चाडपर्वलाई लक्षित गरी यात्रु सहायता कक्ष सञ्चालनको तयारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चाडपर्वलाई लक्षित गरी यात्रु सहायता कक्ष सञ्चालनको तयारी


२० आश्विन २०७७, मंगलबार


दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले चाडपर्वलाई लक्षित गरी पाँच स्थानमा सहायता कक्ष सञ्चालनमा ल्याउने भएको छ । यात्रुलाई पर्न सक्ने समस्या तत्कालै समाधान गर्ने उद्देश्यले प्रहरीले पृथ्वीराजमार्गका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालनको तयारी गरेको हो ।

मुग्लिङदेखि कोत्रेसम्मका पाँच ठाउँमा स्थापना हुने यात्रु सहायता कक्षले यात्रुहरुका गुनासो समाधान गर्ने प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । उनका अनुसार आँबुखैरेनीको पुलजीप, बन्दीपुरको डुम्रे, व्यासको दमौली, म्याग्देको थर्पु र शुक्लागण्डकीको कोत्रेमा यस्ता कक्ष स्थापना हुनेछन् ।

‘चाडपर्वमा घर फर्किने यात्रुहरुको चाप हुन्छ, जसले गर्दा यात्रु ठगिने र यात्रुले दुःख पाउन सक्छन्,’ उनले भने, ‘सर्वसाधारणको यात्रालाई सहज र आरामदायी बनाउने उद्देश्यले नागरिक सहायता कक्ष स्थापना गर्न लागेका हौ ।’ लामो तथा छोटो दूरीमा यात्रा गर्ने यात्रुका अलवा सबै सर्वसाधारणले सहायता कक्षबाट सहयोग पाउनेछन् ।

प्रहरीले नजिकिदै गरेको नेपालीहरुको महान् पर्वलाई ध्यानमा राखेर सुरक्षा योजना समेत निर्माण गरेको छ चाडपर्वको समयमा बढी आपराधिक घटना हुन सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै सुरक्षा योजना बनाइएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए ।

चाडपर्वका समयमा बढी सवारी साधन सञ्चालन हुने भएकाले यात्रुहरुलाई सुरक्षित रुपमा यात्रा गर्ने व्यवस्था मिलाउने, सचेतना लगायतका कार्यक्रम सञ्चालन गरिने पौडेलले जानकारी दिए । “बढी भिडभाड हुँदा कोभिडको जोखिम रहने भएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्छौ,’ उनले भने, ‘सबैलाई सुरक्षित तरिकाले गन्तव्यसम्म पुर्‍याउन सहयोग गर्नु प्रहरीको कर्तव्य हो ।’

चाडपर्वका क्रममा हुन सक्ने घटना न्यूनीकरणका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिने र राति १० बजेपछि मादक पदार्थ सेवन गरी होहल्ला गर्नेलाई पक्राउ गरिने जनाइएको छ । होटल तथा रेष्टुरेष्टलाई पनि समय निर्धारण गरेर व्यवस्थित बनाउन पहल गरिने छ ।

सुरक्षा योजनामा चाडपर्वको समयमा सर्वसाधारणहरु भेला हुन सक्ने सार्वजनिक स्थानको सुरक्षा स्थिति सामान्य बनाउने, अवाञ्छित क्रियाकलाप तथा घटनाहरु न्यूनिकरण गर्ने, रातको समयमा चोरी र होहल्ला बढी हुने हुँदा सो को नियन्त्रण गर्न र रातको समयमा सादा पोशाकमा प्रहरी परिचालन गर्ने, जुवातासलाई नियन्त्रण गर्ने लगायत समेटिएको छ । प्रहरी उपरिक्षक पौडेलले आर्थिक अपराधका घटना हुन सक्ने सम्भावनालाई सुक्ष्म तरिकाले अध्ययन गरी योजना बनाएर प्रहरी परिचालन गरिने प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस