सरकार र डा. केसी पक्षबीच वार्ता सुरु  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सरकार र डा. केसी पक्षबीच वार्ता सुरु 


प्रशासन संवाददाता

२२ आश्विन २०७७, बिहिबार


काठमाडौँ । सरकारले सत्याग्रही डा. गोविन्द केसी पक्षसँग वार्ता सुरु गरेको छ । अपराह्न ४ बजेका लागि तय गरिएको वार्ता शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सुरु भएको डा केसी पक्षका वार्ता समितिका संयोजक डा. जीवन क्षेत्रीले बताएका छन्

डा. केसीको वार्ता टोलीमा डा. क्षेत्री, डा. अञ्जनीकुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की सहभागी छन् । यस्तै सरकारका पक्षबाट वार्ता टोलीमा शिक्षा सचिव गोपीनाथ मैनाली, स्वास्थ्य मन्त्रालयका सहसचिव जीवराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा छन् ।

वार्तामा डा. केसीले अघि सारेको ६ बुँदे मागबारे छलफल हुने बताइएको छ ।

डा. केसीको स्वास्थ्य अवस्था जटिल बनेको र जुनसुकै समयमा आइसियुमा राखेर उपचार गर्नुपर्ने देखिएको चिकित्सकहरूले बताएका छन् । तर केसीले कुनै पनि उपचार नलिने अडानमा छन् ।

डा. केसीले गत भदौ २९ गते जुम्लाको एक मन्दिरमा सत्याग्रह सुरु गरेका थिए । डा. केसीको माग सम्बोधन गरी सत्याग्रह टुङ्ग्याउने वातावरण बनाउन दबाब स्वरूप नेपाल चिकित्सक संघले (आज) बिहीबारबाट देशैभर दुई घण्टा धर्ना कार्यक्रम तय गरेका छन् ।

सरकारलाई चिकित्सक संघले डा. केसी सँग वार्ताका लागि टोली गठन गर्न र माग सम्बोधन गर्नका दिएको ७२ घण्टे अल्टिमेटम बुधवार सकिएको थियो । बुधवारै संघले आन्दोलनको घोषणासमेत गरेको थियो । संघले आन्दोलनको घोषणा गरे लगत्तै सरकारले वार्ता टोली गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस