मानिसलाई गिज्याइरहेका उद्यान « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मानिसलाई गिज्याइरहेका उद्यान


११ श्रावण २०७७, आइतबार


बागलुङ ।  मालढुङ्गा नाकाहुँदै बागलुङ छिरेको केही छिनमा सडकछेउ शहीद स्मृति उद्यान भेटिन्छ । प्रवेशद्वारबाट भित्र छिर्नासाथ उद्यानको दुरावस्था आँखाअघि आउँछ । अनि बाहिर उद्यान लेखिएको द्वारबाट भित्र छिरेको व्यक्ति म उद्यानमै आएँ कि अन्त कतै भनेर अलमलमा पर्छ । उसको पहिलो नजर शहीदका सालिकमा ठोक्किन पुग्छ । तर फुङ्ग उडेका जीर्ण सालिकले जिउँदा मानिसलाई गिज्याए झैँ लाग्छ । यसरी उद्यान र सालिकले जिउँदा मानिसलाई गिज्याएजस्तो लागेपछि मानिसहरु उद्यान छिर्नै छोडेका छन् ।

देश र जनताका लागि जीवन उत्सर्ग गर्ने शहीदको सम्मानमा राखिएका सालिकमाथि उल्टो अपमान भएको प्रतीत यो उद्यानमा पुग्ने जोसुकैलाई पनि हुन्छ । सालिकको प्रतिबिम्व देखिनुपर्ने तलाउमा लेउ र फोहरको डङ्गुर छ । शहीद दिवसका दिन एक थुङ्गो फूलबाहेक केही पाउन नसकेका सालिकका मुहार पनि निकै खिन्न देखिन्छन् ।

पार्कमा शहीद धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्री, दशरथ चन्द र थीरबम मल्लको सालिक छ । विसं २००७ सालको क्रान्तिमा शहादत प्राप्त गरेका शहीद थीरबम बागलुङका हुन् ।

विसं २०५७ मा निर्मित उद्यानमा सालिकबाहेक अन्य भौतिक संरचना पनि उस्तै स्थितिमा छन् । विश्रामस्थल, दृश्यावलोकनस्थल, बगैँचा, बाबुनानीहरु खेल्न बनाइएका चिप्लेटी, पिङआदिसमेत अलपत्र छन् । शौचालय आफ्नो स्वरुपमा छैन लथालिङ्ग छ ।

सरसफाइको कुनै गुञ्जायस छैन । रङ्गीचङ्गी, ढकमक्क फूल फुल्नुपर्ने ठाउँमा झार भरिएको छ । उद्यानको सौन्दर्य बढाउन लगाइएका रुख, फूलका बोट मुर्झाएका छन् । रेखदेख छैन, संरक्षण छैन, कसैको ध्यान पुग्दैन अनि कसरी होस् उद्यान उद्यानजस्तो हराभरा रु करिब २९ रोपनी क्षेत्रफलमा फैलिएको उद्यानको यस्तो कन्तबिजोग देख्दा त्यहाँ पुग्ने जसलाई पनि उदेक लाग्छ । मन खिन्न हुन्छ । उद्यान निर्माणदेखि यसको सुधारमा भएको खर्च हेर्दा झनै मन कुँडिन्छ । कराडौँ खर्चिंदा पनि उद्यानले चोला फेर्न सकेको छैन, बरु झन्झन् दुर्दशातिर धकेलिएको छ ।

उचित संरक्षण र व्यवस्थापन नहुँदा राज्यको लगानी त्यसै खेर गइरहेको छ । पर्यटक लोभ्याउने गरी उद्यानको सौन्दर्यीकरण गर्ने बागलुङ नगरपालिकाको योजना निरर्थक बनेको छ । वर्षौंअघिदेखि उद्यानमा भएको लगानी उपलब्धिहीन बनेको छ । पछिल्ला वर्षमा नगरपालिकाले शहरी शासकीय क्षमता सुधार कार्यक्रममार्फत झण्डै रु एक करोड र प्रभु बैंकले रु १५ लाख उद्यानमा खर्च गरेको छ । नगरपालिकाले गर्ने नियमित मर्मत, सुधार र व्यवस्थापकीय काममा भएको खर्च बेग्लै छ ।

संरचना निर्माणदेखि उद्यानको सौन्दर्यीकरणका लागि भएका काम पनि संरक्षण अभावमा धेरै समय टिकेनन् । दुई वर्षअघिसम्म केही बिसेक देखिने उद्यान अहिले बेहाल स्थितिमा पुगको छ । नगरपालिकाले भने यो वर्ष उद्यानको मुहार फेरेरै छाड्ने प्रतिबद्धता देखाएको छ तर काम हुन बाँकी छ । ‘गएको वर्ष त्यही ठाउँमै झोलुङ्गे पुल निर्माण शुरु भएपछि उद्यानको काम केही रोकिन पुग्यो, यो वर्षको अन्त्यसम्ममा उद्यानलाई व्यवस्थित गर्छौं, बजेट पनि छुट्टिएको छ’, नगरप्रमुख जनकराज पौडेलले भने । स्रोतको सदुपयोगसँगै दोहोरो खर्च नहोस् भनेर पुल नबनुञ्जेल उद्यानको काम नगरिएको उनको भनाइ छ ।

प्रभु बैंकलेसमेत उद्यानमा लगानीको प्रतिबद्धता गरेकाले अब कामले गति लिने नगरप्रमुख पौडेलले बताए । प्रभु बैंकका धवलागिरि उपक्षत्रीय प्रमुख अमरज्योति गिरीले भने उद्यानमा गरिएको लगानीको सुरक्षा नभएपछि काम रोक्नुपरेको बताए । ‘झण्डै १५ लाखजति त हाम्रो खर्च भइसकेको छ’, उनले भने, ‘४/५ हजारसम्म मूल्य पर्ने बिरुवा लगायौँ कति चोरी भए, कति नासिएर गए, संरक्षण भएन ।’

बगैँचा निर्माण, वृक्षरोपण र अन्य संरचना निर्माणमा बैङ्कले रु। ४० लाख लगानी गर्ने योजनासहित नगरपालिकासँग सम्झौता गरेको थियो । ‘सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले उद्यान निर्माणमा खर्च गर्न लागेको हो”, बैंकका प्रमुख गिरीले भने,’उद्यान संरक्षण र रेखदेखको सुनिश्चितता नभएसम्म हामीले काम अगाडि बढाउँदैनौँ ।’

उनले उद्यान नगरको सम्पत्ति भएकाले त्यसको संरक्षण र व्यवस्थापनमा नगरपालिका नै बढी जिम्मेवार हुनुपर्ने धारणा राखे । उद्यानका लागि पहिलो वर्ष रु ४० लाख र त्यसपछि पनि वर्षेनी बजेट आउने सुनिश्चितता हुँदा पनि नगरपालिका उदासिन बनेको बैंकको आरोप छ ।

बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले नगरपालिकाले उद्यान संरक्षण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने धारणा राखे । “नगरप्रमुखसँग यो विषयमा कुराकानी पनि भएको थियो, तर उनले नगरपालिकाले नै व्यवस्थापन गर्ने बताए’, अध्यक्ष खड्काले भने ।

उनले उद्यानलाई पर्यटकीय आकर्षणका रुपमा विकास गर्न सकिने बताए। नेपालकै लामो (सिङ्गल स्पामतर्फ) बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल पनि यही उद्यान छेउ बनेकाले त्यस क्षेत्र पर्यटकीय गन्तव्यस्थल बन्न सक्छ । नजिकै रहेको प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरलाईसमेत जोडेर पर्यटन प्रवर्द्धन गर्न सकिन्छ ।

उद्यानको दुरावस्थाको वर्णन शहीद स्मृति उद्यानमा मात्र समेटिन्न । शहीद स्मृति उद्यानहुँदै बाङ्गेचौरको घुम्ती मोडिएर बागलुङ बजारको मुखैमा पुगेपछि फेरी अर्को उद्यान आइपुग्छ वीरेन्द्र–ऐश्वर्य उद्यान । त्यसको स्थिति त झन् शहीद स्मृति उद्यानको भन्दा पनि खराब छ । तत्कालीन राजा वीरेन्द्र र ऐश्वर्यका नाममा स्थापित उद्यान समयसालमा आएर अस्तित्व सङ्कटबाट गुज्रिरहेको छ । बजारको मुटुमा रहेको उक्त उद्यान संरक्षण अभावमा अलपत्र छ । उद्यानको सौन्दर्य नासिएर कुरुप बनेको छ ।

विसं २०३२ मा बनेको उद्यान लथालिङ्ग अवस्थामा छ । विसं ०६२/०६३ को जनआन्दोलनमा राजा–रानीको सालिक तोडिएपछि पार्क त्यसै उराठलाग्दो छ । अरु कसैको सालिक त्यहाँ ठडिएको छैन । सालिक राख्न त्यो बेला बनाइएको कला, कौशलयुक्त संरचना जीर्ण बनेका छन् । उद्यानमा रहेको कृत्रिम तलाउ दूषित छ । पहिले माछा पौडने तलाउ फोहरले भरिएको छ । बगैँचाको रेखदेख नहुँदा बुट्यान सुक्न थालेका छन् । विश्रामस्थल भत्किएका छन् । उद्यान झाडीमा बदलिएको छ । उद्यान छेउ बनेको सार्वजनिक शौचालय प्रयोगविहीन छ । सडक चौडा गर्न पर्खाल भत्काइएपछि उद्यान झन अस्तव्यस्त देखिएको छ ।

नगरपालिकाले केही वर्षअघिसम्म कर्मचारी नै राखेर उद्यान सफाइदेखि रेखदेख, व्यवस्थापनको काम गरे पनि अहिले त्यो हुन सकेको छैन । संरक्षण नहुँदा पुरानो महत्व बोकेको उद्यान जीर्ण अवस्थामा पुगेको छ । स्वच्छ र हराभरा हुनुपर्ने उद्यान सौन्दर्यहीन छ ।

उद्यानका पूर्वअध्यक्ष एवं संरक्षक शैलेन्द्रकुमार श्रेष्ठले जनस्तरबाट सहयोग जुटाएर जग्गा खरिद गरी उद्यान बनाइएको स्मरण गरे। ‘अहिले पनि यो उद्यान संस्थाअन्तर्गत जिल्ला प्रशासनमा दर्ता छ, वीरेन्द्र–ऐश्वर्य उद्यानका नाममा लालपूर्जा छ’, उनले भने ।

केही वर्षअघिदेखि उद्यानको संरक्षण, व्यवस्थापनको जिम्मा बागलुङ नगरपालिकाले लिएको छ । उद्यानको स्वामित्व हस्तान्तरण भने भइनसकेको श्रेष्ठले बताए । ‘उद्यानको संरक्षण हुन सकेको छैन, नगरपालिकाले जिम्मा लिएर काम थालेको थियो तर पछि फेरि सबै भताभुङ्गको अवस्थामा पुगेको छ’, उनले भने ।

उद्यानको लालपूर्जा र दस्तावेज आफूहरुसँग रहेको भन्दै श्रेष्ठले काम गर्दा नगरपालिकाले सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । अब पनि बागलुङ नगरको पहिचानसँग जोडिएको उद्यानको उचित संरक्षण योजना ल्याउन नसके आवाज उठाउने उनको भनाइ छ ।

बागलुङ बजारमा आवादी बढेका बेला स्वच्छ हावा दिने उक्त उद्यानको व्यवस्थित विकास गरिनुपर्नेमा श्रेष्ठको जोड छ । नगरप्रमुख पौडेलले वीरेन्द्र–ऐश्वर्य उद्यानको छेउछाउको सडक चौडा र चोक सुधारको काम भइरहेको बताए ।

“माथिको उद्यानका लागि पनि यो वर्ष रु २० लाख बजेट छुट्टाएका छौँ’, उनले भने, ‘दायाँबायाँ सडक विस्तारको काम सकिएपछि उद्यान पुनःनिर्माण र संरक्षणको काम अघि बढ्छ, यो वर्ष उद्यानको मुहार फेरिन्छ ।’ नगरपालिकाले यसअघि पनि उद्यानको सुधार, व्यवस्थापन र कर्मचारी तलवमा लाखौँ रुपैयाँ खर्च गर्दै आएको थियो । सात वर्षअघि नगरपालिकाले उद्यान पुनःनिर्माण, सौन्दर्यीकरण र आयमूलक भवनसहितको योजना अघि सारेको थियो ।

शहरी विकास तथा भवन निर्माण विभागमा उक्त योजनाका लागि बजेट माग गरिए पनि त्यो सार्थक हुन सकेन । दैनिक जीवनको दौडधूप र तनावबाट एकैछिन भए पनि बाहिर निस्केर आनन्द बटुल्ने थलोको दुरावस्था देखेर जनसाधारण पनि बेखुशी छन् । उद्यान उद्यानकै स्वरुपमा राख्न नसकिएपछि बेखुशी पनि हुने नै भए ।

Tags :
प्रतिक्रिया दिनुहोस