रुसी राष्ट्रपति पुटिनको कार्यकाल लम्ब्याउन संविधान संशोधन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रुसी राष्ट्रपति पुटिनको कार्यकाल लम्ब्याउन संविधान संशोधन


२९ फाल्गुन २०७६, बिहिबार


मस्को । रसियाको संसदले मुलुकको संविधान संशोधन प्रस्तावलाई बुधबार स्वीकृति प्रदान गरेको छ । पछिल्लो कदमबाट राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल अरु १२ वर्ष थप्न बाटो खुलेको छ ।

राष्ट्रपति पुटिनको कार्यकाल आगामी सन् २०२४ मा समाप्त हुँदैछ, तर नयाँ प्रस्ताव अनुसार उनी सन् २०२४ पछि अरु १२ वर्ष राष्ट्रपति हुन पाउनेछन् ।

राष्ट्रपति पुटिनको नियन्त्रणमा रहेको तल्लो सदन स्टेट ड्युमामा भएको मतदानमा संविधान संशोधनको पक्षमा ३८३ मत र विपक्षमा शून्य मत परेको थियो । सदनमा ४३ जना अनुपस्थित रहेका थिए ।

संसदबाट स्वीकृत भएको संविधान संशोधनसम्बन्धी उक्त प्रस्तावमाथि आगामी अप्रिल २२ मा राष्ट्रव्यापी मतदान हुनेछ । उक्त कदमको विरोधमा रहेका व्यक्तिहरुले राष्ट्रपतिको कार्यको भत्र्सना गर्दै यसविरुद्ध प्रदर्शन गर्ने बताएका छन् ।

पूर्व केजीबी अधिकारी ६७ वर्षीय पुटिनले रसियामा सत्ता सम्हालेको २० वर्षभन्दा बढी भइसकेको छ । दुई पटक पूरै चार वर्षे कार्यकाल राष्ट्रपति भएपछि उनी सन् २००८ मा प्रधानमन्त्री बनेका थिए । पुटिनको स्थानमा उनकै विश्वासपात्र डिमित्री मेडभेडेभ राष्ट्रपतिमा छानिएका थिए ।

तत्कालीन राष्ट्रपति मेडभेडेभको कार्यकालमा राष्ट्रपतिको कार्यकाल ६ वर्ष बनाइएको थियो । सन् २०१२ मा पुटिन फेरि राष्ट्रपति बने, र सन् २०१८ मा उनी पुनः ६ वर्षका लागि राष्ट्रपति चयन भए।

ड्युमाले बुधबार पारित गरेको संविधान संशोधन प्रस्ताब बमोजिम राष्ट्रपति पुटिनले सन् २०२४ पछि अरु दुई कार्यकालका लागि राष्ट्रपतिको उम्मेदवार बन्न पाउने छन् । राष्ट्रिय मतदान हुनुअघि रसियाको संवैधानिक अदालतले ड्युमाको प्रस्तावमाथि विचार गर्नेछ ।

ड्युमाले गरेको संशोधन प्रस्तावले रसिया सरकारको कार्यकारी शक्ति अरु मजबूत गर्ने तथा राष्ट्रपतिको अधिकार क्षेत्रलाई अझ व्यापक बनाउने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस