लेबनन विस्फोटनमा १३५ ले गुमाए ज्यान, ४ हजार बढी घाइते, ३ लाख विस्थापित « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

लेबनन विस्फोटनमा १३५ ले गुमाए ज्यान, ४ हजार बढी घाइते, ३ लाख विस्थापित


२२ श्रावण २०७७, बिहिबार


काठमाडौं । लेबननको बेइरुतमा मंगलबार भएको विस्फोटनमा ज्यान गुमाउनेको संख्या १ सय ३५ पुगेको छ । घटनामा ४ हजार भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय समाचारमाध्यमहरुले जनाएका छन् । उक्त विस्फोटका कारण करिब तीन लाख मानिस विस्थापित भएका छन् ।

राष्ट्रपति मीसेल आउनका अनुसार असुरक्षित रूपमा राखिएको २,७५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटन भएको हो। विस्फोटनको आवाज धेरै ढाटासम्म सुनिएको स्थानीयले बताएका छन् । विस्फोटनको आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो।

बेइरुत विस्फोटनको शक्ति दोस्रो विश्व युद्धका बेला जापानको हिरोसिमा मा खसालिएको अणु बमको १० भागको एक भाग रहेको यूकेस्थित शेफिल्ड विश्वविद्यालयका विशेषज्ञहरूले अनुमान गरेका छन्।

विस्फोटनको कारण पत्ता लगाउने कार्य भइरहेको विज्ञहरूले बताएका छन् । विस्फोट हुन सक्ने गुण भएको रसायन अमोनियम नाइट्रेट कृषि क्षेत्रमा मलका रूपमा समेत प्रयोग गरिन्छ। उक्त गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइट्रेट’ भण्डारण गरिएको थियो ।

बुधवार मन्त्रिपरिषद्को आपतकालिन बैठकमा राष्ट्रपति आउनले बेइरुतमा अघिल्लो रातको आतङ्क शब्दमा बयान गर्न नसकिने बताएका छन्।

विस्फोटप्रति विश्वका नेताद्वारा दुःख व्यक्त
लेबनानमा भएको विस्फोटबाट कैयौँ नागरिकको ज्यान गएको घटनाको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत विश्वका नेताहरुले दुःख व्यक्त गरेका छन् ।

ट्रम्पले उक्त घटनालाई एक डरलाग्दो भएको बताएका छन् । उनले लेबनानको सरकार र त्यहाँका नागरिकहरुसँग अमेरिकाको राम्रो सम्बन्ध रही आएको र यस्तो अप्ठेरो परेको अवस्थामा लेबनान सरकारलाई आवश्यक सबै खालको सहयोग गर्न अमेरिका सरकार तयार रहेको बताएका छन्।

त्यस्तै अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसस् र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि उक्त विस्फोटप्रति दुःख व्यक्त गरेका छन् । उनीहरुले आफूहरु सहयोग गर्न तयार रहेको जानकारी लेबनान सरकारलाई गराएका छन् । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस