संवेदनशील घडीमा सचिव नै महिनौँ अनुपस्थित ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संवेदनशील घडीमा सचिव नै महिनौँ अनुपस्थित !


२३ चैत्र २०७६, आइतबार


काठमाडौँ । नेपाल सरकारका एक जना सचिव महिना दिनसम्म पनि खटाइएको कार्यालयमा उपस्थित नभएपछि कर्मचारी वृत्तमा चियोचर्चा हुन थालेको छ ।

विश्वव्यापी कोरोनाको कहरसँगै नेपालमासमेत त्यसको प्रभाव देखिइसकेपछि सरकार रोकथाम तथा नियन्त्रणमा जुटिरहँदा राजधानी काठमाडौँस्थित देशकै ठुलो महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एक नारायण अर्याल महिनौँसम्म पनि उपस्थित नभएपछि महानगरका कर्मचारीबिच चर्चा सुरु भएको हो । वरिष्ठ सहसचिव एवं कलकत्ता महावाणिज्य दूत रहेका एकनारायण अर्याललाई गत फागुन १८ गतेको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवासँगै महानगरपालिकामा पदस्थापन गरेको थियो ।

‘मुलुक अत्यन्तै संवेदनशील अवस्थाबाट गुज्रिरहेको अवस्थामा जिम्मेवार पदमा बसेका सबैले दिनरात खटिरहँदा प्रमुख प्रशासकीय अधिकृत नै नभएपछि मुनिका कर्मचारीको खटनपटनदेखि अन्य नीतिगत निर्णयसम्म असर परेको कुरा कसले हेर्ने ?’ महानगरका एक वरिष्ठ अधिकारीले भने, ‘अन्यत्र कार्यालय प्रमुख अनिवार्य उपस्थिति हुनुपर्ने तर महानगरमा नहुँदा पनि हुने ?’

सरकारले लकडाउन घोषणा गरेको अवस्थामा अत्यावश्यकीय जिम्मेवारी वहन गर्ने महानगरपालिकामा फोहोर व्यवस्थापन, थप सरसफाइका कामहरू, राहत सङ्कलन तथा वितरण र कर्मचारी परिचालन लगायतका विषयमा गम्भीर असर परेको ती कर्मचारीको भनाई छ ।

‘मुलुकको विषम परिस्थितिमा राज्यले दिएको जिम्मेवारी पूरा गर्ने दायित्व उनको हो कि होइन ? सम्बन्धित निकायको ध्यान जानु जरुरी छ’ उनले भने ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने २१ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा हाजिर भएसँगै महानगर प्रमुखविहीन बनेको थियो ।

यस विषयमा हामीले प्रमुख प्रशासकीय अधिकृत अर्याललाई किन यति लामो समयसम्म पनि कार्यालयमा नजानु भएको भनेर सोधेका थियो । उनले दिल्लीबाट आउन नै ढिलाइ भएको र नेपाल आइपुग्दा १४ दिन क्वारेन्टिनमा बस्नु परेकोले समय लागेको बताए ।

‘सचिवमा बढुवासँगै महानगरमा पदस्थापन गरेको सरकारको निर्णयपछि सबैसँग बिदाइ गर्नै हप्ता दश दिन उतै बित्यो प्रमुख प्रशासकीय अधिकृत अर्यालले’ भने, ‘नेपाल आए लगत्तै बाहिरबाट आउने व्यक्तिले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियमअनुसार १४ दिन बस्दा करिब महिना दिन भयो ।’

यद्यपि यो अवधिमा पनि मेयरलगायत अन्य निकायहरूमा नियमित जसो सम्पर्कमै रहेको र भौतिक रूपमा मात्रै उपस्थित नभएको उनको भनाई छ । ‘नेपाल फर्केकै भोलिपल्ट जाने योजनामा थिए, तर आफैबाट अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम उल्लंघन हुने भएकोले पनि घरमै बसेको हो’, उनले भने ।

आज आइतबार १४ दिन पुरा भएकोले भोलि सोमबारदेखि नै कार्यालयमा उपस्थित हुने जनाएका छन् ।

सरकारले खटाएको एक महिनाभन्दा बढी भई सकेकोले मुलुकको संवेदनशील अवस्थालाई मध्यनजर गरी आफैले पनि अनिवार्यता गरेको अवधिबाहेक चाँडै उपस्थित भई दिएको भए अझ राम्रो हुन्थ्यो भन्ने उनका सहकारीहरूको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस