यूएनएफपिए र बेलायत सरकारबाट तथ्याङ्क विभागलाई सूचना प्रविधि उपकरण हस्तान्तरण « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

यूएनएफपिए र बेलायत सरकारबाट तथ्याङ्क विभागलाई सूचना प्रविधि उपकरण हस्तान्तरण


प्रशासन संवाददाता

२६ कार्तिक २०७७, बुधबार


काठमाडौं । नयाँ संविधान र संघीय संरचनाअन्तर्गतको पहिलो जनगणनाका रुपमा आगामी वर्षको जेठ–असारमा हुन गइरहेको १२ औँ राष्ट्रिय जनगणनाको पूर्व तयारीमा जुटेको केन्द्रीय तथ्याङ्क विभागलाई संयुक्त राष्ट्रसङ्घीय जनसंख्या कोष(यूएनएफपिए)ले आज सूचना प्रविधि उपकरण हस्तान्तरण गरेको छ ।

कुल रु ७ करोड २० लाख बराबर मूल्यका ती उपकरणहरुमा पावर ब्याङ्क र आवश्यक सहायक सामग्रीसहित दुई हजार २५० वटा ट्याब्लेट, ३५ वटा ल्यापटप, ४७ वटा डेस्कटप कम्प्यूटर, पाँच वटा घुम्ती वर्कस्टेसन, एउटा सर्भर, हाइ रिजोल्यूशनका तीन वटा प्रिन्टर र आवश्यक सफ्टवेयर लाइसेन्स्हरु रहेका छन् ।

यी उपकरणहरुको खरिद यूएनएफपिएले बेलायत सरकार (यूके एड)को अनुदानमा गरेको हो । यस सहयोगले विभागलाई उच्च प्रविधिजन्य मापदण्ड अनुरुपको गणना तथ्याङ्क उत्पादन गर्न सक्षम बनाउने विश्वास यूएनएफपिएले गरेको छ ।

विश्वव्यापी कोभिड–१९ महामारीले गर्दा जनसङ्ख्यासम्बन्धी उच्च गुणस्तर र भरपर्दो तथ्याङ्कको महत्व बढ्न गएको छ र कसैलाई पनि पछाडि नछाडिने दृढ प्रतिबद्धताका साथ दिगो विकासका लक्ष्यहरु हासिल गर्ने नेपालको प्रयासका लागि पनि यो अत्यावश्यक मानिएको छ ।

केही खास गणना क्षेत्रमा ट्याब्लेटको प्रयोगसहित राष्ट्रिय जनगणना २०७८ मा नवीन प्रविधिको उपयोगले केन्द्रीय तथ्याङ्क विभागबाट सबैभन्दा तल्लो प्रशासनिक इकाईका आधारमा खण्डीकृत हुने गरी देशमा बसोबास गर्नेको सङ्ख्या कति छ र उनीहरुको स्वास्थ्य, कल्याण, समस्या तथा सम्भावनाहरु र आर्थिक तथा सामाजिक अवस्था लगायत उनीहरु के–कस्तो अवस्थामा बस्दै आएका छन् भन्ने बारेका विस्तृत विवरण सङ्कलन सुनिश्चित गर्न सघाउ पुग्ने यूएनएफपिएको विश्वास छ ।

‘सरकारको मार्गनिर्देशनअनुरुप हाम्रा कर्मचारी र उत्तरदाताहरुको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्दै सबैभन्दा तल्लो प्रशासनिक तहमा रहेको तथ्याङ्क अभावलाई सम्बोधन गर्ने गरी गणना गर्न हामी प्रतिबद्ध छौं’, केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले भने। विभागको पूर्वाधार र क्षमतालाई सुदृढ तुल्याउँदै तथ्याङ्क सङ्कलनको बहुविधि अवधारणामार्फत जनगणना कार्यसञ्चालनलाई आधुनिकीकरण गर्ने विभागको प्रयासलाई यी उपकरणले बल पुर्‍याउने विश्वास लिइएको छ ।

‘गणना तथ्याङ्कक पूर्वाधारको मूलभूत पक्ष हो, यसले देशको सङ्ख्यात्मक विवरण प्रदान गर्ने भएकाले जनता र सरकार दुवैका लागि यो बहुमूल्य हुन्छ’, नेपालका लागि यूुएनएफपिए प्रतिनिधि लुब्ना बाकीले भने – ‘गणना उच्चगुणस्तरको भएको, अन्तर्राष्ट्रिय मापदण्डलाई स्थापित गरेको र विकासका प्रतिफलहरुका लागि व्यापक रुपमा प्रचारप्रसार तथा उपयोग गरिने तथ्याङ्क उत्पादन भएको सुनिश्चित गर्न नेपाल सरकारलाई प्राविधिक तथा आर्थिक सहायता प्रदान गर्न पाउँदा यूएनएफपिए गौरवान्वित भएको छ ।’

नेपाललाई संयुक्त अधिराज्यले प्रदान गर्ने सहयोग भरपर्दो र सबैलाई समावेश गर्ने तथ्याङ्कमा आधारित हुनेतर्फ लक्ष्यित रहेको बताउँदै काठमाडौँस्थित बेलायती दूतावासकी विकास निर्देशक लिसा होनानले भने, ‘जनगणना तथ्याङ्क सङ्कलन तथा सङ्ग्रह गर्ने सबैभन्दा महत्वपूर्ण अवसर हो जसको आधारमा सरकारदेखि विकास साझेदार र समुदायमा आधारित सङ्घसंस्था सबैले आफ्नो सहयोगलाई सही ढङ्गबाट निर्देशित गर्न सक्छन् ।

त्यसबाट महिला, पुरुष, बालबालिका, गरिब, जोखिममा रहेका र अन्य समूहहरुलाई प्रदान गरिने सेवाहरुमा सुधार ल्याउन मद्दत पुग्नेछ । हाम्रा साझेदार यूएनएफपिए र केन्द्रीय तथ्याङ्क विभागमार्फत यसरी उपकरण तथा प्रविधि उपलब्ध गराउन संयुक्त अधिराज्य सक्षम भएकामा म खुशी छु,।’ राष्ट्रिय जनगणना २०७८ राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा रहेको राष्ट्रिय जनगणना सञ्चालक समितिको मार्गनिर्देशनमा विभागको नेतृत्वमा भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस