ मा २०.१ प्रतिशत र सबैभन्दा कम बाग्मती प्रदेशमा ७ प्रतिशत मात्र रहेको छ । प्रदेश अनुसार श्रमशक्तिमा सहभागिता दर सबैभन्दा बढी बाग्मती प्रदेशमा ४७.१ प्रतिशत रहेको छ भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २७.३ प्रतिशत रहेको छ । नेपाल श्रम शक्ति सर्वेक्षण, २०७४ अनुसार ६२.२ प्रतिशत व्यक्तिहरू अनौपचारिक तथा असङ्गठित क्षेत्रमा दैनिक ज्यालादारी, मजदुरी तथा श्रमिकको रूपमा कामकाज गरी जीवन निर्वाह गर्ने गरेको देखिन्छ ।

कोभिड–१९ को सङ्क्रमणलाई नियन्त्रण गर्नका लागि विश्वका अधिकांश देशहरू लगायत नेपालले पनि बन्दाबन्दी गरेको अवस्था थियो । बन्दाबन्दीको अवस्था पछि कोभिड–१९ को सङ्क्रमण तथा असरलाई नियन्त्रण गर्न तथा सर्वसाधारणको जीउ ज्यानको रक्षा गर्न जिल्ला पिच्छे निषेधाज्ञा जारी गरिएको थियो र छ पनि । कोभिड–१९ को प्रभाव विश्व अर्थतन्त्र सँगसँगै नेपालको अर्थतन्त्रमा समेत परेको देखिन्छ । देशमा भएका उद्योगधन्दा, कलकारखाना, यातायात, पर्यटन, मनोरञ्जन, होटेल तथा रेष्टुरेन्ट, रियल स्टेट, कृषि, व्यापार, व्यवसाय, निर्माण कार्य (सार्वजनिक तथा निजी) आदि लगायत कैयौँ क्षेत्रहरू पूर्ण रूपमा बन्दाबन्दीको चपेटमा रहेको थियो । यी क्षेत्रहरूमा काम गर्ने श्रमिक मजदुरहरू रोजगारी विहीन भई बेरोजगारीको सङ्ख्या बढेको देखिन्छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब, विपन्न परिवारहरूको आम्दानीको मुख्य श्रोत नै उक्त क्षेत्रहरूमा दैनिक ज्यालादारी एवं मजदुरी गर्ने र निर्वाहमुखी कृषिबाट जीवन गुजारा चल्ने गरेको देखिन्छ । ती व्यक्तिहरू अहिले रोजगार विहीन भई रोजीरोटी गुमेको अवस्थामा छ । उनीहरूको जीवन कष्टकर हुँदै गएको छ भने भोकै बस्न बाध्य भएका छन् ।

कोभिड–१९ को प्रभावका कारण औद्योगिक उत्पादनमा भएको सङ्कुचनले गर्दा कार्य गर्ने समय (घण्टा) मा कमी आउनु, स्वरोजगारीबाट प्राप्त हुने आम्दानीमा ह्रास हुनु, बजारमा उपभोग्य वस्तुहरूको अभाव र अस्वाभाविक मूल्य वृद्धि हुनु, माग र आपूर्ति बिचको शृङ्खलामा भएको अवरोधका कारण रोजगारी र आम्दानीमा कमी आउनु, व्यापार घाटाबाट जोगिन रोजगारदाताहरुले रोजगारी कटौती गर्नुका कारण छोटो अवधिका कामदारहरूको जीवनयापन असहज हुनु तथा बजार अवरोधका कारण थोक तथा खुद्रा व्यापार व्यवसायमा आएको गिरावट, निर्माण क्षेत्रमा भएको अवरोध, औद्योगिक आयातमा कमी आदि क्षेत्रहरूमा प्रभाव पर्नुले पनि बेरोजगार हुनेको सङ्ख्यामा बढोत्तरी भएको देखिन्छ । आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा आएको अवरोधका कारण नेपालका होटेल, रेष्टुरेन्ट, माउन्टेन ट्रेकिङ, पर्वतारोहण लगायत पर्यटनसँग सम्बन्धित अन्य कैयौँ क्षेत्रहरूबाट रोजगारी गुमाउनेहरूको सङ्ख्यामा समेत उल्लेख्य वृद्धि भएको छ । कोभिड–१९ बाट पर्यटन क्षेत्रको रोजगारी सबैभन्दा बढी प्रभावित भएको देखिन्छ ।

युवा रोजगारीका चुनौती र समस्याहरू
श्रम तथा रोजगारीको हक कार्यान्वयन गर्नु, उत्पादनशील क्षेत्रमा रोजगारीका अवसर पहिचान र सृजना गर्नु, अनौपचारिक क्षेत्रको रोजगारीलाई औपचारिक क्षेत्रको दायरामा ल्याउनु, श्रम बजारको माग अनुरूप सीपयुक्त श्रम शक्तिको विकास गर्नु, बजारको माग अनुसारको जनशक्ति आपूर्ति गर्न नसक्नु, शिक्षालाई व्यावहारिक र रोजगारमूलक बनाई उद्यमशीलता विकास गर्नु, श्रमिक र रोजगारदाता बीच सुसम्बन्ध स्थापित गर्नु, श्रम निरीक्षण र नियमनलाई प्रभावकारी बनाउनु आदि युवा रोजगारीका मुख्य चुनौतीहरूको रहेको छ । श्रम, सीप र उत्पादनबीच तादम्यता कायम हुन नसक्नु, श्रमप्रतिको सम्मानको कमी हुनु, उद्यमशीलता विकास तथा स्वरोजगार प्रवर्द्धन र उत्पादनशील रोजगारीको सृजना पर्याप्त हुन नसक्नु (न्यून उत्पादकत्व, न्यून ज्याला र कमजोर कार्य अवस्था), वैदेशिक रोजगारीबाट प्राप्त सीप र पुँजीको न्यून परिचालन हुनु, श्रम बजार सूचना प्रणालीको विकास नहुनु आदि युवा रोजगारीका समस्याहरू रहेको देखिन्छ ।

दिगो रोजगारीका सम्भावना क्षेत्रहरू
नेपालमा प्रत्येक वर्ष करिब पाँच लाख थप श्रम शक्ति श्रम बजारमा प्रवेश गर्ने गर्दछन् । नयाँ श्रम शक्तिको लागि पर्याप्त रोजगारीका अवसर सृजना हुन नसकेका कारण श्रमको माग र आपूर्ति बीच ठुलो अन्तर रहेको देखिन्छ । आन्तरिक श्रम बजारको प्रशोधन क्षमता समेत न्यून हुँदा अतिरिक्त श्रम शक्ति वैदेशिक रोजगारीमा जान बाध्य हुने गरेका छन् । दिगो रूपमा बेरोजगारीको समस्या समाधान गर्न निम्न रोजगारीका मुख्य सम्भावना क्षेत्रहरूमा थप रोजगारीका अवसरहरू सिर्जना गर्नु पर्ने देखिन्छ ।

१. कृषि क्षेत्र
नेपालको कुल जनसङ्ख्याको ६०.४ प्रतिशत जनसङ्ख्या जीविकोपार्जन तथा रोजगारीको लागि कृषि पेशामा आश्रित रहेका छन् । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योग्यदान हरेक वर्ष घट्दै गएको अवस्था छ । कुल कृषि योग्य जमिन को २१ प्रतिशत (३० लाख ९१ हजार हेक्टर) मा खेती गरिएको छ भने ७ प्रतिशत (१० लाख ३० हजार हेक्टर) जमिन बाँझो नै रहेको अवस्थामा छ । कृषि क्षेत्र सबैभन्दा धेरै रोजगारी सृजना तथा प्रदान गर्ने क्षेत्र हुन् । नेपालमा रोजगारी पाएका प्रत्येक पाँच जना व्यक्ति मध्ये एक जना कृषिमा नै रोजगार रहेका छन् । बेरोजगार व्यक्तिहरूलाई भूमि बैङ्क मार्फत बाँझो रहेको खेती योग्य जमिनमा कृषि कार्यका लागि सहज पहुँच पुर्‍याई बाँझो रहेको जग्गामा व्यावसायिक खेती गर्न प्रोत्साहन गरी कृषिको आधुनिकीकरण, व्यवसायीकरण, विविधीकरण र औद्योगिकीकरण गरी कृषि उत्पादन, उत्पादकत्व तथा कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नु पर्दछ । बेरोजगार व्यक्तिहरूलाई कृषि सहकारी वा कृषक समूहको माध्यमबाट कृषि पकेट क्षेत्रहरूको विकास गरी कृषि पेशालाई सम्मानजनक, मर्यादित र प्रतिष्ठित बनाई कृषि क्षेत्रमा थप रोजगारीका अवसरहरू सृजना गरी कृषिमा आत्मनिर्भर हुनुको साथै राष्ट्रिय अर्थतन्त्रमा समेत सहयोग पुग्ने देखिन्छ ।

२. निर्माण क्षेत्र
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पश्चात् नेपालको संविधान, २०७२ जारी भए पछि तीनै तहको सरकारहरूको गठन भई देशको निर्माणको युगमा प्रवेश गरेको छ । निर्माण क्षेत्रमा १३.८ प्रतिशत व्यक्तिहरू रोजगारी प्राप्त गरेको देखिन्छ । देशभित्र राष्ट्रिय महत्त्वका योजनाहरू, ठूलठूला जलविद्युत आयोजनाहरू, रेलमार्ग, द्रुतमार्ग, एयरपोर्ट लगायत अन्य विभिन्न निजी तथा सार्वजनिक निर्माण कार्यहरूको साथसाथै तिनै तहका सरकारहरूबाट सञ्चालित अन्य विकास निर्माणका गतिविधिहरू तीव्र रूपमा भइरहेको देखिन्छ । निर्माण क्षेत्रमा दक्ष जनशक्तिको रूपमा काम गर्ने ईलेक्ट्रिसीयन, प्लम्बर, पेन्टर, कारपेन्टर, मैसन लगायत अन्य श्रमिक मजदुरहरू अधिकांश भारतीय वा तेस्रो मुलुकका रहेका छन् । यी क्षेत्रमा नेपाली श्रमिक मजदुरहरू अदक्ष कामदारको रूपमा काम गर्ने गर्दछन् । यस क्षेत्रमा रोजगारीका सम्भावनाहरू प्रशस्त रहेकोले बजारको मागको आधारमा थप दक्ष, सीपयुक्त जनशक्ति तयार गरी बजारमा दक्ष जनशक्तिको आपूर्ति गरी अन्य मुलुकका श्रमिक मजदुरहरूलाई विस्थापित गर्दै जानु पर्ने देखिन्छ ।

३. उद्योग तथा व्यवसाय क्षेत्र
उद्योग क्षेत्रमा १७.५ प्रतिशतले रोजगारी पाएको देखिन्छ । कुल राष्ट्रिय रोजगारीमा उद्योग क्षेत्रको योगदान ८.१ प्रतिशत रहेको छ । नेपालमा बढ्दै गएको युवा बेरोजगारीमा कमी ल्याउन कम्तीमा आउँदो एक दशकसम्म कृषि, वन, पर्यटनमा आधारित उद्योगधन्दा कलकारखाना तथा व्यापार व्यवसायको माध्यमबाट थप रोजगारी सृजना गर्न विशेष जोड दिनु पर्ने देखिन्छ । अदक्ष तथा सीप नभएका बेरोजगार युवाहरूलाई सीपमूलक तालिमको माध्यमबाट दक्ष एवं सीपयुक्त जनशक्ति तयार गरी उद्योग तथा कलकारखानाहरूमा आपूर्ति गरी औद्योगिक उत्पादनमा वृद्धि गर्नुको साथसाथै लघु, घरेलु तथा साना उद्योगहरूको माध्यमबाट स्वरोजगारी वा रोजगारी बढ्ने गरी निर्यातयोग्य वस्तुहरूको प्रतिस्पर्धात्मक क्षमता, विविधीकरण, उत्पादकत्व अभिवृद्धि गरी स्थानीय श्रम, सीप, स्रोत र साधनको अधिकतम परिचालन तथा उपयोग हुने गरी स्वदेशभित्रै थप रोजगारीका अवसरहरू सिर्जना गर्नु पर्ने देखिन्छ ।

४. उद्यमशीलता 
उद्यमशीलतालाई उत्पादनको महत्त्वपूर्ण साधनको रूपमा हेरिन्छ । स्थानीय स्तर देखि नै उत्पादन र उत्पादकत्व वृद्धि तथा रोजगारी सिर्जना गरी राष्ट्रिय अर्थतन्त्रलाई गतिशीलता प्रदान गर्न उद्यमी तथा उद्यमशीलताको विकास अपरिहार्य रहेको छ । कोरोना महामारीका कारण रोजगार विहीन भई बेरोजगारहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको देखिन्छ । बढ्दो बेरोजगारी समस्यालाई सम्बोधन गर्न तथा बेरोजगार युवाहरूलाई रोजगारीको सुनिश्चितता गर्न राज्यका तीनै तहका सरकारहरूले लागत साझेदारीमा स्वरोजगार हुन चाहने तथा रोजगारी गुमाउने बेरोजगार युवाहरूलाई लक्षित गरी स्थानीय स्तरमा उपलब्ध श्रम, श्रोत साधन, पुँजी र प्रविधिको उपलब्धताको आधारमा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत विभिन्न किसिमका सीपमूलक, रोजगारमूलक, व्यावसायिक तथा प्राविधिक तालिमहरूको माध्यमबाट दक्ष, सक्षम र उत्पादनशील जनशक्ति उत्पादन गर्ने तर्फ ध्यान दिनु पर्दछ । स्थानीय स्तरमा नै नयाँ नयाँ उद्यम व्यवसायको पहिचान तथा विकास र उत्पादन तथा उत्पादकत्व वृद्धि गरी रोजगारी सृजना गर्नु पर्ने देखिन्छ । उद्यम व्यवसाय गर्न चाहने युवाहरूलाई उत्पादनशील व्यावसायिक योजनाको आधारमा बिउँ पुँजीको रूपमा लागत साझेदारीमा अनुदान वा सहुलियत पूर्ण ऋण सुविधाको उपलब्धताको माध्यमबाट उद्यम तथा व्यवसायको विकास गरी थप रोजगारी वा स्वरोजगारका अवसर सृजना गर्नु पर्ने देखिन्छ ।

५. पर्यटन
पर्यटनमा प्रचुर सम्भावना भएको देश हो नेपाल । नेपालको पर्यटन क्षेत्र रोजगारीका मुख्य स्रोतहरू मध्येको पनि एक हो । सन् २०१८ मा कुल ५७३००० रोजगारी प्राप्त गरेका थिए, जुन कुल रोजगारीको ८ प्रतिशत हो । नेपालको प्राकृतिक, धार्मिक, मौलिक, पुरातात्त्विक एवं सांस्कृतिक सम्पदा, हिमाली मनोरम दृश्य, पर्वतारोहण, पदमार्ग, तराईका फाँटहरू, वन्य जन्तु, निकुञ्ज, जल सम्पदा आदि पर्यटनको मुख्य आधार क्षेत्र रहेको छ । यी सम्पदाहरूको संरक्षण, संवर्द्धन र विविधीकरण गरी नयाँ नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान, विकास, प्रवर्द्धन गर्दै पर्यटन क्षेत्रमा थप रोजगारी सिर्जना गर्नु पर्नेमा ध्यान दिनु जरुरी छ ।

निष्कर्ष
नेपालको संविधानले रोजगारी र श्रम सम्बन्धी हकलाई मौलिक हकको रूपमा समावेश गरेको छ । रोजगारीको तुलनामा युवा जनसङ्ख्याको अनुपात तीव्र रूपमा वृद्धि हुँदै गएको देखिन्छ । देशमा बढ्दै गरेको बेरोजगारी दर र सीमित रहेको रोजगारीको अवसर तथा विकल्पका कारण अधिकांश युवा श्रम शक्ति विदेशिन बाध्य हुने गरेको देखिन्छ । श्रम बजारको माग अनुरूपको दक्ष तथा सीपमूलक जनशक्तिको विकास गर्नु आजको मुख्य आवश्यकता रहेको छ । उत्पादनमूलक रोजगारी सृजना गरी मुलुकमा उपलब्ध युवा श्रम शक्तिको अधिकतम उपयोग गरी कृषि क्षेत्रमा विद्यमान रहेका अनुत्पादक अधिक श्रम शक्तिलाई उद्योग, व्यापार, पर्यटन, निर्माण जस्ता सेवा क्षेत्रहरूमा स्थानान्तरण गर्न सके अर्थतन्त्रको संरचनात्मक परिवर्तनमा समेत सहयोग पुग्ने देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस