कोरोनाको समाज शास्त्रीय पक्ष : बेवास्तामा सामाजिक पक्ष « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कोरोनाको समाज शास्त्रीय पक्ष : बेवास्तामा सामाजिक पक्ष


२६ जेष्ठ २०७७, सोमबार


मानिसको जीवनभन्दा ठूलो विषय अन्य पक्ष पक्कै होइनन्। मर्नु त एक दिन छदैंछ तर पनि मानिस बाँच्नको लागि हर सम्भव प्रयास गरिरहेकै हुन्छ र कयौं कठिनाइसँग जुधिरहेकै हुन्छ । मानिसले अनेक महामारीलाई जितेर अहिलेको अवस्थासम्म आइपुगेको छ। तर जति नै कोसिस गरे पनि प्रकृतिमाथि जित हात पार्न सहिदैन अर्थात् प्रकृति विरुद्ध जाने कुनै उपचार नै छैन।

पहिलोपटक जब कोरोना चीनमा देखा पर्‍यो त्यसपछि यो गम्भीर रोगको रुपमा चर्चा हुँदै गयो । श्वासप्रश्वासमा गम्भीर समस्या ल्याउने, निमोनिया हुने, उच्च ज्वरो आउने, उपचार नहुने जस्ता चर्चा गरिएको थियो। त्यहिकारण विश्वका केही अपवाद बाहेकका देशले पहिलो सङ्क्रमित देखिएपछि मुलुक लकडाउन गरे र हाल बिस्तारै खुला हुँदै गइरहेका छन्। कोरोनालाई जुन रूपमा भयानक भनियो त्यो रूपमा हालका अधिकांश सङ्क्रमितलाई लक्षण नदेखिनु अध्ययनको विषय हो।

यद्यपि कतिपय विज्ञले यसलाई सामान्य मान्न तयार छैनन् र अझै भयानक रुपमको पर्खाइमा छन् जो आउने नै हो वा होइन भन्न सकिने कुनै आधार छैन। कोरोना पोजिटिभ देखिएका हालसम्म नेपालमा १४ जनाको मृत्यु भएको छ र विश्वमा यो सङ्ख्या ४ लाख बढी पुगेको छ। कोरोनाबाट मृत्यु हुने कारण कोरोना  हो वा अन्य दीर्घ रोग समेत भएका व्यक्तिको मृत्यु भएको त्यो सम्बन्धमा खासै अध्ययन भएको समेत पाइँदैन। कोरोना नियन्त्रण यसको अचुक औषधी वा भ्याक्सिन पत्ता नलागेसम्म सम्मभव नभएको प्रस्ट नै छ तर भ्याक्सिन वा उपचार हुँदैमा रोग निर्मूल हुन्न भन्न पनि सकिँदैन। जस्तै डब्लुएचओको तथ्यांकअनुसार हामीलाई सामान्य लाग्ने झाडापखालाबाट वार्षिक ५ लाख २५ हजार बालबालिकाको मृत्यु हुने गर्छ।

कोरोनाबाट हुने आर्थिक क्षतिको मूल्याङ्कन भैरेहको पाइन्छ। मानिस मानवीय मर्यादाका साथ बाच्नको लागि आर्थिकका साथै सामाजिक सांस्कृतिक पक्षको भूमिका पनि महत्त्वपूर्ण रहेको हुन्छ। जससम्बन्धमा अव चिन्ता गर्नुपर्ने बेला भएको छ। तर यो पाटो केही हदसम्म छायामा नै परेको छ।

वर्ल्ड इकोनोमिक फोरमको वेबसाइटमा उल्लेख भएको तथ्याङ्कअनुसार विश्वमा प्रत्येक दिन झन्डै १ लाख ५० हजारको मृत्यु हुने गरेको छ। जसमध्ये मुटुसम्बन्धी रोगको कारण सबैभन्दा बढी दैनिक ४८ हजार ७ सय ४२ जनाको मृत्यु हुन्छ। त्यसै गरी दोस्रोमा क्यान्सरका कारण २६ हजार १ सय ४१ जनाले दैनिक ज्यान गुमाउँछन्। श्वासप्रश्वास सम्बन्धी समस्याका कारण दैनिक १० हजार ७ सय २४ जनाको मृत्यु हुन्छ। श्वासप्रश्वास सम्बन्धी नै लोयर रिस्पाइरेटरी इन्फेक्सनका कारण दैनिक ७ हजार १० जनाको मृत्यु हुन्छ। उल्लेखित मृत्युका कारणहरू प्रमुख दश मृत्युको कारण मध्ये प्रमुख चार कारण हुन्।

कोभिड १९ भाइरसले सबै उमेरका मानिसहरूलाई सङ्क्रमित गर्ने भए पनि आजसम्मको प्रमाणले दुई समूहका व्यक्तिहरू गम्भीर कोभिड १९ रोग हुने बढी जोखिममा भएको भनिन्छ। ६० वर्ष माथिका व्यक्ति र हृदय रोग, मधुमेह, दीर्घ श्वास रोग, क्यान्सर जस्ता रोगसँग लडिरहेका व्यक्तिहरू जो रोगहरू उच्च मृत्युदर भएका रोगहरू मध्येकै हुन्। कोरोना पोजेटिभ भएका हाल दैनिक ५/६ हजार व्यक्तिको मृत्यु हुने गरेको छ र कोरोना पहिचान भएको पाँच महिनामा हालसम्म करिब ३ लाख 57 हजारको मृत्यु भएको छ। जबकि विश्वमा दैनिक १ लाख ५० हजारको मृत्यु हुन्छ जो यसको गणनामा आउँछन् वा आउँदैनन् अध्ययन छैन।

ध्यान नदिएको सामाजिक विचलनको पाटो
समाज शास्त्रीको भाषामा समाजमा प्रचलित मूल्य, मान्यता तथा प्रचलित औपचारिक तथा अनौपचारिक नियम कानुनको उल्लङ्घन गर्नु सामाजिक विचलन हो। समाज सामाजिक सम्बन्धनको जालो हो। अर्थात् मानिसहरूबिच हुने सम्बन्ध, अन्तर निर्भरता, सहयोगको जालो समाज हो र निश्चित सम्बन्धको आधारमा सञ्चालन भइरहेको हुन्छ। जब यसको सुसम्बन्धमा खलबल आउन थाल्छ तब समाजको पाटो फरक हुन जान्छ। दुई महिनाभन्दा बढी समयदेखि जारी लकडाउनको समयमा यस्ता सामाजिक विचलनका प्रशस्त उदाहरण देख्न र सुन्नमा आएका छन्, जो छायाँमा परेको छ। लकडाउनको उद्देश्य अत्यावश्यक काममा बाटोमा हिँड्न रोक्ने होइन र हिँड्दैमा कोरोना फैलिने पनि होइन।

यद्यपि हामीले सामाजिक दुरी कायम गरे पुग्नेमा सार्वजनिक बाटो, गल्ली, पुल जस्ता सार्वजनिक स्थान बन्द गर्ने कार्य भइरहेको छ। पछिल्लो समयमा पश्चिम रुकुममा भएको जातीय विभेदसम्बन्धी घटनामा समेत लकडाउन उल्लङ्घन भएकाले भएकाले भन्ने समेत आएको छ। काठमाडौँ लगायतका सहरमा लाखौँ मानिसहरू भाडामा बस्छन्, उनीहरू सङ्क्रमित नभएपनि फर्केर आएर बस्न सक्ने अवस्था छैन। कोरोना पोजेटिभ देखिएका व्यक्तिको मृत्यु हुँदा संस्कारअनुसारको अत्यष्टी हुन सकेन, उपचारमा संलग्न स्वास्थ्यकर्मी आफ्नो घर तथा आवासमा मात्र नभई होटलहरुमा समेत बस्न नसक्ने अवस्था आएको छ, अत्यावश्यक सेवाका सवारी समेत केही स्थानीय तहमा चल्न सक्ने अवस्था छैन, केही समय अघि स्वास्थ्यकर्मीमाथि सामाजिक अभियन्ताको नाममा अधिकारविहीन व्यक्तिबाट खानतलासी एवं अमानवीय व्यवहार भयो। यस्तो अवस्था लकडाउनको अवधिमात्र सीमित रहन्छ भन्न सकिँदैन र कोरोना सहजै निर्मूल भएर जाने अवस्था समेत देखिँदैन। यी सामाजिक विचलनका केही सीमित उदाहरण मात्र हुन् जो प्रकाशमा आएका छन्। तर समाजमा यसले नराम्रो दरार ल्याइरहेको छ । कोरोनाको प्रभाव मूल्याङ्कनमा मानवीय आर्थिक मात्र नभएर सामाजिक पाटोलाईसमेत हेरिनु आवश्यक छ र त्यसतर्फ समेत आवश्यक नियमन हुन जरुरी छ।

केही आशा :
समय अझै बिग्रिसकेको छैन। कोरोना तत्काल निर्मूल हुँदैन । नेपालकै सङ्क्रमित व्यक्ति विनालक्षण निको भइरहेको हेर्ने कित तिनीहरूलाई कोरोना नै लागेको होइन या कोरोनाबाट अब धेरै डराउनुपर्ने अवस्था होइन। तसर्थ अब कोरोनासँगै जीउन सिक्नुपर्छ भन्ने आवाज राज्यका जिम्मेवार व्यक्तिबाटै सुनिन थालेको छ। तसर्थ समाजमा पनि आफू सुरक्षित हुने उपाय अपनाऔँ। सामाजिक दुरी कायम गरेर यसलाई नियन्त्रण गर्न सकिन्छ भन्ने बुझौँ। नेपालका अधिकांश सङ्क्रमित आफू सङ्क्रमित भएको कुनै आभास गरेका छैनन् तर परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको हुन्छ। सम्भावित सबैको परीक्षण भएको छैन, नमुनाको रूपमा छनौट भएका केही व्यक्ति मात्र सङ्क्रमित देखिएका हुन्। परीक्षणको दायरामा नपरेका तपाई हामी धेरै सङ्क्रमित नहौला भन्न सकिने अवस्था छैन। तर हामीले महसुस गरेका छैनौ। हामी हस्पिटलमा जानुपरेको छैन। उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी एवं पत्रकार समेत सङ्क्रमित भएका छन् तर उनीहरू सिकिस्त भएर जाँचिएका होइनन् र हाल कतिपय भाइरसमुक्त समेत भैसकेका छन्। तसर्थ अव नोसोफोवियालाई बढवा नदिऔँ। कोरोना भाइरसका कारण हाम्रो अर्थतन्त्र खस्किसक्यो तर हाम्रो सामाजिक एकतामा खलल नल्याऔँ। सौहार्दतालाई कायम नै राखौँ। पछिल्लो समयमा नेपालको नक्साको विषयमा सबै नेपाली एक भएका छन्, जसले हाम्रो राष्ट्रियता अब्बल रहेको देखिन्छ। तर सामाजिक एकतामा विचलन आउँदै जाने हो भने त्यसले राष्ट्रियतालाई समेत खतरा हुनसक्छ। यसर्थ कोरोनालाई बुझौँ, चिनौँ र यसको मूल्याङ्कन गरौँ। सबै मिलेर यसलाई परास्त गरौँ।

Tags :
प्रतिक्रिया दिनुहोस