जेटिएको जागिर छाडेर कुरिलो खेतीमा « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

जेटिएको जागिर छाडेर कुरिलो खेतीमा


२८ बैशाख २०७७, आइतबार


रामपुर । व्यावसायिक रुपमा कुरिलो खेती गर्नुभएका पाल्पाका जीवलाल घिमिरेलाई लकडाउनको समय कुरिलो टिप्दै बेच्ने गर्दैमा ठीक्क छ । उनी एक दिन बिराएर १५ किलोसम्म कुरिलो टिपेर बेच्ने गर्छन् । ‘लकडाउन भएपछि घरमै कुरिलो खरीद गर्न धेरै आउँछन्, लकडाउनले कुरिलोको माग बढ्यो, पुर्‍याउनै समस्या भइरहेको छ’, उनले भने । उनले गत फागुन २८ गतेदेखि हालसम्म रु एक लाख एक हजारको कुरिलो बिक्री गरिसकेका छन्।

बन्दाबन्दीको समय भएकाले बगनासकाली आसपासका क्षेत्रबाट मानिसले घरमै आएर कुरिलो लैजाने गरेपछि नियमित ग्राहकसमक्ष पुर्‍याउन नसकिएको उनको भनाइ छ । बन्दाबन्दीको समय लम्बिँदै जादा पाल्पामा कुरिलोको माग बढ्दै गएको छ । व्यावसायिक रुपमा जिल्लाको बगनासकाली– ८ बराङ्गी क्षेत्रमा कुरिलोको व्यावसायिक खेती गरिँदै आएको छ ।

घिमिरेले कुरिलोको माग अहिले ह्वात्तै बढेपछि बेमौसमी याम (मङ्सिर, पुस र माघ) मा उत्पादन लिनका लागि दुई सय बिरुवा टनेलमा लगाएका छन् । साढे तीन रोपनी क्षेत्रफलमा कुरिलो लगाएका घिमिरे बजारमा हाल प्रतिकिलो रु चार सयमा बिक्री गर्छन् ।

किसान केशवमणि बस्यालले कुरिलोको माग अहिले बढेपछि एक सय विरुवा थप गर्नुभएको छ । परीक्षणका रुपमा लगाइएको ९० बोटबाट उत्पादन राम्रो र माग धेरै भएपछि विरुवा बढाएका हुन् । यहाँ उत्पादित कुरिलोको बुटवल बजार, बुटवलको भाटभटेनी र तानसेन बजारबाट माग आउने गरेको कृषक लुमकला घिमिरेको भनाइ छ । उनी फाइदा हुने भएपछि जेटिएको जागिर छाडेर कुरिलोको व्यावसायिक खेतीमा लागेका छन् ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा मागमा आधारित व्यावसायिक कुरिलो विस्तारका लागि तालीम, वीउवितरण जस्ता कार्यक्रम गरिएको कृषि शाखा प्रमुख राजेश बोहरा बताउँछन् । उनका अनुसार गाउँपालिकाका सबैजसो ठाउँमा कृषकले थोरैथोरै भए पनि कुरिलो लगाएका छन् । बिक्रीका लागि व्यावसायिक खेती गर्ने कृषक भने करीब छ जना छन् ।

जिल्लामै कुरिलोको व्यावसायिक खेती बगनासकालीको बराङ्गी क्षेत्र मात्र भएको छ । जिल्लाका अन्य स्थानमा पछिल्लो समय घरायसी प्रयोजन र सोंखका लागि पनि कुरिलो लगाउने गरिएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउँछन् । मागमा आधारित कार्यक्रमअन्तर्गत अनुदान दिनलिनका लागि एक कृषकले कम्तीमा २० रोपनी क्षेत्रफलमा खेती गरेको हुनुपर्ने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस