डा. केसीको १८ औँ सत्याग्रह दार्चुलामा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डा. केसीको १८ औँ सत्याग्रह दार्चुलामा


२० जेष्ठ २०७७, मंगलबार


दार्चुला । डा. गोविन्द केसीले दार्चुलादेखि १८औँ सत्याग्रह सुरु गरेका छन् । मंगलबार बिहान १० बजे पत्रकार सम्मेलन गर्दै डा. केसीले गल्फैस्थित जगन्नाथ मन्दिर क्षेत्रमा दुई दिनका लागि सत्याग्रह सुरु गरेका हुन् ।

चिकित्सा शिक्षा सुधारका अभियन्ता केसीले सीमाञ्चललगायतका सबै नागरिकहरुको समृद्धि, नेपालको सार्वभौमसत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँचका लागि भन्दै दार्चुलामा १८औं सत्याग्रह बसेका छन् ।

उनी जेठ १ गते दार्चुला पुगेका थिए । उनले सिंहदरबारबाट राष्ट्रियता बुझ्न नसकिने भन्दै भारतद्वारा अतिक्रमित भूमि फिर्ता गर्न सरकारले तत्काल प्रक्रिया अगाडि बढाउनुपर्ने र सीमाक्षेत्रका नागरिकका पीडा बुझ्नुपर्ने भन्दै सत्याग्रह दार्चुलाबाट सुरु गरेका हुन् ।

भारतले नेपाली भूमी अतिक्रमण गरी दार्चुलाको व्यास गाउँपालिका १ व्यास क्षेत्रमा राखेको भारतीय फौज हटाउनुपर्ने र त्यस क्षेत्रमा नेपालले आफ्ना सेना राख्नुपर्ने डा. केसीको माग छ ।

दार्चुलालगायत सीमा क्षेत्रका बासिन्दाका लागि यातायातको सहज पहुँच निर्माण गर्नुका साथै गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गर्नुपर्ने, भारतबाट मिचिएको नेपाली भ्रमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्नुपर्ने मुख्य उनको सत्याग्रहका मागहरु रहेका छन् ।

त्यस्तै गण्डकी प्रदेशलगायत डडेलधुरा, बर्दिबास, उदयपुर, इलामलगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अघि बढाउनुपर्ने, गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याउन तथा कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था गर्नुपर्ने र यस अगाडि भएका सबै सम्झौता कार्यान्वयन गर्नुपर्ने सत्याग्रहका मागहरु रहेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस