अमेरिकाको नयाँ राष्ट्रपतिका लागि जो बाइडेन अनुमोदित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अमेरिकाको नयाँ राष्ट्रपतिका लागि जो बाइडेन अनुमोदित


एजेन्सी

३ भाद्र २०७७, बुधबार


विलमिङटन । अमेरिकी डेमोक्र्याट पार्टीले जो बाइडेनलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा औपचारिक अनुमोदन गरेको छ । पार्टीको चार दिने अधिवेशनका क्रममा दोस्रो दिन बाइडेनलाई औपचारिक रुपमा उम्मेदवार घोषणा गरेको हो ।

डेमोक्र्याटिक पार्टीले कोरोनाभाइरसको महामारीका कारण ठूलो सभा गर्नुको साटो यसपटक भर्चुअल विधिबाट अधिवेशन चलाइरहेको छ । पार्टीका निर्वाचित प्रतिनिधिहरुले भर्चुअल विधिबाटै ७७ वर्षीय बाइडेनलाई अनुमोदन गरेका हुन् ।

अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

मिल्वाकीको सम्मेलन केन्द्रलाई अधिवेशन स्थल तोकिए पनि स्वास्थ्य चुनौतीलाई ध्यान दिई सबैजसो प्रबुद्ध व्यक्ति, शुभेच्छुक एवं पूर्व राष्ट्रपतिहरुले भर्चुअल विधिबाटै सम्बोधन गरिरहेका छन् । यी सम्बोधनहरु कुनै प्रत्यक्ष रुपमा गरिएका छन् भने कुनै रेकर्ड गरेर प्रशारण गरिएका छन् ।

बाइडेनको पक्षमा शुभकामना व्यक्त गर्नेहरुमा डेमोक्र्याट र रिपब्लीकन दुबै पार्टीका शीर्ष नेताहरु पनि रहेका छन् । पूर्व राष्ट्रपति बिल क्लिन्टन र विदेश मन्त्री जोन केरी तथा रिपब्लीकन पार्टीबाट पूर्व विदेश मन्त्री कोलिन पावेलले पनि विजयका लागि शुभकामना दिएका छन् । हाल ९५ वर्ष पुग्नु भएका पूर्व राष्ट्रपति जिम्मी कार्टर समेत भर्चुअल प्लेटफर्ममा देखा पर्नु भएको छ ।

कतिपय वक्ताहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका नीतिहरुको कटु आलोचना गरेका छन् । राष्ट्रपति ट्रम्पका कारण विश्वभर अमेरिकाको छवि धुमिल भएको उनीहरुको आरोप छ ।

पूर्व विदेश मन्त्री केरीले भने, ‘डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा अमेरिकाको अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मूख रहेको र विश्व नै तुलनात्मक रुपमा शान्त थियो । तर अहिले यो सबै दिवालीया भइसक्यो ।’

पूर्व राष्ट्रपति बिल क्लिन्टनले ओभल अफिस अहिले अराजक स्थितिमा छ, र यसले कमान्ड केन्द्रका रुपमा काम गर्न नसकेको बताए ।

भर्चुअल अधिवेशनमा जर्जियाका सांसद स्टासी अब्राम्स र न्यूयोर्ककी सांसद अलेक्जान्ड्रिय ओकासियो–कोर्टेज समेतका केही युवा डेमोक्र्याटलाई पनि सम्बोधन गर्न दिइएको छ ।

रिपब्लीकन पार्टीका तर्फबाट विदेश मन्त्री रहिसक्नु भएका कोलिन पावेलले बाइडेनलाई समर्थन गरे । उनी एरिजोनका पूर्व सिनेटर स्व। जोन मक्केनकी पत्नी सिन्डी मक्केनका साथ देखा पर्नु भएको थियो ।

आधा दर्जनभन्दा बढी रिपब्लीकन नेताहरुले बाइडेनलाई समर्थन गर्दै सम्बोधन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस