इतिहासको उत्खनन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

इतिहासको उत्खनन


२४ आश्विन २०७७, शनिबार


लेख्नु छ

सदियौँदेखि खिया लागेर बसेका
कन्टेनरमा फालिएका सपनाहरूको इतिहास

जितियो भन्नेहरूले हराइयो भनिएकाहरूको गौरवशाली इतिहास
र झकाएकाहरु फेरी बिउँझिएर गीत गुनगुनाउन थालेको इतिहास

व्यवस्था फेरिएको इतिहास
अवस्था हेरिएको इतिहास

इतिहासका किल्ला किल्लाहरूमा
चर्किएका धाँजा अनि उध्रिएको विश्वास सिलाउन
आफैँ उठ्नु छ चिहानबाट सबेरै
र लेख्नु छ
हाम्रै मृत्युको ज्वलन्त इतिहास

विभेदका पहाडहरू सम्याउँदा सम्याउँदै
पहाडले नै थिचेर मरेका मजदुरहरूको वीरताको इतिहास

मुर्चुङ्गा र सारङ्गी लिएर
भासिएका मुर्छित सपना बिउँझाउने
गन्धर्व बाजेको छेकिएको गर्विलो इतिहास

जीवनभर अरूको जीवन जगाउँदा जगाउँदै
जीवन गुमाएका जीवन गुरूको जीवनकै इतिहास

सुसाउन छाडेका नदीहरूको इतिहास
हराइरहेको भूगोलको इतिहास
नफक्रँदै निमोठिएका फूलहरुकोे इतिहास
चुलिन छाडेका हिमालहरूको इतिहास
र भुईँमै लडाइएका भुईँमान्छेहरुको जिउँदो इतिहास

जम्मै जम्मै लेख्नु छ
जम्मै जम्मै भत्काउनु छ
जम्मै जम्मै बनाउनु छ
के, तिमी पनि मलाई साथ दिन सक्छौ ?
धन्यवाद ।

[email protected]

यो पनि, गजल

 

Tags :
प्रतिक्रिया दिनुहोस