सडक भत्किँदा कर्मचारीलाई कार्यालय जान समस्या « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सडक भत्किँदा कर्मचारीलाई कार्यालय जान समस्या


२८ भाद्र २०७७, आइतबार


डोटी । जिल्ला सदरमुकाम सिलगढीमा रहेका सरकारी कार्यालयमा आवतजावत गर्न यातायातका साधन तथा सेवाग्राहीलाई समस्या भएको छ । यहाँको सरकारी कार्यालयमा जाने एक मात्र सडक पहिराले भत्किएपछि सेवाग्राहीसहित कर्मचारीलाई कार्यालयमा जान निकै समस्या हुँदै आएको हो ।

जिल्ला प्रहरी कार्यालयको गेटबाट जिल्ला प्रशासन हुँदै टुँडिखेल भएर तल्लो बजार र शैलेश्वरी मन्दिर हुँदै मल्लो बजार जोड्ने सडक कृषि विकास बैंक नजिक भत्किँदा आवतजावतमा समस्या भएको सिलगढीका स्थानीय रोशन नेपालीले बताए । उनले भने, ‘सरकारी कार्यालयमा जाने मुख्य सडक नै पहिराले भत्किएको छ, जसले गर्दा मानिस तथा यातयातका साधनलाई आवतजावत गर्न निकै समस्या भएको छ ।’

डोटीको सिलगढीदेखि अछामको साँफेबगर जोड्ने पहलमानसिंह स्वाँर राजमार्गबाट जिल्ला सदरमुकाम सिलगढीको मुख्य बजारक्षेत्र र अधिकांश सरकारी कार्यालय जोड्ने मुख्य सडकको पर्खाल भत्किँदा यहाँका सरकारी कार्यालयमा जाने सडक पूर्णरूपमा अवरुद्ध भएको हो । पहिरोले भत्किएको सडक मर्मत गरी तत्काल यातायात सञ्चालनका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस