महिनावारी : परम्परा र मेरो उद्दण्डता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

महिनावारी : परम्परा र मेरो उद्दण्डता


१० श्रावण २०७७, शनिबार


मैले पटक पटक सुन्दै र अखबारहरूमा पढ्दै तथा अनुभूति पनि गर्दै आएको एउटै कुरा हो महिलाहरू आफ्ना लेख रचनाहरूमा चुलोचौको, परिवार र महिनावारी भन्दा पर खासै जान सक्दैनन् । फराकिलो सोचाई राख्न सक्दैनन् । सधैँ यस्तै भान्सा, तरकारी अनि लोग्ने र परिवारको परिवेशमै सीमित हुन्छन् भन्ने टिका टिप्पणी कुनै नौलो होइन । महिलाका लेख तथा मन्तब्यहरुलाई “आइमाई कुरा” भनी खासै चासो र महत्त्व दिएर मनन गरेको पनि पाइँदैन ।

यस्ता विषयहरू सुन्दा सुन्दै पनि वास्तविकता फेरी यही नै हो । जहिले पनि यथार्थ त तितै हुन्छ भन्ने मान्यतालाई अङ्गाल्दै आलोचनाहरूलाई स्वीकार गर्ने प्रण गरेर मलाई पनि तिनै महिलाका निजी जीवनसँग जोडिएको प्रसङ्ग महिनावारीको विषयमा केही लेख्न मन चल्यो ।

यो लेख पढेपछि मलाई लाग्ने आरोप पनि त्यस्तै हुनेछन् नै तथापि त्यसको सामना गर्ने हिम्मत राखेरै यो लेख्दैछु । मेरो यो लेख पढेर मलाई लाग्ने आरोपहरूको मैले पूर्वानुमान गर्नै पर्दैन । पक्कै पनि नेपाली परम्परा विरोधी, नास्तिक, अधर्मी, पापी आदि आदि रूपमा मेरो परिचय हुनेछ । तर मैले ती सबै कुरा सहस्र स्वीकार गर्ने अठोट गरिकन नै केही लेख्ने जमर्को गर्दैछु ।

महिनावारी भनेको महिलामा हुने शारीरिक परिवर्तनहरू मध्येको एक परिवर्तन हो । यो महिलाको शरीरमा भएका हार्मोन्सको मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ । यो एक शारीरिक एवम् जैविक प्रक्रिया हो । यसमा अन्धविश्वासको कुनै लेनदेन नै छैन । यो त केवल शरीरको विज्ञानसँग सरोकार राख्ने प्रक्रिया मात्र हो ।

हामी कहाँ छाउपडी प्रथा आज पर्यन्त पनि सामाजिक बहसको विषय बनेको छ । जहाँ महिलालाई महिनावारीको बखत अलग्गै असुरक्षित ढङ्गले राखिने परम्परा छ । यो प्रथा अहिले विभिन्न अभियान सञ्चालन गरी जागरण मार्फत हट्दै गएपनि मानसिक रूपमा यस सम्बन्धी धारणाहरू फेरिएका छैनन् । अभियान मार्फत छाउगोठहरू भत्काइए पनि सदियौँदेखि समाजमा जरो गाँडेको अन्धविश्वास जालो भने अझै भत्किसकेको छैन ।

मासिक श्राव महिला प्रजननका निमित्त योग्य भएको सङ्केत पनि हो । तर, चेतनाको अभावमा पहिलो पटक महिनावारी हुँदा केटीहरू डराउने गर्दछन् । विभिन्न धार्मिक मान्यताले गर्दा उनीहरू घरभित्रै धेरै काम गर्नबाट वञ्चित हुन्छन् । या उनीहरूलाई रोक लगाइन्छ । गाउँको मात्र होइन सहरी सम्भ्रान्त सभ्यतामा समेत महिनावारी भएका महिलालाई धेरै कुरामा बन्देज लाग्छ ।
यसै प्रसङ्गमा मेरो आफ्नै जीवनको एउटा कथा जोड्न मन लाग्यो । कुरा केही वर्ष अघिको हो । भाइटिका मनाउनको लागि म घर गएको थिए । भाइटिकाको दिन बिहानै मलाई महिनावारी भयो । मैले कसैसँग पनि शेयर गरिन । चुपचाप टिकाको तयारी गरिरहे ।

मेरी शिक्षक दिदी पनि टाढाबाट तिहारकै लागि भनेर माइतीघर आएकी थिइन । दिदी र मैले संयुक्त रूपमा दाजुभाइलाई टिका लगाउने कार्यक्रम थियो । टिकाको ठिक साइतकै बेला भैसकेको थियो । तर दिदी एकाएक हराइन् । एक छिन पछि गहभरि आँसु झार्दै दिदी देखा परिन् । कुरा अरू केही थिएन उनिलाई महिनावारी भएछ । दिदीले आफ्नो भाग्यलाई दोष दिँदै आफैलाई श्राप गर्दै दुख मानेर परैबाट रुँदै टुलुटुलु हेरेर बसिन् । दिदीले त तत्काल स्वयं आफैले आफैलाई अछुत घोषित गरिन् । त्यो महान् अवसरबाट आफैले आफैलाई वञ्चित गराइन् ।

यता म भनेँ दिदीभन्दा पहिल्यै मिन्स भैसकेको भए पनि निर्धक्कका साथ टिकाको लागि तम्तयार गर्दै थिए । यो कुरा मैले कसैलाई पनि शेयर गरेको भने थिइन । यस्तो कुरा शेयर गरेर वर्ष दिनभरिमा एक दिन आउने चाडपर्वबाट मैले आफूलाई वञ्चित गर्न पटक्कै चाहिनँ ।

तर, मलाई विश्वास थियो कि मैले यो कुनै पाप गरेको होइन । यो त एक प्राकृतिक प्रक्रिया मात्र हो । जुन स्वाभाविक गतिमा भइरहन्छ । किनकि शेयर गरेको भए म एक वर्षमा एक दिन मात्र आउने महान् चाड मनाउनबाट वञ्चित हुने थिए । र म मात्रै होइन मेरा दाजुभाइको निधार पनि खाली हुने थियो ।

यी र यस्ता थुप्रै प्रसङ्गहरू छन् जहाँ मैले महिनावारीको अवज्ञा गरेर स्वाभाविक रूपमा ग्रहण गरिरहे । म एक साधारण परिवार र गाउँले परिवेशमा जन्मी हुर्केको केटी, मलाई सुरुवाती फेजमा यो बारेमा चेतना थिएन । जब बुझ्ने भए यसलाई मैले सामान्य रूपमै लिएँ । मैले महिनावारिकै नाममा कुनै पनि कुराबाट आफूलाई वञ्चित गर्न मन लागेन । मन लागेको जति गर्दै आए ।

महिनावारी बारे गलत धारणाहरू वा भ्रमहरू हाम्रो समाजमा रहँदै आएका छन् । पढेलेखेका महिलाहरू स्वयम् यस विषयलाई धर्म, संस्कार र परम्परासँग जोडेर महिनावारीलाई अशुद्ध बनाउने गरेको तितो यथार्थहरू हामीले अनुभूति गरेकै विषय हो । आफूलाई अछुत बनाउनमा महिलाहरू स्वयमकै अझ बढी हात रहेको देखिन्छ । जतिसुकै सभ्य र सहरी संस्कारमा हुर्केकी महिला किन नहुन महिनावारीको समयमा आफूलाई अलग्याउने परिपाटी एकदमै रहेको पाइन्छ ।

घरबाहिर सार्वजनिक मञ्चहरूमा महिलाका अधिकार, स्वतन्त्रता र उन्मुक्तिका चर्का चर्का भाषण गर्दै युग परिवर्तनका आवाज बुलन्द गर्नेहरू नै घरभित्र छिरेपछि महिनावारीको वेला भान्सा र पुजाकोठाबाट अलग बन्न रुचाउने प्रवृत्ति रहेको देखिन्छ ।

महिनावारि हुँदा महिला स्वयमले चाडपर्व, विवाह, वर्तवन्ध आदि धार्मिक रीति र संस्कारमा आफूलाई अपवित्र ठान्ने र अलग्याउने गरेका घटनाहरू कुनै नौला विषय होइनन् । धर्म र संस्कारका नाममा अन्धविश्वास पालेर आफ्नै शरीरलाई कष्ट दिने गरेको थुप्रै दृष्टान्तहरू हाम्रो समाजमा रहेका छन् । त्यसमा पनि शिक्षित र सम्भ्रान्त घरानामा अझै बढी व्याप्त रहेको छ ।

जबसम्म महिला स्वयम् आफैले आफूभित्र रहेको परम्परागत अन्धविश्वास भ्रमबाट माथि उठ्न सक्दैनन् तबसम्म छुई प्रथासँग जोडिएका यावत कुरूप दृश्यहरू हामीले व्यहोरी रहनुपर्नेछ । विशेष गरी महिलाका हक, अधिकार र स्वतन्त्रताका लागि अग्रपङ्तिमा रहेका अधिकारवादी र बिद्धतवर्ग नै सबैभन्दा पहिला परिवर्तन नभईकन अन्य सर्वसाधारण महिलाहरूलाई जागरण ल्याउन सम्भव छैन । अतः परिवर्तन चाहने हो भने सुरुवात स्वयमबाटै गर्ने अठोट गरौँ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस