भोलिबाट बैंकका कर्मचारीलाई कार्यालय आउजाउ गर्न नरोकिने « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

भोलिबाट बैंकका कर्मचारीलाई कार्यालय आउजाउ गर्न नरोकिने


४ भाद्र २०७७, बिहिबार


काठमाडौँ । गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्थाका कर्मचारीको आवतजावतलाई नरोक्न निर्देशन दिएको छ। काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर गृह मन्त्रालयले अत्यावश्यक सेवामा पर्ने बैंकिङ प्रणाली सुचारु राख्न कर्मचारीलाई कार्यालय आउजाउ गर्न दिने वातावरण बनाउन निर्देशन दिएको हो।

बिहीबार बैंकिङ सेवा दिन कार्यालय हिँडेका  कर्मचारीलाई प्रहरीले उपत्यकाका विभिन्न स्थानमा बाटामै रोकिएपछि नेपाल बैंकर्स संघले बिहीबार सबै बैंकका शाखा बन्द गर्ने निर्णय गरेको थियो।

पूर्वसहमतिविपरित प्रहरीले कर्मचारीलाई कार्यालय आवतजावत गर्न रोकेपछि संघ असन्तुष्ट बनेको थियो। मंगलबार साँझ निषेधाज्ञामा पनि बैंक तथा वित्तीय संस्थाका सीमित शाखा खोल्न दिने विषयमा स्थानीय प्रशासन, नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाबिच समझदारी भएको थियो।

तर, पूर्व समझदारी विपरीत बैंकका कर्मचारी प्रहरीले रोकेपछि गृह मन्त्रालयले राष्ट्र बैंकले जारी गरेको निर्देशिकाको पालना गर्न भन्दै नयाँ परिपत्र जारी गरेको हो। गृह मन्त्रालयको पत्रमा सर्वसाधारणलाई आधारभूत बैंकिङ सेवा प्रवाह गर्ने सन्दर्भमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको सूचना बमोजिम आधारभूत बैंकिङ सेवा सुचारु गर्न आवश्यक समन्वय तथा सहजीकरण गर्न निर्देशन दिइएको ब्यहोरा उल्लेख छ।

Tags :
प्रतिक्रिया दिनुहोस