विश्व महामारीमा कन्सुलरको कालो धन्दा ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विश्व महामारीमा कन्सुलरको कालो धन्दा !


२५ चैत्र २०७६, मंगलबार


काठमाडौँ । यति बेला विश्व कोरोना भाइरसबाट आक्रान्त छ । समुदायका हरेक वर्गहरू आ-आफ्नो ठाउँबाट के कस्तो योगदान पुर्‍याउन सकिन्छ भनेर लागि परेका छन् । नेपाल सरकारले पनि सिँगो मुलुकलाई नै लकडाउन गर्दै नियन्त्रण तथा रोकथामका लागि बलबुताले भ्याएसम्मका सबै प्रयास गरिरहेको छ । तर नेपालका एक चर्चित व्यापारी तथा कन्सुलर भने कालोबजारी गर्दागर्दै रंगेहात पक्राउ परेका छन् ।

जगदम्बा ब्रान्डको उत्पादक शङ्कर ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक तथा नेपालका लागि किर्गिस्तानका अनररी कन्सुलर सुलभ अग्रवाललाई थर्मगन कालोबजारी गरिरहेको अवस्थामा प्रहरीले रंगेहात पक्राउ गरेसँगै उनको कालोबजारी धन्दा बाहिरिएको हो ।

बजारमा चरम अभाव रहेको ज्वरो नाप्ने यन्त्र(थर्मोगन) बढी मूल्यमा विक्री वितरण भइरहेको सूचनासँगै कालोबजारी गर्ने मुख्य व्यक्तिलाई नियन्त्रणमा लिने प्रहरीको योजनासँगै अग्रवाल फन्दामा परेका हुन् ।

सुरुमा प्रति गोटा २० हजार दिनसक्ने बताएका अग्रवालले अलि धेरै सङ्ख्यामा लिने भनिएपछि प्रति गोटा १५ हजारका दरले विक्री गर्न राजी भएका थिए ।

एक हात नगद र अर्को हात सामानको सर्त राखेका अग्रवाल बोलाएको ठाउँमा कूटनीतिक नम्बर प्लेटको गाडीमा १० लाख रुपैयाँ बराबरका ६७ गोटा थर्मोगनसहित आएपछि प्रहरीले पक्राउ गर्‍यो । जब प्रहरीले परिचय पत्र फेला पार्‍यो तब एक छिन त विश्वासै गर्न सकिएन ।

किर्गिस्तानको अनररी कन्सुलरका हैसियतमा परराष्ट्र मन्त्रालयले उपलब्ध गराएको कूटनीतिक नम्बरको गाडीमा कालोबजारी गर्न थर्मोगन बोकेर आएका उनी जगदम्बा सिमेन्ट, छड र धागोका मालिक सुलभ अग्रवाल थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस