कन्ने जातको च्याउको बीउ उत्पादनमा वृद्धि « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

कन्ने जातको च्याउको बीउ उत्पादनमा वृद्धि


२४ कार्तिक २०७७, सोमबार


कञ्चनपुर । व्यावसायिक रुपमा च्याउ खेती गर्ने किसानको मागलाई ध्यानमा राख्दै बेदेकोट नगरपालिकाको सुन्दरपुरमा रहेको बाली संरक्षण प्रयोगशालाले कन्ने जातको (वस्टर) च्याउको बीउ उत्पादनमा जोड दिएको छ ।

अन्यत्रबाट बीउ ल्याएर च्याउ खेती गर्ने अवस्थाको अन्त्य गर्नका लागि प्रयोगशालाले यस वर्ष १० हजार पोका च्याउको बीउ उत्पादन गर्ने लक्ष्य लिएको छ ।

हालसम्म प्रयोगशालाले पाँच हजार पोका च्याउको बीउ उत्पादन गरेको छ । उत्पादन भएको बीउमध्ये ८०० जति पोका किसानलाई बिक्री गरेको छ । तयार गरिएको एक हजार पोका च्याउको बीउ समेत वितरण गर्ने तयारी गरिएको छ ।

प्रयोगशालाले उत्पादन गरेका २०० ग्रामको च्याउको बीउको पोकालाई रु ३२ मा बिक्री गरिरहेको छ । ‘खेती गर्ने किसान बढेपछि च्याउको बीउको माग धेरै आएको छ’ प्रयोगशालाका प्राविधिक प्रेमराज न्यौपानेले भने, ‘किसानको मागलाई मध्यनजर गर्दै बीउको गुणस्तर र उत्पादनलाई बढाएका छौँ ।’

प्राविधिकका अनुसार च्याउको बीउ बनाउने प्रक्रिया पूरा गर्न १० देखि १४ दिन लाग्ने गर्दछ । तयार गरेको बीउ २० दिनसम्म भण्डार गर्न सकिन्छ ।

प्रयोगशालाले २०५९ सालदेखि कन्ने जातको च्याउको बीउ तयार गरी किसानलाई उपलब्ध गराउँदै आएको छ । च्याउको बीउको माग सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट आएको छ ।

वातावरण अनुकुल बनाइएका प्लाष्टिकका टनेलमा बाह्रै महिना च्याउको उत्पादन हुन सक्दछ । पहिला चिसो मौसममा मात्रै च्याउको उत्पादन हुदै आएकामा हाल बाह्रै महिना च्याउको व्यावसायिक उत्पादन समेत हुन थालेपछि च्याउको बीउको माग अधिक आउन थालेको हो ।

च्याउबाट भिटामिन ‘ए’, रक्तचाप नियन्त्रण गर्ने तत्व सँगै क्याल्सियम प्रसस्त मात्रामा पाइने गर्दछ ।

Tags :
प्रतिक्रिया दिनुहोस