गुरुयोजना अनुसार नै आधुनिकीकरणको काम गरेका छौँ : मन्त्री भट्टराई « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

गुरुयोजना अनुसार नै आधुनिकीकरणको काम गरेका छौँ : मन्त्री भट्टराई


३० फाल्गुन २०७६, शुक्रबार


काठमाडौं । सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको गुरुयोजनाअनुसार नै आधुनिकीकरणको काम भइरहेको जानकारी दिएका छन् ।

प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उनले हवाई यातायात क्षमता अभिवृद्धिको परियोजनाबाट अहिलेको धावन र ट्याक्सीमार्गको पुनर्निर्माणको काम सम्पन्न भएको बताए।

‘टर्मिनल भवन तथा धावनमार्ग विस्तारको काम भइरहेको छ, अन्तरराष्ट्रिय विमानस्थलतर्फ पार्किङ निर्माण अन्तिम चरणमा पुगेको छ, थप केही पार्किङ विस्तार गरेका छौँ, यसबाट जहाजलाई होल्ड गर्नुपर्ने समस्या केही हदसम्म हटाउन योगदान पुर्‍याउनेछ’, मन्त्री भट्टराईले भने ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्ट बनाउने योजनाअनुसार अधिकांश काम सम्पन्न भएको जानकारी दिँदै उनले बाँकी काम छ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको बताए । ‘विमानस्थलभित्र र बाहिर विभिन्न भाडामा रहेका पसल, लाउञ्ज र रेष्टुरेन्टको नियमित भाडा उठाउन ताकेता भइरहे पनि केही अप्ठेरो परिस्थिति पनि देखिएको छ, कतिपय पसल र कबल अदालतमा गएर स्टेअर्डरबाट सञ्चालनको अवस्था छ, यस्ता विषयमा अदालतबाट छिटो निर्णय आइदियो भने काम गर्न सजिलो हुनेछ’, मन्त्री भट्टराईले भने ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नति, निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणलगायत अन्य पूर्वाधार निर्माणका विषयमा समितिले दिएको निर्देशन कार्यान्वयन सम्बन्धमा मन्त्री भट्टराईले समितिसमक्ष जानकारी दिएका हुन् । काठमाडौँ उपत्यकाको भौगोलिक अवस्थितिले अर्को अन्तरराष्ट्रिय विमानस्थल बनाउन सकिने सम्भावना नरहेको बताउँदै उनले भने, ‘अहिलेकै धावनमार्गबाट काम चलाइरहनुपर्ने, दिनदिनै उडान र यात्रुु सङ्ख्या थपिँदै जाने, हाम्रो भौतिक संरचना जहाँको त्यही रहने हो भने आकाशमा जहाज होल्ड हुने समस्या भइरहन्छ, अहिलेको अवस्थामा सुधारका निम्ति नयाँ ट्याक्सी वे निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइसकेका छौँ, यो काम दुई वर्षभित्रमा सम्पन्न हुन्छ, त्यसले जहाज होल्डको केही समस्या हल गर्छ ।’

थप पार्किङ क्षेत्र बढाउन ठेक्काको काम शुरु भएको तथा अहिलेको अन्तरराष्ट्रिय टर्मिनल भवनलाई आन्तरिक भवनका रुपमा रुपान्तरण गरी एक लाख स्क्वायर क्षमताको नयाँ टर्मिनल भवन निर्माण प्रक्रिया अघि बढाइएको पनि बैठकमा जानकारी दिइयो ।

कोभिड १९ ले असर पार्छ कि

विभिन्न वायुसेवा र भन्सारसँग करिब ५६ करोड उठाउन बाँकी बक्यौताका लागि ताकेता भइरहेको जानकारी दिँदै मन्त्रालयले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको बाँकी काम पूरा गर्न कोभिड–१९ बाट असर पार्छ कि आशङ्का गरेको छ ।

‘गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको ९० प्रतिशत काम पूरा भएको छ, कतिपय सामान चीनबाट ल्याउनु पर्नेछ, बिदा मनाउन चीन गएका कामदार फर्केका छैन, फर्केका पनि केही क्वारेन्टाइनमा छन्, परियोजनाले केही थप समय लिने सम्भावना देखिन्छ, चैत १५ सम्मलाई समयावधि बढाएका छौँ, त्यो मितिसम्म विमानस्थल हस्तान्तरण गछौँ भन्ने निर्माण कम्पनीको प्रतिबद्धता थियो, काम पनि त्यही अनुसार भएकै थियो, योबीचको परिस्थितिले नयाँ ढङ्गबाट सोच्नुपर्ने अवस्था हुन्छ कि भन्ने देखाएको छ’, मन्त्री भट्टराईले भने । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलभित्रको सेवालाई छिटोछरितो गर्ने सन्दर्भमा नयाँ व्यवस्था गरिएपछि आधा घण्टाभित्र यात्रु सामानसहित बाहिरिन सक्ने प्रणालीको विकास गरिएको उनले दाबी गरे ।

१५औँ पञ्चवर्षीय योजनाले पर्यटन क्षेत्रबाट कूल ग्रार्हस्थ्य उत्पादनको १० प्रतिशत योगदान पुर्‍याउने तथा पर्यटकको नेपाल बसाइ लम्याउन राखेको लक्ष्यअनुसार योजना र काम अघि बढाएमा कोरोनाका कारण दुर्भाग्यवश नेपाल भ्रमण वर्ष– २०२० का कार्यक्रम देशभित्र र बाहिर सबै ठाउँमा स्थगित गरिएको जानकारी दिइयो ।

सन् २०२० लाई नयाँ ढङ्गले पुनःसंरचना गर्नुपर्ने देखिन्छ, सन् २०२० देखि २०३० को अवधारणाबाट अघि जाने विषयमा छलफल भइरहेको र यो दशकलाई पर्यटन विकासका लागि योजना बनाएर अघि बढाउने मन्त्रालयले तयारी गरेको छ । पर्यटनसम्बन्धी पूर्वाधारको विकास गर्ने, हवाई क्षमता बढाउने, पथ पूर्वाधार, नयाँ गन्तव्य निर्माणलगायत विषयमा दशवर्षे विशेष योजना बनाउने तयारी गरिएको मन्त्रालयले जनाएको छ । मन्त्री भट्टराईले भने, ‘अब प्रत्येक वर्ष विशेष वर्षका रुपमा खास एजेन्डामा केन्द्रित भई दश वर्षलाई लक्ष्य बनाएर जाने योजना छ ।’

तारागाउँमा थुप्रै गडबडी छ

तारा गाउँ विकास समिति सम्बन्धमा संसदीय समितिले दिएको अध्ययन प्रतिवेदनका आधारमा अध्यक्षको नियुक्तिसँगै मन्त्रालयले सक्रियाता बढाएको मन्त्री भट्टराईले जानकारी दिए । तारा गाउँ मातहतका होटलमा सरकारको लगानी अनुपात शुरुमा ३९ प्रतिशत र पछि २२.६७ कायम गरिएको भन्ने सूचना दिइए तापनि अहिले त्यो पनि नदेखिएको जानकारी दिइयो । मन्त्री भट्टराईले भने, ‘त्यहाँ थुप्रै गडबढी भएको ठम्याइ छ । नयाँ परिस्थितिमा २२.६७ प्रतिशत शेयर हुनुपर्ने अडान राखिएको छ । सञ्चालक समितिको बैठकमा मन्त्रालयको प्रतिनिधिको व्यवस्था गरिएको छ ।

लुफथान्सा कन्सल्टेन्सी कम्पनीबाट नेपाल वायुसेवा निगमसँग रणनीतिक साझेदारी इच्छा जाहेर गर्दै पत्रचार भएकामा अर्थ र पर्यटन मन्त्रालय तथा महालेखा नियन्त्रकको कार्यालय र निगम सम्मिलित समितिले त्यसबारे अध्ययन गरी प्रतिवेदन बुझाइसकेको जानकारी दिइयो ।

निजगढ विमानस्थल निर्माणलाई अघि बढाउन टाँगियाबस्तीलाई स्थानान्तरण गर्ने गृहकार्य तथा आवश्यक रूख कटानका लागि सङ्ख्या किटान गर्ने काम भइरहेको बताइएको छ । सार्वजनिक निजी साझेदारीका आधारमा विमानस्थल निर्माण गर्ने सन्दर्भमा इच्छुकसँग आशय माग गरेकामा चुरिच इन्टरनेशनल एयरपोर्ट छनोट गरिएको जानकारी दिँदै मन्त्रालयले कोरोनाका कारण अहिले त्यसको काम अड्किएको बताएको छ ।

कीर्तिपुरको चम्पादेवीमा सांस्कृतिक सङ्ग्रहालय बनाउने काम शुरु भएको छ, पर्यटन प्रवर्द्धन गर्ने सन्दर्भमा लुम्बिनी र शिव सर्किटलगायत विषयमा अवधारणागतरुपमा काम अघि बढाइएको बैठकमा जानकारी दिइयो ।

४०० सम्पदा बने

भूकम्पबाट क्षति भएका ३१ जिल्लाका ९२० सम्पदामध्ये ४०० को पुनः निर्माण भइसकेको र बाँकी आगामी दुई वर्षभित्रमा बनाइसकिने जानकारी गराइएको थियो ।

बैठकमा समितिका सदस्य एवं पूर्वप्रधानमन्त्री माधव नेपालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा एयरब्रिज नबनाएकामा असन्तुष्टि व्यक्त गर्दै भने, ‘दीर्घकालीन सोच र पर्याप्त छलफल गरेरमात्र योजना बनाउनुपर्छ, निर्माणाधीन गौतमबुद्ध विमानस्थलमा एयरब्रिज छैन, कस्को कस्तो बुद्धिमा विमानस्थल बनाउन खोजिएको हो, नयाँ पुल, घर र बाटो बनाउँदा पनि त्यस्तै छ, बालुटारमा प्रधानमन्त्रीले अध्ययन गर्ने कोठै छैन, परसम्म सोच्ने र विचार गर्ने काम होस्, नत्र बनाउने र भत्काउनेमै सीमित हुनुपर्ने अवस्था हुन्छ ।’

‘तारा गाउँ होस् वा न्यारो बडी र वाइड बडी जहाजमै किन नहोस् सबैमा प्रश्न उठ्ने काम भएको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले भने, ‘वाइड बडीमा देखादेखी बदमासी भएको छ, जोसुकै भए पनि कानूनी दायरामा ल्याएर कारवाहीको भागेदारी बनाउनुपर्छ । चम्पादेवीस्थित निर्माण गर्न लागिएको सांस्कृतिक सङ्ग्रहालयलाई मुलुकका सबै जातजातिले गौरव गर्न लायक नमूना सांस्कृतिक सङ्ग्रहालय बनाउन ध्यान दिइयोस्’, उनले भने ।

विदेश भ्रमणमा रहने सांसदको राहदानी जफत होस्

बैठकमा सदस्यहरुले कोरोना भाइरसको त्रास, कालापानी क्षेत्रका बारेमा भारतसँग भइरहेको कुराकानी, विमानस्थल निर्माण, समितिका निर्देशनको पालना, तारा गाउँ समितिमा देखिएको आर्थिक अनियमित, नेपाल–भारतबीच भएका सन्धिसम्झौताको पुनरवलोकन गर्न गठित प्रबुद्ध समूहले तयार गरेको प्रतिवेदनको अवस्था र नेपाल भारतबीच देखिएको सीमा विवादबारे मन्त्री भट्टराई र परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीसँग जानकारी माग गरेका थिए ।

सो अवसरमा केही सदस्यले प्रबुद्ध समूहले तयार गरेको प्रतिवेदन भारतलाई बुझ्न ढिलाइ गरेमा निश्चित समयसीमा दिएर सार्वजनिक गर्न तथा कोभिड–१९ को जगजगी भएको समयमा विदेशमा यात्रामा जाने सांसदको राहदानी जफत गर्न पनि सुझाव दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस