सहसचिव डा. भुसालको ‘कोको पहाडमा भोको यात्री’ सार्वजनिक « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सहसचिव डा. भुसालको ‘कोको पहाडमा भोको यात्री’ सार्वजनिक


२४ आश्विन २०७७, शनिबार


काठमाडौँ । नेपाल सरकारका सहसचिव डा. भीष्म कुमार भूसालको यात्रा संस्मरण ‘कोको पहाडमा भोको यात्री’ सार्वजनिक भएको छ ।

साहित्य सुधाद्वारा आयोजित अनलाइन विमोचन कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगा प्रसाद उप्रेती, प्राध्यापक डा. लक्ष्मण गौतम, गोरखापत्रका पूर्व प्रधान सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’ र साहित्यकार ज्ञानु अधिकारीले संयुक्तरुपमा डा. भुसालको यात्रा संस्मरण कृति सार्वजनिक गरेका छन् ।

विमोचन मन्तव्यका क्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेतीले भूसालको नवीनतम कृति रोचक रहेको बताए ।

डा. भुसालको संस्मरणमा यात्रा विवरण र निजी अनुभूतिका संस्मरणहरूको राम्रो मेल भएको उल्लेख गर्दै कुलपति उप्रेतीले घुमेका ठाउँको भूगोल र संस्कृतिको तुलनात्मक अध्ययन भएकोले कृति नियात्रा उन्मुख रहेको बताए ।

‘निबन्धमा प्रयोग गरेका गद्य एकदमै लचकदार र गहन छ जसले पाठकको मन खिचेको छ । पढ्न थालेपछि पाठकलाई अब के हुन्छ भन्ने खुल्दुली भइरहन्छ’ कुलपति उप्रेतीले भने ‘अभिव्यक्तिको स्वभाविकता, भाषासँग खेल्न सक्ने क्षमता र विषयवस्तुको विवरणलाई छानेर रोचक प्रस्तुतिले राम्रो नियात्राकार हुने सम्भावना छ ।’

करियर बनाउने क्रममा भोगेका भुक्तमानका संस्मरण, जागिरे जीवनका अनुभव र अतिरिक्त अध्ययनका क्रममा जापान र सेमिनारका क्रममा युरोप तथा चीन जाँदाका अनुभवहरू संस्मरण र यात्राको अनौठो मेल भएकोले पठनीय कृति रहेको उप्रेतीको भनाई छ । अझ सेमिनारको लागि विदेश जानेहरूका लागि यो कृति थप शिक्षाप्रद रहेको उनको भनाई थियो।

प्रशासन क्षेत्रका अनुभवले कृतिको गरीमा अझ बढाएको बताउँदै उनले कर्मचारी प्रशासनमा प्रशासनिक जीवनका अनुभवहरूलाई संस्मरणका रूपमा व्यक्त गरेमा मात्रै नेपाली समाज, प्रशासन र राजनीति र रूपान्तरणको इतिहास लेख्नलाई सन्दर्भ सामाग्री हुनेछन् भने ।

कार्यक्रमका समीक्षक प्राध्यापक डा. लक्ष्मणप्रसाद गौतमले कृतिले यात्रामा पाठकलाई सँगसँगै घुमाउन र संस्मरणको मिठो अनुभूति दिलाउन सफल भएको उल्लेख गरे ।

‘नियात्राहरूमा लेखकको सफलता भनेको लेखकले पाठकलाई आफूसँगै डुलाउन सकेको छ कि छैन भन्ने महत्त्वपूर्ण रहन्छ, डा. गौतमले भने, ‘देश विदेश घुम्दाका बेला तत तत देशका भूगोल, सभ्यता, संस्कृतिका कुराहरू आँखैले देखेजस्तो अत्यन्तै विम्ब चित्र भएर आएका छन् । त्यसमाथि छोटा निबन्ध, बिम्बात्मक शीर्षक र काव्य शिल्पको प्रयोगले कृतिलाई थप गहकिलो बनाएको छ’

नेपाली साहित्यको नियात्राका क्षेत्रमा एउटा इँटा थप्ने काम भएको बताउँदै डा. गौतमले कृतिको एउटा कुराले आफूलाई छोएको उल्लेख गरे ।

‘२५ वर्षको जागिर गर्दाको समय, हिन्दै गरेको गोरेटो, सालको पातको खोच्री बनाएर पानी खाने गरेका कुवाहरू अहिले अस्तित्व मै नहोलान् तर जीवन कस्तो थियो थापा पाउन यसले पक्कै सघाउने छ’ भन्ने वाक्यले आफूलाई छोएको बताउँदै उनले भने ‘लेखकले भनेझैँ पहाडका गाउँ पाखा पखेराहरूमा यस किसिमका कुराहरू लगभग पाइँदैन । पहाडी यात्राका क्रममा यहाँले भने जस्तै सालका यस्ता ठाउँहरू डोजरे विकासले भत्काई दिएर त्यहाँ केही पनि छैन । त्यसले सँगालेको अतीतको अनुभूति यस सङ्ग्रहका नियात्राहरूमा पाउँछौँ । ’

छोटा छोटा निबन्ध, कौतूहल जगाउने शीर्षकहरू र भाषाको सुललित प्रवाहले पाठकलाई बाँधिराख्ने उनको तर्क थियो। गद्यको बिचमा आउने छोटो कविता निकै शक्तिशाली रहेको र लेखनमा नयाँ प्रयोग देखिएको भन्ने उनको भनाई थियो।

लेखक जुन जुन देशमा गएका छन् त्यस त्यस देशसँग सम्बद्ध यात्रा अनुभूतिहरू संग्रहित भएकोले पाठकलाई व्यवस्थित कृति अध्ययन गर्दै छु भन्ने लाग्ने भए पनि शब्द आफैले चित्र बोलिसकेको ठाउँमा तस्बिर राख्नु र ठाउँ ठाउँमा व्याकरणीय गल्ती हुनु किताबको कमजोरीमा लेखकले ध्यान दिन नसकेको भनेर उनले पुस्तकका कमजोरी औँल्याए।

समालोचक ज्ञानु अधिकारीले नेपालको दुःख, अभाव र गरिबीबाट सुरु गरेर युरोप, अमेरिकाको वैभवशाली सम्पन्न ठाउँमा पुर्‍याएको बताइन् । ‘हरेक ठाउँको सूक्ष्म अवलोकन र दृश्यहरूको वर्णन छँदै छ, त्यसभन्दा बढी उहाँले आफ्ना अनुभूति राख्नुभएको छ, यो सरल पक्ष हो’ उनले भनिन् ‘नियात्रा भनेको यात्रा अनुभूति मात्रै होइन, आत्मा अनुभूति पनि हो । आफूले अनुभव गरेका कुराहरू लेखकले जति धेरै राख्न सक्छ, त्यसले नियात्रालाई अव बढी जीवन्त बनाउँछ, जुन भूसालको नियात्रामा मैले भेटाएकी छु’

लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले डा. भुसालले नेपालको सन्दर्भमा लेखेका कतिपय घटना घतलाग्दो रहेको बताए । सरकारी कर्मचारीहरूले बोलेको तितो सत्य, घटनाक्रमको इमानदार वर्णन र गरिब, अभाव तथा विपन्न ठाउँमा पिएनको जागिर खान पैसा तिर्नु परेकोदेखि नागरिकता बनाउन घुस दिनुपर्ने र विना पैसा लिँदा विश्वास नै नलाग्ने गरेका जस्ता कुराले आफूलाई घत परेको उनको भनाई छ ।

सरकारका कमजोरीका कुराहरूलाई नहिचकिचाईकन र डर नमानीकन खुलस्त रूपमा देखाएकोले बहालवाला कर्मचारीले यसरी लेख्नुमा विश्वसनीयता कायम गरेको रोदनले बताए ।

‘वाक्यहरू दृश्यात्मक छन् । अक्षरहरू जिउँदा छन् । जसले पाठकलाई अक्षरमार्फत अनुभूतिजन्य यात्रा गराउन सफल भएका छन्’ उनले भने ‘पाठकलाई कौतुहलतापूर्वक अघि बढाउँदै आफूले लेखेका कुरा सँगसँगै यात्रा गराउन सकेको यात्रा र नियात्राको सफलता र सार्थकता पनि हो ।’

कृतिले जहाँ आफू पुगिन्छ त्यहाँको दृश्य, भूगोल, जनजीवन, बोलीचाली, इमानदारी र बेइमानी सन्दर्भहरू जस्तो छ त्यस्तै गरी देखाउन सकेकोसमेत बताए ।

उनले कृतिमा अक्षरहरूको फर्मेटिङले र डिजाइनका केही कमजोरी पनि औँल्याए । ‘अक्षर नै चित्रात्मक र दृश्यात्मक छ भन्ने हैसियतमा पुगी सकेको सिर्जनालाई चित्रले देखाउनु पर्दैन’ उनले भने, ‘सिर्जनाले पढूँ पढूँ लाग्ने भए पनि डिमाईले सिकारु हो कि जस्तो लाग्छ ।’

गम्भीरतापूर्वक पढ्ने मान्छेले त्यस्ता कुरा वास्ता नगर्ने र गुदी कुरातिर लाग्ने भए पनि आकर्षक साख सज्जा, सेटिङ र आवरणले पुस्तकलाई थप आकर्षक बनाउने बताउँदै रोदनको भनाई थियो ।

उनले भूसालको कृतिले नेपाली यात्रा नियात्रा साहित्यलाई बलियो बनाउनेमा आफू विश्वस्त रहेको समेत बताए ।

पुस्तकबारे बोल्दै डा. भीष्म कुमार भुसालले समालोचकका सुझावहरूलाई आगामी संस्करणमा सुधार्दै लैजाने बताए । उनले कृतिमा फोटो राखिएको विषयमा २०५२ देखी २०७५ सम्म लामो समयका स्मृतिहरू भएकोले यो अवधिका रंगलाई फोटोमार्फत राख्दा धेरैतिरका कुराहरू राख्न सकिन्छ कि भन्ने लागेर फोटो राखेको बताए ।

लेखकको इमान्दारीताको सवालमा आफू एकदमै सचेत छु बताउँदै डा भूसालले ईश्वरलाई साक्षी राखेर बढी भन्दा बढी यथार्थपरक ढङ्गले राख्ने जमर्को गरेकोसमेत स्पष्ट पारे ।

कार्यक्रमका प्रस्तोता मधु पाठक रहेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस