राष्ट्रियसभाका चारै समितिका सभापति निर्विरोध निर्वाचित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रियसभाका चारै समितिका सभापति निर्विरोध निर्वाचित


२३ श्रावण २०७७, शुक्रबार


काठमाडौं । राष्ट्रियसभा मातहतका चारवटै विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिमा रामनारायण बिडारी, दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल निर्विरोध भएका छन् ।

सभापतिका उम्मेदवारका प्रस्तावक र समर्थकले प्रस्तुत गरेको नामलाई सम्बन्धित समितिको आजको बैठकले सर्वसम्मतिले अनुमोदन गरेको थियो । नवनिर्वाचित सभापति गुरुङका प्रस्तावक देवेन्द्र दाहाल र समर्थक तारामान स्वाँर तथा सभापति बिडारीका प्रस्तावक राधेश्याम अधिकारी र समर्थकमा शेरबहादुर कुवर थिए ।

सभापति भट्टको उम्मेदवारका प्रस्तावकमा दीनानाथ शर्मा र समर्थकमा रमेशजङ्ग रायमाझी तथा सभापति रावलको प्रस्तावकमा खिमलाल भट्टराई र समर्थकमा अनिता देवकोटा थिइन् । चारै सभापति यसअघिकै सोही समितिका सभापति छिन् ।

राष्ट्रियसभाका विषयगत समितिका सभापतिको चयन प्रत्येक दुईदुई वर्षमा हुने व्यवस्था छ । निर्वाचित सभापतिमध्ये नेकपाका दुई र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका एक जना छन् । पुनः निर्वाचित सभापति बिडारी भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत सांसद छन् । स्थायी सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ अर्थात् १८ सदस्यको निर्वाचन गत माघमा भएको थियो । प्रबुद्ध व्यक्तिको प्रतिनिधित्व हुने राष्ट्रियसभाबाट राष्ट्रिय राजनीति र महत्वपूर्ण मुद्दामा सुझबुझपूर्ण भूमिका निर्वाह हुने विश्वास गरिन्छ ।

निर्वाचित चारमध्ये दुई पुरुष र दुई महिला सभापति छन् । भूगोल र लैङ्गिक पक्षबाट समेत समावेशी चरित्र रहेको राष्ट्रियसभाले खेलेको भूमिका, यसले अघि बढाएको एकता, सहमति र सहकार्यको मूल्यमान्यता गौरव गर्नलायक रहेको भनी प्रशंसा हुँदै आएको छ । नवनिर्वाचित सभापति अनुभवी रहेका हुनाले जनता र राष्ट्रको हितका विषयमा प्रखर रूपमा उत्रन सुझाव दिँदै सदस्यहरुले सफल कार्यकालका लागि शुभकामना र बधाई ज्ञापन गरे । नवनिर्वाचित सभापतिले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग आइतबार शपथ लिएपछि पदभार ग्रहण गर्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस