बुटवल उपमहानगरपालिकामा सडक क्षेत्र मिचेर बनाइएका घर भत्काइए « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बुटवल उपमहानगरपालिकामा सडक क्षेत्र मिचेर बनाइएका घर भत्काइए


२१ श्रावण २०७७, बुधबार


रुपन्देही । बुटवल उपमहानगरपालिकामा सडक क्षेत्र मिचेर बनाइएका घर आज भत्काइएको छ । वडा नं ९ र ११ मा पर्ने कालिका पथलाई ८२ फुटको बनाउने क्रममा सडक क्षेत्र मिचेर बनाइएका घर डोजर लगाएर भत्काइएको हो ।

सडकको क्षेत्राधिकार ओगटेर बनेका संरचना हटाउन पटकपटक घरधनीलाई आग्रह गरिए पनि अटेर गरेपछि डोजर चलाउनु परेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । उपमहानगरपालिकाले प्रहरीको सुरक्षा घेरा बनाएर डोजर चलाएको हो । सडक क्षेत्रका अधिकांश घर हटाए पनि केही घरधनीले अटेरी गर्दै आएका थिए ।

प्रवक्ता रेग्मीका अनुसार सडकको क्षेत्राधिकार मिचेका घर भत्काउन आग्रह गर्दा पनि अटेरी गरेपछि उपमहानगरपालिकाले यही साउन १९ गते २४ घण्टाको म्याद दिएको थियो । उपमहानगरपालिकाले दिएको अन्तिम म्यादसम्म पनि घरधनीले घर नभत्काएपछि प्रहरीको सुरक्षामा डोजर चलाइएको उनले बताए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमालसहित सात जनाको घर आज भत्काइएको हो । कालिका पथलाई बुटवल उपमहानगरपालिकाले वैकल्पिक सडकको रुपमा विस्तार गर्ने योजना बनाएको छ । पुरानो बसपार्कदेखि भित्री सडक योगीकुटीसम्मको कालिका पथ भनिने यो सडकलाई विस्तार गरी २५ मिटर फराकिलो बनाइने छ ।

यो सडकको विस्तारका लागि प्रदेश नं ५ सरकारले बजेट व्यवस्था गर्नेछ । बुटवल उपमहानगरपालिकाले यो सडकलाई नमूना बनाउने जनाएको छ । विस्तृत परियोजना प्रतिवेदनमा यो सडक विस्तारको काम सम्पन्न हुन झण्डै रु एक अर्ब खर्च हुने उल्लेख छ ।

विसं २०५४ मै यो सडकलाई ८२ फुट (२५ मिटर) कायम गरी विस्तारको योजना बनाइएको थियो । केही व्यक्तिको अवरोधका कारण सडक मिचिएका संरचना भत्काउन नसक्दा विस्तार हुन सकेको थिएन । अहिले अधिकांश स्थानीयवासीको साथ पाएपछि मूल सडकजस्तै भित्री सडक पनि स्तरोन्नति गर्न लागिएको हो ।

सडक यो आर्थिक वर्षमै सम्पन्न हुने उपमहानगरपालिकाले जनाएको छ । ‘केही घरधनीले अटेर गर्दा सडक विस्तारको काममा अवरोध आएको थियो तर अब काम दु्रत गतिमा अघि बढ्छ’, उपमहानगरपालिकाका प्रवक्ता रेग्मीले भने, ‘भदौमा नाली सम्पन्न भई आगामी असारसम्म सडक विस्तारले पूर्णता पाउँछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस