हेटौँडामा पाउडर दूध उद्योग निर्माण हुने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

हेटौँडामा पाउडर दूध उद्योग निर्माण हुने


८ आश्विन २०७७, बिहिबार


वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडामा दैनिक पाँच टन पाउडर दूध उत्पादन क्षमताको उद्योग स्थापना प्रक्रिया शुरु भएको छ ।

उद्योग स्थापनार्थ प्रदेश सरकारको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले पाउडर दूध उद्योगका लागि विस्तृत परियोजनासमेत तयार गरेको जनाएको छ ।

रु ४५ करोडको लागत अनुमान रहेको सो उद्योगका लागि निर्देशनालयले ठेक्का आह्वान प्रक्रिया अगाडि बढाएको छ । प्रदेश सरकारले गठन गरेको वाग्मती प्रदेश दूध विकास बोर्डद्वारा उक्त उद्योग स्थापनाको कार्य भइरहेको छ ।

प्रदेश दूध विकास बोर्डका अधिकृत सत्रुधन शाहका अनुसार चालु आर्थिक वर्षमा रु तीन करोड बजेट विनियोजन भएको छ । हेटौँडा उपमहानगरपालिका–१० स्थित न्युरोनीमा उक्त उद्योग निमार्ण हुन लागेको हो । त्यसका लागि दुई बिघा जमिनसमेत छुट्याइएको शाहले बताए ।

प्रदेशको चितवन र मकवानपुरलगायतका क्षेत्रमा पशुपालक किसानले उत्पादन गरेको दूध विक्री नहुँदा दुग्ध विकास संस्थानको कार्यालय हेटौँडाले खरिद गरी पाउडर बनाउन विराटनगर लैजाने गरेको छ । संस्थानको विराटनगरमा पाउडर उद्योग छ । दूधको खपत बढाउन र उत्पादित दूध खेर जान नदिन पाउडर उद्योगको स्थापना गर्नु सराहनीय काम भएको किसानहरुको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस