फोरजी विस्तार सम्पन्न नहुनुको कारण देखाउन सरकारलाई निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

फोरजी विस्तार सम्पन्न नहुनुको कारण देखाउन सरकारलाई निर्देशन


२४ श्रावण २०७७, शनिबार


नेपाल टेलिकम

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नेपाल टेलिकमको फोरजी सेवा विस्तार कार्य निर्धारित समयमा सम्पन्न हुन नसक्नुको कारण समितिमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

नेपाल टेलिकमको सेवा प्रभावकारिता सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडा लगायतसँग छलफल गरेपछि समितिले टेलिकमको फोरजी सेवा विस्तार निर्धारित समयभित्र सम्पन्न हुन नसक्नुको कारण सात दिन भित्र उपलब्ध गराउन निर्देशन दिएको हो ।

समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई गुणस्तरीय सेवा विस्तारको कार्य योजना तयार गरी ३० दिनभित्र समितिमा पेस गर्न समेत भनेको छ ।

बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री खतिवडाले सञ्चार मन्त्रालयका सबै खरिद बिक्री प्रतिस्पर्धाका आधारमा हुने बताएका छन् । देशभर इन्टरनेट पु¥याउने गरी सरकारले काम गरिरहेपनि लकडाउन र खरिद प्रक्रिया लगायतले बाधा गरेको उनको भनाइ थियो ।

बैठकमा सांसदहरुले टेलिकमको सेवाको गुणस्तरमाथि प्रश्न उठाएका थिए । उनीहरूले रणनीतिक साझेदार भित्राउने विषय लामो समय हुँदा पनि पुरा हुन नसक्नुको कारण समेत माग गरे ।

समितिले नेपाल दूरसञ्चारसँग आबद्ध नेपाल टेलिकम र अन्य निजी सेवा प्रदायक संस्थाहरूबाट गत आर्थिक वर्षमा ग्राहकलाई वितरण गरेको सिम कार्डको विवरण सात दिनभित्र उपलब्ध गराउन समेत मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

त्यस्तै नेपाल भित्र सञ्चालित दूरसञ्चार संस्थाहरूको आर्थिक अवस्थाको विवरण समेत माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस