तेह्रथुममा नौ संक्रमित भेटिएपछि एक साता निषेधाज्ञा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

तेह्रथुममा नौ संक्रमित भेटिएपछि एक साता निषेधाज्ञा


५ भाद्र २०७७, शुक्रबार


पाँचथर । एकै दिन नौ व्यक्तिमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय तेह्रथुमले एक साताका लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बिहीबार सूचना जारी गर्दै गए राति १२ बजेबाट भदौ ११ गतेसम्म निषेधाज्ञाको घोषणा गरेका हुन् ।

कन्ट्याक्ट ट्रेसिङका क्रममा तेह्रथुममा सरकारी कर्मचारी, वकिललगायत नौ व्यक्तिमा सङ्क्रमण देखिएपछि एक साताका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासनले अत्यावश्यक सेवाअन्तर्गत खाद्यान्न तथा सब्जी पसल किहान ७ बजेदेखि ९ बजेसम्म सतर्कतापूर्वक खोल्न भने अनुमति दिएको छ । प्रशासनले अत्यावश्यक बाहेक सवारीका साधन सञ्चालन र हिँडडुलमा समेत रोक लगाइएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको मौका उठाई अत्यावाश्यक वस्तुको कालोबजारी, जम्माखोरी, कृत्रिम अभाव तथा मूल्य वृद्धि भएको पाइए कडाइका साथ कारबाही गरिने जनाएको छ । प्रशासनले निषेधाज्ञाको पालना गरी कोभिड-१९ सङ्क्रमण फैलनबाट रोक्न जिल्लावासीलाई आह्वानसमेत गरेको छ ।

स्वास्थ्य कार्यालय तेह्रथुमका प्रमुख योगराज घिमिरेका अनुसार यही भदौ १ गते परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएका ७४ वटा नमूनामध्ये नौ जनामा कोभिड-१९ को सङ्क्रमण देखिएको छ । उनीहरुमध्ये तीन महिला छन् । कन्ट्याक्ट ट्रेसिङबाट लिइएका थप सात वटा नमूना परीक्षणको रिपोर्ट आउन बाँकी छ ।

घिमिरेका अनुसार परीक्षणका क्रममा एक जनामा सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमार्फत सम्पर्कमा रहेका अन्य व्यक्तिको स्वाब लिई परीक्षण गर्दा ठूलो सङ्ख्यामा सङ्क्रमित देखिएका हुन् । कन्ट्याक्ट ट्रेसिङमार्फत स्वाब लिने क्रम अझै जारी रहेको घिमिरेले बताए। तेह्रथुममा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १० पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस