गुगलका पूर्वकर्मचारीमाथि १८ करोड डलर जरिवाना « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गुगलका पूर्वकर्मचारीमाथि १८ करोड डलर जरिवाना


२ असार २०७७, मंगलबार


काठमाडौं । गुगलका एक पूर्व कर्मचारीमाथि १८ करोड डलर जरिवाना गरिएको छ । अमेरिकाको सनफ्रान्सिस्को स्थित एक अदालतले गुगलका पूर्व कर्मचारी एन्थोनी लेभान्डोस्कीमाथि १७ करोड ९० लाख डलर जरिवानाको फैसला सुनाएको हो ।

ती कर्मचारीले व्यवसाय सम्बद्ध गोप्य जानकारीहरु सार्वजनिक गरेको अभियोगमा जरिवाना गरिएको जनाइएको छ । आदेश अनुसार लेभान्डोस्कीले उक्त रकम गुगललाई क्षतिपूर्तिबापत तिर्नुपर्नेछ ।

स्मरण रहोस्, गुगलको जागिर छाडेसँगै लेभान्डोस्की र उनका सहकर्मी लिओर रोनले ओट्टो नामक स्वचालित गाडी कम्पनी स्थापना गरेका थिए । त्यसअघि उनीहरु गुगल कम्पनीको स्वचालित गाडी सम्बन्धी विभाग ‘वेमो’मा कार्यरत थिए ।

गुगलका ती पूर्व कर्मचारीले स्थापना गरेको कम्पनी गुगलकै प्रतिस्पर्धी कम्पनीको रुपमा स्थापना भएको थियो जो स्वचालित ट्रकहरु उत्पादनमा केन्द्रित थियो । अन्ततः उनीहरुले स्थापना गरेको नयाँ कम्पनी पनि गुगलले नै खरीद गर्नुपरेको थियो ।

ती दुई व्यक्तिले गुगलसँगको सम्झौता तोडेर अस्वस्थ प्रतिस्पर्धामा उत्रिएको आरोप गुगलको थियो । उनीहरुले गुगलका व्यापार सम्बद्ध गोप्य जानकारीहरु समेत अनधिकृत रुपमा दुरुपयोग गरेको दाबी गुगलको थियो ।

तर रोनले केही रकम तिरेर गुगलसँगको विवाद समाधान गरेका थिए । तर लेभान्डोस्कीले भने गुगलको आरोप अस्विकार गर्दै कानूनी लडाइँमा होमिएका थिए । अन्ततः अदालतले उनीमाथि १७ करोड ९० लाख जरिवानाको फैसला गरेको छ । तर लेभान्डोस्कीले भने आफुले त्यतिधेरै रकम तिर्न नसक्ने भन्दै आफु टाट उल्टिएको निवेदन पेश गरेका छन् ।

आफ्नो कूल सम्पत्ति नै बढिमा १० करोड डलर मात्र रहेको भन्दै उनले आफुले १७ करोड ९० लाख जरिवाना तिर्न नसक्ने बताएका छन् । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस