चौरजहारी घटना : २० जनाविरुद्ध जाहेरी, १२ पक्राउ, ८ को खोजी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चौरजहारी घटना : २० जनाविरुद्ध जाहेरी, १२ पक्राउ, ८ को खोजी


१४ जेष्ठ २०७७, बुधबार


मुसिकोट । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाका पीडित परिवारले २० जनाविरुद्ध किटानी जाहेरी गरेका छन् ।

अन्तरजातीय सम्बन्धलाई लिएर जेठ १० गते भएको घटनाका पीडित परिवारले किटानी जोहरी गरेका हुन् । पीडितले दिएको जोहेरीका आधारमा १२ जनालाई पक्राउ गरिएको र बाँकी ८ जनाको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए ।

उहाँका अनुसार वडाध्यक्ष डम्मरबहादुर मल्ल, डिल्ली मल्ल, वीरबहादुर मल्ल, प्रकाशी मल्ल, सन्तोष मल्ल, मोहन पुन मगर, रमेशबहादुर मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ललाई पक्राउ गरिएको छ । त्यस्तै तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी र १७ वर्षीया एक किशोरीलाई पक्राउ गरिएको छ । पक्राउ परेका सबैलाई १० दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको प्रहरी नायब उपरीक्षक केसीको भनाइ छ ।

जेठ १० गते शनिबार साँझ सोती पुगेका १८ युवाको समूहलाई गाउँलेले लखेट्दा तीन जनाको मृत्यु भएको थियो भने तीन जना अझै बेपत्ता छन् । जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक, गणेश बुढामगर र चौरजहारी नगरपालिका–१ का टीकाराम नेपालीको शव भेरी नदीमा भेटिएको थियो । घटनमा भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र वडा नं ४ का सञ्जु विक बेपत्ता छन् ।

बेपत्ता तीनै जनाको खोजीका लागि गोताखोर टोली परिचालन गरिएको छ । खोजीमा सशस्त्र प्रहरीका तीन गोताखोर र सहयोगीसहित सात जनाको टोलीले भेरी नदीमा खोजी गरिरहेको प्रहरीले बताएको छ । पीडित पक्षले भने जाजरकोट प्रहरीमा उजुरी दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस