राज्यमन्त्री दुगढ कालोबजारीया छुटाउन कुदेकै हुन् त ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राज्यमन्त्री दुगढ कालोबजारीया छुटाउन कुदेकै हुन् त ?


१ बैशाख २०७७, सोमबार


काठमाडौँ । स्वास्थ्य सामाग्रीको कालोबजारी गर्ने नेपालका लागि किर्गिस्तानका अवैतनिक महावाणिज्य दूत एवं शङ्कर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो । उनको पक्राउसँगै नेपालमा आपतविपतमा पनि घरानियाँहरु कसरी कालो बजारी गर्दा रहेछन् भन्ने प्रस्ट्यायो । नेपालका ख्यातिप्राप्त व्यवसायीमा कहलिएका उनलाई विपद्का बेला स्वास्थ्य सामाग्रीमा कालोबजारी नै गर्न जरुरत थिएन तर मति बिग्रेपछि कसको के लाग्छ र ! उनी प्रहरी हिरासतमा पुगे । यससँगै उनलाई छुटाउन अनेक शक्तिकेन्द्रहरूबाट दबाब आउन सुरु भयो । त्यसमध्येका एक उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगढको नाम पनि सञ्चारमाध्यममा आयो । के हो वास्तविकता ? विश्व महामारीमा जानाजान अपराध गर्नेलाई राज्य संयन्त्रमा बसेको जिम्मेवार व्यक्ति छुटाउन गएकै हुन् त ? प्रशासनको प्रश्न राज्यमन्त्री दुगढलाई ।

राज्यमन्त्री दुगढ कालोबजारीया छुटाउन कुदेकै हुन् त ?
यो कुरामा दम किन छैन भने यसको प्रमाण हुनुपर्‍यो नि ! कसैले प्रधानमन्त्रीकोमा पुग्यो भने त कसैले प्रचण्डकोमा पुग्यो भने । तर उहाँहरूले नै हामीकहाँ कसैको कुरा गर्न आएको छैन भनेका छन् । अन्दाजका भरमा भन्नुहुँदैन । एउटा व्यापारी समुदायको मान्छे फस्यो र मन्त्री पनि व्यापारी समुदायबाट हो, अवश्य नै केही न केही त सहयोग गर्छ होला भनेर पनि अनुमानमा भन्ने पनि छन् ।

सम्बन्धित समाचार : कूटनीतिक नम्बरको गाडीमा थर्मोगनको कालोबजारी गर्ने शंकर ग्रुपका सञ्चालक अग्रवाल पक्राउ

सुलभ अग्रवाललाई समातेको दोस्रो दिन प्रधानमन्त्रीकोमा पुग्नु भएको होइन र ?
अवश्य पनि हरेक दुई तीन दिनमा त प्रधानमन्त्रीज्यूकोमा त पुग्नै पर्छ नि रिपोटिङको लागि । त त्यसैको लागि गयो होला भनेर अनुमानकै भरमा कुराहरू हुन्छन् ।

सम्बन्धित समाचार : विश्व महामारीमा कन्सुलरको कालो धन्दा !

प्रमाणसहित रंगेहात पक्राउ परेका व्यक्तिलाई सरकारको एउटा राज्यमन्त्री छुटाउन गएको सत्य होइन त्यसो भए ?
सत्यता छैन । सानो घराना होस् या ठुलो होस्, गैर कानुनी काम गर्ने र गलत काम गर्ने जोसुकै पनि बराबर अपराधको भागीदार हुन्छन् । यो ठुलो मान्छे हो, यो सँग धेरै पैसा छ भन्ने होइन । सबैको लागि कानुन बराबर छ ।

सम्बन्धित समाचार : स्वास्थ्य सामाग्रीको कालो बजारी गर्ने सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राख्न अनुमति

दोस्रो कुरा यसरी गलत काम गर्नेलाई छुटाउँदै गयौँ भने सरकारले गर्ने काममा धेरै बाधा आउँछ । सबै चोर, भ्रष्टाचार, गलत काम गर्नेलाई छुटाउँदै गयो भने त देशलाई समस्या हुन्छ । राज्य र हामी बदनाम हुन्छौँ । त्यसैले म सुलभ अग्रवाललाई छुटाउन गएको कुरा अन्दाजको भरमा लेखिएको कपोकल्पित हो । उनलाई छुटाउन प्रधानमन्त्रीज्यू कहाँ कुनै पनि किसिमको डेलिगेसन लिएर गएको छैन ।

जो कोही गलत गर्नेले उन्मुक्ति पाउँदैन र पाउनु पनि हुँदैन । प्रशय दिनु हुँदैन । सिडिओ र प्रहरीले आफ्नो काम गर्छ, त्यसमा कहीँ पनि हस्तक्षेप हुँदैन र हुनु पनि हुँदैन । र, मेरो एकदमै नजिकको मान्छे पनि होइन । यस्तो गलत काम गर्ने दाजुभाइ नै भए पनि छोड्नु हुँदैन ।

Tags :
प्रतिक्रिया दिनुहोस