समयलाई नबुझ्दा ! « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

समयलाई नबुझ्दा !


१ कार्तिक २०७७, शनिबार


‘पहिले धोका पाए गजलकार बन्थे अहिलेकाले लोकसेवा पास गर्छन्’

हुने बिरुवाको चिल्लो पात भने जस्तै मध्यम परिवारमा जन्मिएका विपिन सापकोटा सानैदेखि नै मेहनती र इमानदार विद्यार्थीकोरूपमा चिनिन्छन् । आँखामा राख्दा पनि नबिझाउने, इष्टमित्रका उदाहरणीय व्यक्तित्व र समकालीन केटीका मुटुका ढुकढुकी उनको प्रतिभा र लगाव पढाइमा मात्र हैन सामान्य ज्ञान, साहित्य, गायन, खेलकुदमा पनि उस्तै छ ।

सबैले उच्चतम पदमा पुग्ने केटोको अनुमान लगाएका थिए । उनीसँग पारिवारिक सम्बन्ध जोड्न छिमेकी, बाबु आमाका साथी, सहपाठी र सहकर्मीको प्रतिस्पर्धा चल्थ्यो । यो कुनै कुराको प्रवाह नगरी सादा जीवन उच्च विचारका साथ जीवन बिताइरहे । जीवनको सङ्घर्षको मैदानमा २६ औँ वसन्त पार गर्दासम्म प्रतिस्पर्धामा अब्बल साबित हुँदै प्रथम श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरे भने न्याय सेवामा नायव सुब्बामा जागिर गरिरहेका छन् ।

दुर्भाग्यवश आफूँभन्दा कम अङ्क ल्याएका समावेशीबाट सिफारिस शाखा अधिकृत पदमा हुँदा दुई पटक वैकल्पिक हुँदा चिन्तित छन् तर प्रतिस्पर्धाबाट हरेस खाएका छैनन् ।

जिन्दगी सोचे जस्तै रैनछ भने जस्तै पहिले शाखा अधिकृत भएर शाखा अधिकृतसँग मात्र वैवाहिक सम्बन्ध गाँस्ने कसम खाएका विपिन लगातार दुई पटकको वैकल्पिकबाट चित्त बुझाउनुको पीडा, घरपरिवार र समाजको निरन्तर दबाबपछि सरकारी सेवामा प्रवेश गरेको स्नातक तह पास गरेर स्नातकोत्तर अध्ययन गर्दै अधिकृत बन्ने क्षमताको केटी पाए आफूसँगे अधिकृत तयारी गराउने र बिहे गर्ने निष्कर्षमा पुग्छन् ।

एक दिन उनले फेसबुक च्याट लिस्टमा बिपना बास्कोटाको नाममा निलो बत्ती बलेको देख्छन् । प्रोफाइल खोलेर हेर्दा प्रशासन सेवा नायव सुब्बा पदमा काम गरेको पाउँछन् र उनले देखेको सपना जस्तै पद्मकन्या कलेजमा स्नातकोत्तर गरिरहेकी विपनालाई देखेपछि उनको दिलमा घण्टी बज्छ । उनी मनमनै विपनालाई श्रीमती बनाउने र सँगै अधिकृत बन्ने योजना बुन्न थाल्छन् ।

पूर्व तयारी बिना परीक्षा दिँदा फेल भइने कुरामा विश्वस्त विपिनले पूर्ण तयारीका साथ अगाडि बढे सफल भइने विचारका साथ पूर्णतयारीका साथ उनको दिलमा आक्रमण गरेमा मात्र विजयी भइने अभिलाषाका साथ अघि बढ्छन् । यसको लागि उनका घनिष्ठ साथी रश्मिबाट सम्पूर्ण विवरण लिएर बोल्न थाल्छन् । सुरुमा हेलो भन्दा विपना अपरिचित जस्तो गर्छिन् तर विपिनले वर्षौँदेखिको परिचित जस्तो गर्दा छक्क पर्छिन् र चिन्नको लागि मात्र बोल्छिन् । उनको बानी ब्यहोरा सब बुझिसकेकोले सोही बमोजिम बोल्छन् भने विपनाले पनि राम्रो मेहनती मान्छे जस्तो लागेर साथ दिएकी छिन् भने म्युचुअल फ्रेण्डलाई सोध्दा उनको बारे कसैले नराम्रो नभन्दा मजाले कुनै बेला काम लाग्ने मान्छे सोची निर्धक्कले बोलेकी छिन् ।

कुरा हुने क्रममा विपिनले जिस्काउँदै भन्छ ‘मैले एउटा कुरा सुनेको यो वर्षमा तिम्रो बिहे हुन लाको हो र ? ब्वायफ्रेण्ड छ कि घरबाटै ?’
विपना–‘कसले हल्ला फिँजायो’
विपिन –‘हावा नचली पात हल्लिँदैन ।’
विपना – ‘छैन केटा पाए गर्ने, कोही भए भन्नुस् न ।’

अनि विपिन ब्वायफ्रेण्ड नभएको कुरामा ढुक्क हुन्छ । आफूलाई घुमाउरो तरिकाले बलियो उम्मेदवार साबित गर्न चाहन्छ । केटीले केटाको बारेमा थाहा पाएकी हुँदैन के गर्दै हो ? सोध्दा जिस्कने क्रममा तिम्रो दिलको कारागारमा काम गर्छु भन्छ। ‘कस्तो केटा पाए गर्छौ ?’ सोध्छ ‘अधिकृत पाए गर्ने भन्छे ।’ केटाले सुब्बा भए हुँदैन सोध्दा ‘नाइँ हुन्न’ । म त्यो पदमा छदै छु, ‘केटी भन्दा केटा अलिकति बढी हुनु परेन’ त भन्छे ।

अनि विपिन भन्छ ‘आजकलका केटी आफू भन्दा उच्च पद खोज्छन् र त हेपिएका छन्, समान स्तर भए कहाँ हेप्छन्, आफूभन्दा अग्लो केटा खोज्छौ र बराबरीका कुरा गर्छौ, आफूभन्दा उच्चतम पदको केटा हेरेर बराबरीका कुरा गर्छौ बराबरी कुरा गर्न बराबरी हुनुपरेन त ।’

मनमनै केटाले आफूलाई अयोग्य ठान्छ र आफ्नो परिचय लुकाएर भन्छ ‘सुब्बामा जागिर खाको अधिकृत वैकल्पिक भए गर्छौ त ? आखिर वैकल्पिक अर्को साल पाउने सम्भावना हुन्छ ।’

बिपना हाहाहा गर्छे र भन्छे ‘उधारो ।’
विपिन भन्छ ‘प्रतीक्षाको फल मीठो हुन्छ ।’
यस्तैमा जिस्काउँदै विपिन भन्छ ‘हाम्रो जोडी पनि भगवानले जुराएको होकि के हो कुरा मात्र मिल्छन् भनेको त नाम र थर पनि कस्तो उस्तै उस्तै मिलेको है म विपिन तिमी बिपना थर पनि कस्तो सापकोटा र बास्कोटा । बिपना बास्कोटा भन्दा त सापकोटा कस्तो सुहाउने एक चोटि नागरिकतामा नमिले पनि फेसबुकमा नाम परिवर्तन गरेर हेर त ।’

बिपना हाँस्छे ।

दैनिक कुरा गर्दै जाँदा कार्यालयको कुनै काममा समस्या होस् वा घरायसी विपनाले विपिनलाई सम्झन्छे । विपिनले जाने बुझेसम्म समस्या सुल्झाउने प्रयास गर्दछ । सल्लाह गरेर अधिकृतको तयारी गर्दछन् । सबै कुरामा एकले अर्काको परिपूरक सम्झिएका छन् । एकको अभावमा अर्कोलाई अपूर्ण घोषित गर्छन् । एकले अर्काको साथ पाए जीवनमा निकै उन्नति गरेका हुने परिकल्पना गर्दछन् भने उनका साथीले निकै मिलेको सम्बन्ध सोच्दछन् । दुःख सुखका कुरा गर्छन् । परिवारको भविष्यको योजना बुन्छन् । दुवैलाई एक अर्का साह्रै राम्रो लाग्न थालिसकेको छ । दुवै घनिष्ठ भएर एक अर्कासँग छुट्नै नसक्ने भएपछि बिपनाले घरमा कुरा गर्छे ।

घरमा कुरा गरेपछि बिपनाको परिवार इष्टमित्रले विपिनको बारेमा बुझ्न प्रयास गर्दछन् । सबैको सल्लाह अनुसार बिपनाका बाबु छोरीको बिहे विपिनसँग गराइदिने मनस्थितिमा पुगेका हुन्छन् तर कुन्नि कारण के हो ? बिपनाका दाजुलाई सरकारी जागिरे केटो फिटिक्कै मन पर्दैन । उनीहरूको सम्बन्ध रोक्न अनेक ताना बुना बन्छन् र बुबासँग केटाबारे गलत हल्ला फिजाउँछन् । बहिनीलाई भन्छन् धेरै कुरा बुझ्नुपर्छ । त्यो नाथे सुब्बा अझ न्यायको जसको १ महिनाको तलबले एउटा मोबाइल र वर्षको तलबले मोटरसाइकल किन्न सकिँदैन त्योसँग आज सम्बन्ध जोडेर कूलकै बेइज्जत हुन्छ । घर पनि पर्वतको गाउँमा । त्यसले परिवार तेरा इच्छा कसरी पूर्ति गर्न सक्छ ? जसलाई आफू बाँच्न गाह्रो छ । तैँले दुःख पाउछेस् रोएरै जिन्दगी बिताउनुपर्छ । करमा घर भन्छन् अनि भन्सारमा संसार त्यताको भए केही सोच्न सकिन्थ्यो । बरु मैले अमेरिकन ग्रिनकार्ड होल्डर खोजिदिएको छु । त्यो सँग गरे विलासी जीवन विताउँछेस् । हिरा छोडी किराको पछि नलाग् । विपना केही बोल्दिन विपिन भन्दा त दाइ प्यारो हुन् । दुःख पाउने ठाउँमा किन हात हाल्नु विपिनसँग अब सहमतिमा छुट्टिन्छु । सबै कुरा सविस्तार विपिनसँग गर्छे ।

कुरा सुन्ने बित्तिकै विपिन छाँगाबाट खसेजस्तै हुन्छ । सम्झाउँदै भन्छ ‘तिम्रो जीवन कस्तो बनाउने आफ्नो हातमा छ । तिमी निजामती कर्मचारी भएर तिम्रो र परिवारको यस्तो अवधारणा बनाए अरूले के बनाउलान् ? करमा घर भन्सार संसार भन्ने कुरा सबै सत्य हैन । नेपालमा इमानदार कर्मचारीको कमी छैन । देशका लागि केही गरौँ भन्नेले हो सरकारी सेवामा प्रवेश गर्ने । नत्र कमाउने हो भने व्यापार गरे भैगो नि । एउटा उखान छ ‘लोभले लाभ लाभले विलाप’ त्यसो होला विचार गर । अवैध ढङ्गले रु १ पनि लिन्न तिमी र तिम्रो परिवार जेसुकै सोचोस् । तिमी पनि पढ्दै रोजगार गर्दै छौ यसलाई निरन्तरता देऊ । बरु मलाई नराम्रो लागेको हो भनेर मलाई त्याग तर आफ्नो शैक्षिक योग्यता र यति दुःखले पाको सरकारी जागिर छोडी जुठा भाडा माझ्न अमेरिका नजाऊ । अमेरिकाको दोस्रो दर्जा नागरिक भन्दा जन्मभूमि प्यारो हो । आफ्नो सीप योग्यतालाई भुलेर विदेशमा गएर परालम्बी बन्ने हैन । तिमीले बरु महिला सशक्तीकरणमा योगदान दिन सक्छौ ।’

विपिन अगाडी भन्छ–‘यो सेवा त्याग्ने भन्दा मेहनत गर्दै पहिलो महिला मुख्य सचिव बन्ने सङ्कल्प गरी अघि बढ । यसमा मेरो पूर्ण समर्थन र सहयोग रहने छ । तिमी र मैले मेहनत गरेमा सुखी परिवार बनाउन सक्छौँ । थोपा थोपा साँचेर समुन्द्र बन्छ तिमी र म एकजुट भए जे पनि असम्भव पुरा हुन्छ । तिमीले बताउन नसकेर होला मसँग गए दुःख पाउँछे सोचेको बिस्तारै पक्कै बुझ्नुहुनेछ । फेरी नबुझे पनि कानुन बमोजिम मसँग सम्बन्ध जोड्न सक्षम छौ । न्याय सेवामा भएकोले कानुनी प्रक्रियामा सहजीकरण गरुँला । जीवनसाथी रोज्ने अधिकार मानव अधिकार हो । कसैले रोक्न सक्तैन । तिमी मसँग आयौ भने मेरो परिवारले महिलाप्रति गर्ने सम्मान तिमीलाई गरेको माया अनि हाम्रो प्रगतिले प्रफुल्लित हुनुहुनेछ । तर लहैलहैमा लागेर दाजुले भने जस्तो गरेमा तिमी र तिम्रो परिवारलाई पश्चात्ताप बाहेक केही हुन्न र मलाई पनि गुमाउने छौ ।’

यो सुनेपछि विपिनलाई बिपना रिसाउँदै भन्छे –‘तेरो खोक्रो आदर्श सुन्नु छैन । तँ पर्वते पाखेले के सोच्छस् । तँ अमेरिकामा आउने पैसा त के कमाउलास् म एक चोटि घुमाइदिउँला । मेरो नेपालको घरको के काम भो र भाडामा बस्लास् म पैसा लिन्न’ भनेर बचनका प्रहार गर्छे ।

विपिनले हाँस्दै भन्छ–‘भीरबाट खस्ने गाइलाई रामराम भन्न सकिन्छ तर काँध थाप्न सकिन्न। तिम्रा प्रश्नको जवाफ समयले दिनेछ। पहिले धोका पाए गजलकार बन्थे अहिलेकाले लोकसेवा पास गर्छन् ।’

यस्तै कुरामा झगडा परेर दुवै छुटिन्छन् । अब विपिन पढाइमा व्यस्त हुन्छ र मनमनै सोच्छ कुकुरलाई घिउ पच्दैन ।

केही दिनमा बिपनाको अङ्कल उमेरको अमेरिकी ग्रिनकार्ड होल्डर रमेशसँग धूमधाम बिहे हुन्छ । बिपना र उसको परिवारको घमण्डले सीमा नाघ्छ । अमेरिका जाने प्रक्रिया अगाडि बढाउँछे तर राजदूतावासले भिसा रोकिन्छ कारण के हुन्छ भने रमेशले सुरुमा डेपेन्डेन्टमा अमेरिका जाँदा कवितासँग कागजी बिहे भइसकेको हुन्छ । बिपनाले अब जे भो भयो नेपालमै केही गर्छु सोचेकी हुन्छे तर घरमा केही गर्ने वातावरण हुन्न । सासूले नोकरभन्दा बढी काम लगाउँछिन् । अफिसको काममा पीडा छँदै छ । घरको काममा नन्द सासूको सहयोगको अपेक्षा तुषारापात हुन्छ । नौ महिनापछि उनको पेटबाट शल्यक्रियाबाट छोरी जन्मिन्छे ।

घरपरिवारबाट कुनै सहयोग अपेक्षा गरिनु त परै जाओस् छोरी जन्मेको निहुँमा परिवारले टोकसी रहन्छन् । आफ्नो वृत्ति विकासका अवसर मरिसकेका छन् । आफ्ना दाजुले विपिनसँग दुःख पाउछेस् भनेको सम्झिन्छिन् र अहिले पाएको दुःखको कुरा गर्छिन् । दाजुलाई पश्चात्ताप गर्नु र बहिनीसँग माफी माग्नुको विकल्प हुँदैन ।

उता श्रीमान् भनाउँदा अमेरिकामै अर्की केटीसँग मस्ती गरिरहेका हुन्छन् । विपिनलाई माफी माग्न र उनले कुनै समाधानका उपाय दिन्थे कि भनेर सम्पर्क गर्दा उनीले धोकेबाज भनेर बोल्न चाहँदैनन । एक दिन उसले आफ्नो समस्या मिल्ने साथी रश्मिसँग गर्छे । महिला हुनु त निकै पीडा रहेछ भन्दा रश्मि भन्छे ‘मैले भनेकै थिए विपिन जस्तो राम्रो मान्छे पाउने तिम्रो भाग्य हो नछोड तर मानिनौ आफ्नो खुट्टामा बन्चरो हान्नेलाई के भनौँ । किन रोइस् मङ्गले आफ्नै ढङ्गले । तिमी आत्मनिर्भर हुँदा हुँदै क्षणिकलाई सम्झेर नेपाललाई लात मारेर अमेरिका जाने प्रयास गर्नुहुँदैनथ्यो ।’

एक चोटि श्रीमान् नेपाल आएको बेलामा असार महिनामा अफिसमा कामको चाप बढी हुन्छ, थुप्रै योजना सम्पन्न गर्नुपर्ने हुन्छ घरको समस्या भन्दै बिदा माग्छिन् । त्यो दिन बेलुका ७ बजेसम्म काम गर्नुपर्ने हुन्छ । तर हाकिमले बिदा स्वीकृत गर्दैनन् । अफिसबाट फर्किँदा आफ्नो साधन नभएर सहकर्मीको बाइकमा फर्किरहेकी हुन्छिन् त्यसै बेला रेस्टुरेन्टमा रक्सी खाइरहेका उनका श्रीमानले देख्छन् र घर पुग्नवित्तिकै नाना थरी आरोप लगाएर श्रीमती माथि रक्सीले मात्तिएर एसिड आक्रमण गरेका हुन्छन् । यो घटना घट्दा बिहे भएको १० वर्ष बितिसकेको हुन्छ ।

एसिड आक्रमणपछि सरकारी वकिल कार्यालयले जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गर्छ इजलासमा तोकिएको छ जिल्ला न्यायाधीश विपिन सापकोटा ।

Tags :
प्रतिक्रिया दिनुहोस