रातो मच्छिन्दद्रनाथको रथारोहण सम्पन्न « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

रातो मच्छिन्दद्रनाथको रथारोहण सम्पन्न


१० श्रावण २०७७, शनिबार


ललितपुर, । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज गरिएको छ ।

मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले आज नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटदेखि १२ बजेर २५ मिनेटसम्म शुभ साइत रहेको ठहर गरेसँगै १२ बजेर ५२ मिनेटमा उहाँलाई आज पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइएको हो ।

लोकेश्वरलाई १२ बजेर २६ मिनेटमा तःबाहलको पार्टीबाट विधिका साथ झिकिएको थियो । उहाँलाई बोकेर हिँडाउन लाग्दा गुरुज्यूका पल्टनले सलामी अर्पण गरेका थिए । ३२ पानेजु अर्थात् पुजारी सङ्घ सचिव विनोद बज्राचार्यसहित ‘नेमराज शाक्य’ नामक दुई पुजारी र मोहन शाक्यले यस वर्ष भगवानलाई बोक्ने पालो परेको थियो । रथारोहण हुने चार दिनअघि मच्छिन्द्रनाथ बोक्ने पुजारीले शुद्ध भएर बस्नुपर्ने चलन रहेको सचिव बज्राचार्यले जानकारी दिए ।

वृष्टिदेवलाई रथारोहण गराउनुपूर्व तःबहालको दवलीमा भजन मण्डली टोलीले मृदङ्ग भजन कीर्तन पाठ गर्ने परम्परा रहेको भाष्करप्रसाद अमात्यले बताए । उनले भने, ‘उहाँलाई पुल्चोकबाट गाःबहाल हिँडाउनुपूर्व र त्यहाँबाट अन्य स्थानमा हिँडाउनुपूर्व पनि मृदङ्ग भजन पाठ गर्नुपर्ने हुन्छ ।’ मच्छिन्द्रनाथलाई हरिहरका अर्थात् महादेवका रुपमा पनि पुजिने भएकाले मृदङ्ग पाठ गरिने चलन रहेको अमात्यले जानकारी दिए ।

करुणावतारलाई रथारोहण गराउन लादा एक पानेजुले हातमा ॐ लेखेको थाली, एकले बालेको बत्ती, एकले भगवानलाई झल्लरी छाता, केहीले काँ बाजा बजाएर लगेका थिए । रथारोहणका लागि यो उत्तम र अन्तिम साइत रहेको, यो साइतमा रथारोहण नगरिएन तत्काकालै शुभ साइत नभएको, मच्छिन्द्रनाथलाई नौ महिनामा बुङ्मती फर्काउनु नहुने, असोज २ गतेदेखि मलमास शुरु हुने भएकाले त्यसबेला रथारोहण र रथजात्रा दुवै गर्न नहुने ज्योतिषी जोशीले बताए । उनले भने, ‘ललितपुरमा रहेका धार्मिक सङ्घसंस्था, ज्यापू समाज, स्थानीय जनता गुठी संस्थान शाखा कार्यालय ललितपुर र ललितपुर महानगरपालिकाको पहलमा रथारोहण सम्पन्न गरियो ।’

लोकनाथको रथारोहण सम्पन्न भएसँगै कोरोना महामारीका कारण के होला भन्ने चिन्ता हटेको ७० वर्षीय ञ्वाल सूर्यमान डङ्गोलले बताए । यसअघि हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन रक्तावलोकितेश्वरलाई रथमा विराजमान गराउने चलन थियो ।

यो काठमाडौँ उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो । यसपटकको रथारोहणमा कोभिड–१९ सङ्क्रमणको बेवास्ता गरी हजारौ मानिस रथारोहणमा उपस्थित भएका थिए । काठमाडौँ उपत्यकामा मुहार रातो भएका रक्तावलोकितेश्वर करुणामयको स्थान निकै उच्च छ ।

किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोंकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए ।

तान्त्रिक गुरु बन्धुदत्त बज्राचार्यले रथ निर्माण गर्न अपनाएको विधिअनुसार नै रथ निर्माण गर्ने गरिएको छ । मच्छिन्द्रनाथको रथ शिखराकार भई माथिको गोलाइ सानो हुँदै जान्छ । रथमा त्रयोदश भुवनको प्रतीकस्वरुप तेह्र तला राखिन्छ । रथ बत्तीस लक्षणले युक्त मानिन्छ । रथका चार पाङ्ग्रालाई चार भैरवको प्रतीस्वरुप मानिने ८३ वर्षीय ञ्वाँल आशालाल महर्जनले बताए। उनले भने, ‘यी चार भैरवहरुमा हयसिद्ध, हयग्रीव, लुप्त संहार (लुइता संहार) र लुभूको नन्दकुण्ड हुन् ।’

रथको मुनि बीचमा राखिएको लामो काठलाई घःमा भनिन्छ । घःमालाई कर्कोटक नागका रुपमा मानिएको छ । यसको अग्र भागमा हयग्रीव भैरवको मूर्ति स्थापना गरिएको छ । रथ तान्दा कुनै बिघ्नबाधा नहोस् भनेर कर्कोटक नागराजको शिखा बिघ्नातक भैरवलाई आह्वान गरिन्छ ।

रथ तान्दै लैजाँदा दायाँबायाँ नढल्कियोस् भनी मेरुदण्ड सिधा गर्न डोरीले दायाँबायाँ आवश्यकतानुसार तन्काउने गरिन्छ । यसरी तान्ने डोरीलाई थरिथरि नागका रुपमा मानिने सिद्धिबहादुर महर्जनले बताए । उनले भने, ‘दायाँ जगलाई वासुकी नाग र बायाँ जगलाई शेषनागका रुपमा मानिन्छ ।’ रथमा मच्छिन्द्रनाथको पछाडि रक्तवर्ण बोधिसत्व स्थापना गरिन्छ । यसलाई महादेव वा शिवको प्रतीकका रुपमा मानिने महर्जनले बताए । रासस

प्रतिक्रिया दिनुहोस