समृद्धिको पर्खाइमा रुवीभ्याली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

समृद्धिको पर्खाइमा रुवीभ्याली


१९ जेष्ठ २०७७, सोमबार


नेपाल सरकारको २५ वर्षे दीर्घकालीन सोचमा देशलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने घोषणासँगै ७५३ वटै स्थानीय तहले यसै अनुरूप नीति तथा कार्यक्रमहरू बनाउने र कार्यान्वयन गर्ने क्रममा रहेका छन् । विगतमा अनुभव नभएको अधिकांश स्थानीय तहहरूको हैसियतलाई केन्द्रमा राखेर तुलोमा जोख्ने काम पनि नभइरहेको होइन तर ‘खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ’ भनेझैँ वास्तविकता बुझ्न ३६५ दिन, आवधिक योजना र दीर्घकालीन योजनानै कुर्नै पर्दैन ।

रुवीभ्याली गाउँपालिकाको विकास र समृद्धि विना के बाग्मती प्रदेशले आफ्नो नीति तथा कार्यक्रम सफल भएको दाबी गर्न सक्लान् ? धादिङ जिल्लाले समृद्धि र विकासको श्वास फेर्न सक्लान् ? के नेपाल राज्यले खुसी नेपालीको घोषणा गर्न सकिन्छ होला ? हुन त ‘नजिकको तीर्थ हेला’ भने झैँ अनेक सम्भावना बोकेको रुवीभ्याली गाउँपालिका पछि परेको भन्दा पनि पछि पारिएको हो भन्ने वास्तविकता रुवीभ्यालीमा पाइला टेक्ने जो सुकैले व्यक्त गर्न सक्दछ । देशको ‘समृद्ध नेपाल सुखी नेपालीको सपनालाई टाढाबाट हेरिरहने, ‘मनको बह कसैलाई नकह’ भनेझैँ तिब्बतसँग टाँसिएर गणेश हिमालको काखमा लुकेर बसिरहेको र काठमाडौँ र धादिङबेशींका चिल्ला मोटर बाटोसँग सम्बन्ध जोड्न खोजे पनि कसैले सम्बन्ध विच्छेद नै गराएको जस्तो तर अथाह सम्भावना बोकेको, विगतमा अरूबाट समेत आशा जगाइ छाडेको अवशेषहरू देखिने विकास र समृद्धिको पर्खाइमा रहेको एउटा भूगोलको बिल्ला भिराइ टाढा र दुर्गम पारिएको एक स्थानीय तह हो रुवीभ्याली गाउँपालिका ।

धादिङबेशीको पुच्छार बजारबाट गाउँ लाग्ने सिमानामा एउटा बोर्ड देख्न सकिन्छ । त्यसमा लेखिएको छः साङ्कोष-तिप्लीङ सडक १०३ कि.मि. । यो सडकको वि.सं. २०६३ अघिनै नामाकरण भएको थियो । यद्यपि यसको डिपिआर भएको २-३ वर्ष जति मात्र भयो । सडक विभागले यो कामको टेन्डर प्रक्रिया अघि बढाएको हो । तिप्लीङ रुवीभ्याली गाउँपालिकाको साबिक गा.वि.स. र हाल १ र २ नं वडा मा फैलिएको वडा हो । २९ किमि धुलो र हिलो बाटोको यात्रा पछि नेत्रवती डबजोङ गा.पा. को लपाङ फेदी भन्ने स्थान अवस्थित छ । उक्त स्थानमा पुल नभएकोले खोला तर्नुको विकल्प छैन । हाल उक्त स्थानमा पुल निर्माणको काम सुरु भएको छ । एक पटक २०७६ कार्तिक महिना तिर नेपाल टिभीमा त्यहाँको समस्याकोबारे समाचार प्रसारण पनि भएको थियो त्यो त्यहिँ स्थान हो । करिब ७-८ किमि पर डुन्डुरे खोला रहेको छ । हाल उक्त स्थानमा पक्की पुल निर्माण हुने क्रममा रहेको छ । उक्त पुल कोदारी तातोपानीको भोटेकोशी माथिको मितेरी पुल जस्तै हो । उक्त डुन्डुरे पुल पारिको जीवन कष्टकर मात्र होइन उक्त पुल पारी हेर्दा त्यसतर्फको भूगोलनै कहाली लाग्दो देखिन्छ नै । साँच्चै जो कोहीको खुट्टा काँप्ने र मनमा डर लाग्ने हुन्छ। उक्त पुलले खनियाबास गाउँपालिकाको पेर्चौ, झार्लाङ लगायतका गाउँबस्तीहरु र सिङ्गो रुवीभ्याली गाउँपालिकालाई जोड्छ तर हाल उक्त पूल निर्माण गर्न थालेको समेत महिनौँ भइसक्यो । खनियाबास रुवीभ्यालीका करिब १५ हजार मानिस दैनिक आवात जावतका लागि सास्ती भोगिरहेका छन् । बोराङ गाउँ गाउँपालिकाको सिमाना वडा नं. ४ मा गाउँ हो । बोराङ पूर्व गृहमन्त्री बुद्दीमान तामाङको गृह बस्ती पनि हो । बोराङबाट साबिक लापा गाविस, सेर्तुङ र तिप्लीङ पुग्न सकिन्छ । पछिल्लो पटक बोराङ-धादिङबेशी-काठमाण्डौ बलेरो जीप सेवा पनि सञ्चालन गरेको थियो, तर त्यो खहरे खोला जस्तै भयो किनभने बोराङदेखि डुन्डुरे-किन्ताङफेदी र लपाङफेदीको खोला तर्नुनै महाभारत हुन्छ ! विशेषत: वर्षा महिना र पानी पर्ने बेला । हाल प्रदेश तथा गाउँपालिकाको बजेटबाट बोराङ-लापा-खादिङ खण्डको सडक ट्र्याक खन्ने कार्य भइरहेको छ ।

त्यसैगरी बोराङ -सेर्तुङ खण्डको ट्र्याक निर्माण कार्य पनि अघि बढिरहेको छ । पछिल्लो पटक गाउँपालिकाले रिङरोड अवधारणामा कूल १०९ किमि को सडक डिपिआर समेत तयार गरिसकेकोले सडक ट्रयाक खन्ने काम धमाधम भइरहेको छ । गोरखा जिल्लाको आरुघाट गाउँपालिकासँग पनि निकट भविष्यमा सडक ट्याकले जोडिदैछ । यसले लापा, खादिङ र कपुर गाउँसम्मका लागि सहजता हुनेछ । यद्यपि भूगोल, सदरमुकामबाट टाढा र अन्य असमझदारीका कारण चुस्त रूपमा कार्य भने हुन सकिरहेको छैन । डुन्डुरेदेखि करिब २२-२४ कि.मि. को बाटोको पुरानो सडक ट्र्याक पनि त्यति राम्रो छैन । चारपाङ्ग्रे गाडी पनि मुस्किलले पेर्चोदेखि बोराङसम्म जान सकिन्छ । माहिर चालकले मात्र गाडी र मोटरसाइकल चलाउन सक्छन् उक्त सडकमा । गाउँपालिकाको प्राविधिकको भनाइ अनुसार तयार भएको सडक ट्र्याक समेत धेरै स्थानमा त्रुटिपूर्ण छ । कतै मोड पुगिँदैन, कतै निकै ठाडो त कतै निकै साँघुरो छन् सडक ।

करिब १५-२० कि.मि. सडकमा जोखिमपूर्ण यात्रा गर्दा भगवानको नाम जपेरनै हिँड्नु पर्छ । यसका अलावा आधा दर्जन जतिको खोल्सा, खोलाले त झनै जोखिम बनाइदिएको छ !  सडक । रुवीभ्याली गाउँपालिकासम्म मात्र पुग्ने बाटोको यात्र एक मिसननै हुन्छ । “वन मिस्टेक गेम ओभर” भनेझैँ हल्का गल्तीले ज्यान जाने पक्का छ ! गाउँपालिका पुग्ने सडकको यात्रामा ।
रुवीभ्यालीको फरक पाटो बौद्ध धर्मावलम्बी सँगै कृस्चियन धर्मवलम्वीहरु पनि रहनु हो । यस बाहेक तामाङ समुदायमा प्रचलित लोकभाका म्हेन्दोमाया र दोरादेखि घोडा नाच, लामा नाच, झाँक्री नाचले धनी छ गाउँपालिका । पाहुना स्वागत सत्कारमा यी नृत्यहरू देखाउने परम्परा छ । म्हाने र तान्त्रिक महांकाल जात्रादेखि गुरुङ समुदायको घाटु नाच पनि प्रचलित छ रुवीभ्यालीमा ।
साबिकका तीन गाविस (लापा, तिप्लिङ र सेर्तुङ) मिलेर बनेको रुवीभ्याली गाउँपालिकामा सडक पूर्वाधार, धर्म संस्कृतिको सम्भावनाको चर्चासँगै अन्य क्षेत्रको सम्भावनालाई बिर्सन सकिँदैन । पछिल्लो जनगणना अनुसार रुवीभ्याली गा.पा.को कुल जनसङ्ख्या ९ हजार ५६५ छ । अहिले यो बढेर करिब १२ हजारको हाराहारीमा पुगेको छ । यो पालिका ४ सय १ वर्ग किलोमिटरमा भूगोलमा फैलिएको छ । यस गाउँपालिकामा ६ वटा वडा छन् । धादिङको सदरमुकामबाट यो गाउँपालिकाको सिमाना ५४ किमि र केन्द्र रहेको सेर्तुङ करिब ६४ कि.मि. छ ।

विश्व पर्यटन दिवसको अवसरमा वडा नं. ४ मा अवस्थित चालिस गाउँलाई नयाँ गन्तव्य घोषणा गरिएसँगै देश तथा विश्वले यस गाउँपालिकालाई बिर्सन सक्ने कुरै भएन । गणेश हिमालको ट्रेकिङ रुट पनि यहीँ पर्दछ । कस्तुरी, रेडपाण्डा र डाँफे लगायत विभिन्न लोपोन्मुख जीवजन्तुहरू यस पालिकामा देख्न पाइन्छ । गणेश हिमाल पर्यटन विकास समितिले गरेको कामको सराहना गर्नै पर्छ यस कार्यको लागि । त्यसै गरी विश्व मानै दुर्लभ बहुमूल्य खनिज रुवी यस पालिकामा प्रशस्त मात्रामा पाउन सकिन्छ । यद्यपि सङ्घीय सरकारले अविलम्ब स्थानीय पालिकासँग समन्वय गरी भौगोलिक सर्भे गरी सर्वसाधारणको लागि प्रतिवेदन प्रकाशन गर्नु पर्दछ जुन काममा खासै चासो चर्चा सुनिँदैन । रुवी मात्र नभएर यहाँ सिसाखानी तथा फलामखानी पनि भएकोले यसतर्फ सरकारले समयमै ध्यान दिनु जरुरी छ । गाउँपालिकाको बिच भाग र जिल्लाको पनि लगभग बिच भागमा अविरल बग्ने आंखु को सौन्दर्यताले जोसुकैको मन लोभ्याउँदछ । पालिकाभरि कम्पनी ऐन, २०६३ बमोजिम कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएका ७ वटा माइक्रो हाइड्रोहरू सञ्चालित छन् । यद्यपि त्यहाँ उत्पादन भएको विद्युत् कार्यालय मैत्री भने देखिँदैन। बेलुकी ५ बजे देखि बिहान ७ बजेसम्म मात्र आपूर्ति हुन्छ अधिकांश स्थानमा। गाउँपालिका कार्यालय, ६ वटा वडा कार्यालय, ३ वटा स्वास्थ्य चौकी, ६ वटा सामुदायिक स्वास्थ्य इकाईहरू, ४ वटा माध्यमिक विद्यालय लगायत अन्य कलकारखाना र लघु उद्योगहरू सञ्चालनका लागि केन्द्रीय प्रसारण लाइनको विकल्प छैन । हाल केन्द्रीय प्रसारण लाइनसँग जोडिन बिजुलीका खम्बाहरू ल्याउने काम भने भइरहेको छ । साथै करिब २०० मेगावाट विद्युत् उत्पादन क्षमता रहेको जलविद्युत् आयोजना वडा नं. ४ मा अवस्थित बोराङ गाउँमा निर्माणको चरणमा रहेको छ ।

तर विडम्बना रुवीभ्याली गाउँपालिकाको ९० % भूभाग सडक संजाले जोडिएको छैन । लापा, खादिङ, कपुरगाउँ, लिङ्चो, सेर्तुङ, चालिस, हिन्दुङ, पुरु, रिचेत, लाप्चेत, कुप्चेत, चपाङ्चेत, तेङ्चेत गाउँ बस्तीहरु गोरेटो बाटोमै चलिरहेका छन् वर्षौँदेखि । नेपाल जेसस सोसाइटिको पहलमा स्योमदाङ -पाङसाङ पास- तिप्लीङ सम्मको करिब २७ किमि बाटो सडक ट्र्याक निर्माण गरेको छ । यो बाटो तिप्लीङबासीले निकै मिहेनत गरेर तयार गरेको बाटो हो। यद्यपि यो कच्ची मोटर बाटो मङ्सिर-पुष देखि चैत्र अन्तिम सातासम्म पनि हिउँले अबरुद्द हुन्छ जसले तिप्लीङ लगायत लब्दुङ, पुरु र लिङ्जो गाउँ सडकबाट सम्पर्क विच्छेद हुन्छ । पछिल्लो पटकको सर्भे अनुसार सेर्तुङ लगायत रुवीभ्यालीलाई सबै भन्दा नजिकबाट सङ्घीय राजधानी काठमाण्डौं जोड्ने सडक खण्ड सेर्तुङ-मचेत-सिङ्ला-किस्पाङ सडक खण्ड हो । यो सडक ट्र्याक निर्माणको लागि गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको छ भने सङ्घ र प्रदेशबाट पनि आवश्यक पहल हुनु जरुरी छ ।

करिब ३४ कि.मि. मा नै नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिकासँग जोड्ने भएको ले तुलनात्मक हिसाबमा यो सडक खर्चिलो भइकन पनि सामरिक दृष्टिकोणले गाउँपालिकाको लागि अत्यन्त महत्त्वपूर्ण छ र हुनेछ ।

यसले स्थानीय, पर्यटक, व्यापारी, कर्मचारी लगायत सबैलाई सबै भन्दा नजिकबाट र सहजढंगबाट बजार र राजमार्गसँग जोड्ने छ ।

राजनीतिक क्षेत्रमा कम अनुभव भए पनि गाउँको विकास निर्माणमा सधैँ चासो र चिन्ता लिने जनप्रतिनिधिहरूको टिम छ गाउँपालिकामा । यद्यपि जनप्रतिनिधिहरूको अध्ययन तथा पहल कदमी भने प्रभावकारी देखिँदैन । सैद्धान्तिक निर्णय र सहमति, समझदारी बाहेक जिल्ला, प्रदेश र सङ्घमा धाउने, लबिङ गर्ने, दबाब सृजना गर्ने जनप्रतिनिधिहरू र राजनीतिक दलहरू हातको औलामा गन्न सकिन्छ । विगतमा अधिकांशको बोलिमा कर्मचारी अभावको नारा लागेता पनि पछिल्लो पटकको लोकसेवा आयोगको सिफारिसमा प्राविधिक- अप्राविधिक गरी स्थायी २७ जना कर्मचारी विभिन्न जिम्मेवारीमा नियुक्ति लिई गाउँपालिकामा पदस्थापन भइसकेका छन् ।

अबको चुनौती भनेको कर्मचारीलाई टिकाइराख्नु हो, उनीहरूलाई आवश्यक तालिम र क्षमता विकास गर्नु हो, कर्मचारी आवासको व्यवस्था गर्नु हो, सुरक्षाको प्रत्याभूति गर्नु हो, दबाब , प्रभाव र अभाव रहित वातावरणमा कार्य गराउनु हो र कर्मचारीहरूको मनोबल उच्च राख्ने वातावरण तयार गर्नु हो ।

आफ्नै प्रशासनिक भवन बनी नसकेको अवस्था , मापदण्ड बिना तयार भएको वडा कार्यालयहरूमा सेवा प्रवाह गर्नु अबका आउने चुनौतीहरू हुन ।

गाउँपालिकाको मानव श्रोत विकास र व्यवस्थापनको पाटो पनि सोचनीय छ । गाउँपालिकामा ४ वटा मावि स्कुलहरू रहेका । पछिल्लो तथ्याङ्कमा करिब आधा दर्जन जनाले मात्र स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् यस पालिका बाट । यहाँ कुनै प्राविधिक विद्यालयहरू अहिलेसम्म बनेका छैनन् । दरबन्दी धेरै कम छन् र पालिकाको अनुदानमा विद्यालयहरू सञ्चालित छन्। स्थानीय तथ्याङ्क अनुसार सम्पन्न परिवारका अधिकांश घरको बालबालिकाहरू धादिङबेशी र काठमाण्डौंका महँगा निजी विद्यालयहरूमा पढाइरहेका छन् । ६ वटा वडामा २१ वटा विद्यालयहरू रहेका छन् । रुवीभ्याली शैक्षिक स्थितिमा पनि कमजोर नै रहेको छ भन्दा फरक नपर्ला । निर्वाचित ३४ जना जनप्रतिनिधिहरू मध्ये धेरै कम मात्र साक्षर र शिक्षित छन् । विविध कारणले योग्यता र क्षमता भएका राम्रा शिक्षकहरू यहाँ आउन सकिरहेका छैनन् ।

गाउँपालिकाका पढेलेखेका युवाहरू अधिकांश काठमाडौँमा बसोबास गर्छन् । १०/१५ हजारको जागिरका लागि कसैले पनि जोखिम मोल्न नचाहेको देखिन्छ, विगतको अनुभवहरू हेर्दा र सुन्दा । कमजोर शिक्षकहरू मात्रै यहाँ पाइने भएकाले शैक्षिक स्थिति कमजोर बन्न पुगेको हो कि भन्ने पनि केही नीति निर्मताहरुको ठम्याइ छ, यद्यपि यो कुरमा पूर्ण रूपमा सहमत भने हुन सकिँदैन ।

शिक्षामा लगानीसँगै त्यसको कडाइका साथ मूल्याङ्कन र जाँच हुनुपर्छ जुन रुवीभ्याली गाउँपालिकाले छिट्टै सुधार गर्नु पर्ने विषय हो ।

सङ्घसंस्था र विभिन्न तहका सरकारको अनुदान र सहयोग बर्सेनि तथ्याङ्कमा पढ्न र देख्न सकिन्छ। सडकसँग गाउँपालिका नजोडिएसम्म राम्रा शिक्षकहरू त्यहाँ आउन चाहँदैनन् भन्ने एक वर्ग छन् । हुन पनि कमसेकम सडक भइदियो भने जाने आउनेको त मनमा अनेक कुरा त खेल्नु पर्दैन । पछिल्लो २-३ वर्षको एस.इ.इ.को नतिजा हेर्दा निकै निराशाजनक देखिन्छ । केही मा.वि. मा विज्ञान र अङ्ग्रेजी विषयका शिक्षकहरू महिनौँ भइसक्दा पनि पूर्ति भएको छैन भन्ने जानकारी प्राप्त भएको छ । यसको पछाडि फर्केर हेर्दा जनप्रतिनिधि, समुदाय, प्र.अ. र अभिभावक-विद्यार्थीहरुको समेत कमी कमजोरी देखिन्छ । यस क्षेत्रमा वैदेशिक रोजगारमा जानेको सङ्ख्या समेत उल्लेख्य छ । पछिल्लो जनगणनामा यहाँ २३०० घरपरिवार छन् भने प्रत्येक घरको १ जना विदेशिएको देखिन्छ औषतमा ।

अन्तमा जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ रुवीभ्याली गाउँपालिकाका सबै जनप्रतिनिधि, कर्मचारी, स्थानीय वर्ग, नागरिक समाज, राजनीतिक दल सहित बागमती प्रदेश सरकार र सङ्घीय सरकारले न्यूनतम पूर्वाधारको व्यवस्थापनमा यस पालिकालाई आर्थिक, प्राविधिक र अन्य सहयोग गरेको खण्डमा रुवीभ्यालीले दशकौँ पहिले देखि कुरिरहेको समृद्दी र विकासलाई छिट्टै प्राप्त गर्न सक्ने देखिन्छ ।

प्रमुख प्रशासकीय अधिकृत, रुवीभ्याली गाउँपालिका धादिङ।

Tags :
प्रतिक्रिया दिनुहोस