कोरोना महामारीको चुनौतीलाई अवसरका रुपमा प्रयोग गर्न मुख्यमन्त्री राउतको निर्देशन « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

कोरोना महामारीको चुनौतीलाई अवसरका रुपमा प्रयोग गर्न मुख्यमन्त्री राउतको निर्देशन


२३ भाद्र २०७७, मंगलबार


लोक सेवा

धनुषा । मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको चुनौतीलाई अवसरका रुपमा प्रयोग गर्न प्रदेशस्थित अस्पतालका मेडिकल सुपरिटेन्डेन्टहरुलाई निर्देशन दिएका छन् ।

अस्पतालहरुको वर्तमान अवस्था र अगामी दिनमा गर्नुपर्ने सुधारबारे छलफल गर्ने उद्देश्यका साथ आज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्पन्न मेडिकल सुपरिटेन्डेन्टहरुसहितको प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा मुख्यमन्त्री राउतले सो निर्देशन दिएका हुन् ।

उनले गत आर्थिक वर्षमा प्रदेश सरकारले अस्पतालको सुधारका लागि पठाएको रकम सदुपयोग हुन नसकेको उल्लेख गर्नु हुँदै चालु आवमा पठाइएको रकमको शतप्रतिशत सदुपयोग गर्न र थप आवश्यक सुधारबारे सुझाव दिन आग्रह समेत गरे । कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले हरसम्भव प्रयास गरिरहेको उल्लेख गर्नु हुँदै उनले अग्रणी भूमिकामा रहेको स्वास्थ्यकर्मी चिकित्सकहरुलाई उच्च मनोबलका साथ काम गर्न आग्रहसमेत गरे ।

कार्यक्रममा समाजिक विकास मन्त्री नवलकिशोर साहले अस्पतालहरुको सुधारमा प्रदेश सरकार हरसम्भव लगानी गर्न तयार रहेको उल्लेख गर्दै कोरोना महामारी नियन्त्रणमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । संघीय सांसद एवं विज्ञ समूहका सदस्य डा. सुरेन्द्र यादवले अस्पतालहरुमा रहेको स्रोत साधनहरुलाई अधिकतम प्रयोग गर्न सुझाव दिए । जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले प्रादेशिक ल्याबको आफनै भवन निर्माणको लागि जग्गा उपलब्ध गराउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा गजेन्द्र नारायणसिंह अस्पताल राजविराज, भारदह अस्पताल, लहान अस्पताल, सिरहा अस्पताल, प्रादेशिक अस्पताल जनकपुरधाम, जलेश्वर अस्पताल, बर्दिवास अस्पताल, मलङ्गवा अस्पताल, चन्द्रपुर अस्पताल, कलैया अस्पताल र नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जका मेडिकल सुपरिटेन्डेन्टहरुले अस्पतालको वर्तमान अवस्था र अगामी दिनमा गर्नु पर्ने सुधारहरुबारे प्रस्तुती गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस